बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

बैतडी, फागुन ३ । बैतडीमा नसर्ने रोगका जोखिम उच्च भएपछि परीक्षणलाई तीव्र बनाउन थालिएको छ । स्वास्थ्यकर्मीहरू टोलटोलमै परीक्षण सुरु गरेका छन् । सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले नसर्ने रोगको पहिचानका लागि एकमहिने अभियानअन्तर्गत गाउँपालिकाले टोलटोलमै स्वास्थ्यकर्मी खटाएकोे जानकारी दिए ।

गाउँपालिकाभरिका आठवटै वडाका ६६ टोलमा स्वास्थ्यकर्मी खटाएर नसर्ने रोगको परीक्षण भइरहेको बताइएको छ । उनले भने, ‘हामीले प्रत्येक टोलमा स्वास्थ्यकर्मीलाई खटाएर नसर्ने रोगको परीक्षण गरिरहेका छौँ । आठवटै वडाका ६६ वटा टोलमा यो अभियान सञ्चालन भइरहेको छ । स्वास्थ्य परीक्षणका क्रममा आवश्यकताअनुसार औषधिसमेत वितरण गरिरहेका छौँ ।’

नसर्ने रोगको पहिचानका लागि एकमहिनेअन्तर्गत स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको उनले बताए । अभियानअन्तर्गत उच्च रक्तचाप, मधुमेह, उचाइ र तौलको अनुपात परीक्षण गर्ने गरिएको छ ।

अभियानको सिलसिलामा नसर्ने रोग पत्ता लागेका बिरामीलाई थप उपचारको आवश्यकता परेमा अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा रेफर गर्ने गरिएको स्वास्थ्य प्रमुख महराले बताए । ‘परीक्षण गरिएका झन्डै ५० प्रतिशत व्यक्तिमा समस्या देखिने गरेको छ’, उनले भने, ‘पत्ता लगाई न्यूनीकरण गर्नु राम्रो हुन्छ, त्यसैले ३० वर्षमाथिका सबैको स्वास्थ्य परीक्षण गर्दैछौँ ।’

नसर्ने रोगको जोखिमका विषयमा नागरिकलाई जानकारी दिनुका साथै बिरामीलाई उपचारको दायरमा ल्याउन अभियान सञ्चालन गरिएको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए । पालिकाबाट आवश्यक स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीलाई बिरामी खोज्न परिचालन गरिसकिएको उनले जानकारी दिए । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   1   =  

Protected by Spam Master