चलचित्र ‘कमला मिस’ शुभमुहूर्तसँगै छायांकन सुरु

काठमाडौं । मनोवैज्ञानिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘कमला मिस’ को औपचारिक शुभमुहूर्तसँगै छायांकन प्रारम्भ गरिएको छ। लामो समयपछि निर्देशनमा फर्किएका वरिष्ठ कलाकार तथा निर्देशक निर शाह ले यस चलचित्रमार्फत करिब एक दशकपछि पुनः मेगाफोन सम्हाल्नुभएको हो। शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा पूजा–अर्चनासहित शुभारम्भ गरिएको निर्माण टिमले जनाएको छ।
‘कमला मिस’ ले मानव मनोविज्ञानका सूक्ष्म पाटो र भावनात्मक द्वन्द्वलाई मुख्य आधार बनाएको छ। चलचित्रमा निर्देशक निर शाह स्वयंका साथै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ र जयन्त रेग्मी प्रमुख भूमिकामा देखिनेछन्। मुख्य सहायक निर्देशकको जिम्मेवारी सागर बोहराले सम्हालिरहेका छन्।
विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा रहेका छन्। कथा विजय मल्लको रहेको छ भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
प्राविधिक टिमतर्फ छायांकन शिवराम श्रेष्ठ, सङ्गीत युग भुसाल तथा नृत्य निर्देशन रामजी लामिछानेले गर्नेछन्। निर्माण व्यवस्थापनको जिम्मेवारी भोला सुबेदीले लिएका छन्।
निर्देशक निर शाहले आफ्नो फिल्मी यात्रा वि.सं. २०२४ सालमा ‘परिवर्तन’ चलचित्रबाट सुरु गर्नुभएको थियो। त्यसयता उहाँले ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गर्नुका साथै करिब तीन सयभन्दा बढी फिल्ममा अभिनय गरिसक्नुभएको छ। उहाँ अभिनीत पछिल्लो चलचित्र ‘परान’ व्यावसायिक रूपमा सफल बन्दै बक्स अफिसमा उल्लेखनीय व्यापार गर्न सफल भएको थियो।
‘कमला मिस’ मार्फत निर शाहले पुनः दर्शकमाझ गम्भीर विषयवस्तु र वैचारिक गहिराइ प्रस्तुत गर्ने अपेक्षा गरिएको निर्माण पक्षको विश्वास छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १, शुक्रबार २०:३२वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १, शुक्रबार १५:२९स्व. दिनेश सिटौलाको स्मृतिमा चलचित्र पत्रकार संघ नेपालद्वारा अक्षय कोष स्थापना
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १, शुक्रबार १५:१६चलचित्र ‘कमला मिस’ शुभमुहूर्तसँगै छायांकन सुरु
समाचार२०८२ फाल्गुन १, शुक्रबार १४:४०जिम्बाबेले अष्ट्रेलियालाई २३ रनले हरायो








