गण्डकी प्रदेशका ५५ उत्कृष्ट ग्रामीण उद्यमीका लागि नेतृत्व तथा व्यवस्थापन कार्यशाला सम्पन्न

पोखरा । वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन (GEEP) कार्यक्रम अन्तर्गत ५५ उत्कृष्ट ग्रामीण उद्यमका लागि तीन दिने आवासीय नवप्रवर्तनशील उद्यमशीलता नेतृत्व तथा व्यवस्थापन कार्यशाला विहिबार सम्पन्न भएको छ।
उक्त कार्यशाला गण्डकी प्रदेश सरकार अन्तर्गत उद्योग तथा पर्यटन मन्त्रालय, प्रदेशका पाँच स्थानीय तह — हुप्सेकोट, म्याग्दे, सिरानचोक, जलजला र बडिगाड गाउँपालिका तथा दायित्व संस्थाको सहकार्यमा साेमबारदेखि पाेखरामा सञ्चालन भएकाे थियााे ।कार्यशाला “उद्यमशील गण्डकी” अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा पाँच पालिकाबाट प्राप्त ६०६ आवेदनमध्ये छनौट गरिएका ५५ उत्कृष्ट उद्यमका प्रतिनिधिहरू सहभागी थिए ।
एक वर्षे GEEP कार्यक्रममा प्रदेश सरकारबाट २ करोड रुपैयाँ, पाँच स्थानीय तहबाट संयुक्त रूपमा १ करोड रुपैयाँ (प्रत्येकबाट २० लाख) र दायित्व संस्थाबाट प्राविधिक तथा प्रशासनिक सहयोग रहनेछ।
कार्यक्रममार्फत ग्रामीण उद्यमशीलता प्रवर्द्धन, प्रविधि हस्तान्तरण, उत्पादन आधुनिकीकरण, मूल्य अभिवृद्धि तथा रोजगारी सिर्जनालाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य लिइएको छ।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा ८३ लाख रुपैयाँ बराबरको प्रत्यक्ष प्रविधि पूरक साझेदारी (उद्यमी सह–लगानी सहित) परिचालन भइसकेको छ। दोस्रो चरणमा करिब १ करोड ५० लाख रुपैयाँ बराबरको प्रविधि–आधारित नवप्रवर्तन तथा व्यवसाय द्रुतीकरण सहयोग उपलब्ध गराइएको जनाइएको छ। अन्तिम चरणमा उद्यम योजना र लगानी प्रस्तुतीकरणका आधारमा ८० लाख रुपैयाँसम्म थप प्रविधि साझेदारीको सहजीकरण गरिएकाे थियाे दायित्वकाकाे तर्फबाट GEEP कार्यक्रमका प्रदेश संयाेजक जुनतारा मगरले जानकारी दिए ।
यस पहलले कृषि प्रशोधन, पर्यटन, उत्पादन, सेवा तथा सृजनात्मक उद्योग क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, दक्षता अभिवृद्धि र प्रतिस्पर्धात्मकता वृद्धि गर्दै ग्रामीण अर्थतन्त्रलाई रोजगारी सिर्जनाको आधार बनाउने विश्वास लिइएको छ। “गण्डकी ५५” नाम दिइएको यस अभियानलाई ५५ प्रेरणादायी उद्यम यात्रा र ग्रामीण रूपान्तरणका उत्प्रेरकको प्रतीकका रूपमा प्रस्तुत गरिएको उनकाे भनाई छ ।
कार्यक्रमले स्थानीय तहमा द्रुत परिणाम पहल (RRI) टोली गठन गरी परिणाममुखी कार्यान्वयन र उत्तरदायित्व प्रणालीलाई सुदृढ बनाएको जनाएको छ। यसअघि ४० जना निर्वाचित तथा सार्वजनिक पदाधिकारीका लागि आर्थिक शासन र नेतृत्वसम्बन्धी कार्यकारी नीति नेतृत्व कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रमकाे उद्घाटन सत्रमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले ग्रामीण उद्यमशीलता समावेशी आर्थिक विकासको आधार भएको उल्लेख गर्दै प्रदेश सरकार उद्यमीहरूलाई आवश्यक प्रविधि, सीप र अवसर उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।
उनले ५५ उद्यमीलाई परिवर्तनका वाहकका रूपमा प्रस्तुत गर्दै उनीहरूको सफलताले रोजगारी सिर्जना र पलायन रोक्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यशाला उद्यम तथा नेतृत्व विकास विज्ञ एवं दायित्व अभियानका संस्थापक डा. पुकार मल्लको नेतृत्वमा सञ्चालन भएकाे हाे । कार्यक्रममा नवप्रवर्तन नेतृत्व, व्यवसाय व्यवस्थापन, रणनीतिक योजना, वित्तीय पहुँच, बजार विस्तार तथा प्रविधि उपयोगका विषयमा प्रशिक्षण दिइएकाे छ ।
कार्यक्रमका सहभागी उद्यमीहरूले लगानी तयारी, वित्तीय पहुँच विस्तार, बजार जडान, मूल्य श्रृंखला व्यवस्थापन र व्यवसाय विस्तारका अवसर प्राप्त गर्नेछन्। साथै, GEEP कार्यक्रमलाई गण्डकी प्रदेशको ग्रामीण उद्यमशीलता नीति निर्माणका लागि सिकाइ प्लेटफर्मका रूपमा उपयोग गर्ने तयारी गरिएको जनाइएको छ।
गण्डकीका यी ५५ उद्यमीलाई स्थानीय रोजगारीका स्रोत, प्रविधि नवप्रवर्तनका चालक तथा ग्रामीण रूपान्तरणका जीवित उदाहरणका रूपमा हेरिएको छ। “उद्यमशील गण्डकी” अब घोषणामा सीमित नभई व्यवहारमा कार्यान्वयनतर्फ अग्रसर भएको आयोजकहरूले बताएका छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20929, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ८, शुक्रबार १२:५७गण्डकी प्रदेशका ५५ उत्कृष्ट ग्रामीण उद्यमीका लागि नेतृत्व तथा व्यवस्थापन कार्यशाला सम्पन्न
समाचार२०८२ फाल्गुन ७, बिहीबार २१:४६जन्मदिनको खर्च रकम फोटो पत्रकारलाई सहयोग
समाचार२०८२ फाल्गुन ७, बिहीबार २०:३२आहा रारा पोखरा गोल्डकप: जावलाखेल १४ वर्षपछि फाइनलमा, अब सहारासँग भिड्ने
समाचार२०८२ फाल्गुन ७, बिहीबार ०५:५३२५औं आहा ! रारा पोखरा गोल्डकप:सहारा फाइनलमा, मनाङ सडेन डेथमा पराजित






