‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक

‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक

काठमाडौं । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’ को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।

सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँको अभिनय देख्न सकिन्छ। गीतले आफू बसिरहेको ठाउँभन्दा मन परेको स्थानतर्फ उडेर जान चाहने भावनालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। भिडियोमा सुहाना थापाको अभिनय विशेष रूपमा प्रशंसनीय देखिन्छ भने रामजी लामिछानेको कोरियोग्राफीले गीतलाई थप आकर्षक बनाएको छ।

नेपाली संगीतका चर्चित संगीतकार शान्ति ठटालको संगीत रहेको गीतमा गायिका निशु शर्माको स्वर सुन्न सकिन्छ। गीतका शब्द मनबहादुर मुखियाले लेखेका हुन् भने संगीत संयोजन बिनोद भुजेलले गरेका छन्। नेपाली स्रोतामाझ अत्यन्त लोकप्रिय यस गीतले पुनः नयाँ पुस्तामाझ पनि अलग छाप छोड्ने निर्माण पक्षको विश्वास छ।

यस गीतको मूल स्वर भने चर्चित गायिका अरुणा लामाको हो। उनले करिब चार दशकअघि गाएको यो गीत आज पनि उत्तिकै सान्दर्भिक र लोकप्रिय मानिन्छ। निर्माण टिमले गीतमार्फत दिवंगत गायिका अरुणा लामालाई समर्पण गर्दै सम्झिएको जनाएको छ।

प्रख्यात साहित्यकार गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ बाट प्रेरित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मञ्जिला बानियाँ लगायत कलाकारहरूको अभिनय रहेको छ।

हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील पोखरेलको लगानी छ। पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् भने निर्देशन लक्ष्मण सुनारले गरेका छन्।

फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन र कनाल कँवरको रंग संयोजन रहेको छ। साथै भिएफएक्स समिर मिया र सत्यम रानाले तयार गरेका हुन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका छन्। मिक्सिङ मुकेश शाह र निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।

फिल्मको पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीत शान्ति ठटाल, सत्य–स्वरूप आचार्य र प्रकाश सपुतले दिएका छन्। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका हुन्। कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशक करण बहादुर साउद हुन्।

सुलभी पोखरेल र सत्यम पोखरेल सह–निर्माताका रूपमा रहेको फिल्मलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

स्मरणीय छ, गुरु प्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथामा आधारित भएर यसअघि पनि करिब ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले सोही नाममा फिल्म निर्माण गरेका थिए।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   4   =  

Protected by Spam Master