कान्समा नेपालको पहिलो आधिकारिक स्टल : नेपाली चलचित्रको विश्व बजार यात्रामा बोर्डको ऐतिहासिक पहल

काठमाडौं। फ्रान्सको कान्स शहरमा भइरहेको ७९औं कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको तर्फबाट पहिलोपटक आधिकारिक स्टल राखी उपस्थिति जनाएको छ। बोर्डले यसलाई नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, छायांकन सम्भावना, सांस्कृतिक पहिचान तथा सह–निर्माणको अवसरलाई विश्व बजारसम्म पुर्याउने ऐतिहासिक पहलका रूपमा लिएको छ।
चलचित्र विकास बोर्डद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कान्समा राखिएको नेपाल स्टलको स्थानीय व्यवस्थापक तथा साझेदार बेलायतमा रहेको नेपाली प्रोडक्सन कम्पनी शाही प्रोडक्सन रहेको छ। बोर्डले यो उपस्थिति कुनै एक चलचित्र वा टोलीको प्रवर्द्धनमा मात्र सीमित नभई समग्र नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय बजार, वितरक, सह–निर्माता, दर्शक र छायांकन पर्यटनसँग जोड्ने दीर्घकालीन प्रयास भएको जनाएको छ।
बोर्डले मिति २०८२ फागुन २५ गते औपचारिक सूचना प्रकाशित गरी कान्स स्टलमा समावेश हुन इच्छुक चलचित्रकर्मीहरूबाट पोस्टर, ट्रेलर, प्रचार सामग्री तथा आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरेको थियो। बोर्डका अनुसार कान्समा नेपाली चलचित्रको प्रभावकारी प्रस्तुति होस् भन्ने उद्देश्यले सुरुदेखि नै खुला र समन्वयमुखी प्रक्रिया अपनाइएको थियो।
यसै सन्दर्भमा विभिन्न विधामा छनोट भएको नेपाली चलचित्र ‘इलेफेन्ट इन द फग’ लाई नेपाल स्टलमा विशेष प्राथमिकताका साथ समेट्ने तयारी बोर्डले प्रारम्भदेखि नै गरेको जनाएको छ। उक्त चलचित्रका निर्माता अनुप पौडेल र निर्देशक अविनाशविक्रम शाहलाई बोर्डमा आमन्त्रण गरी बधाई तथा शुभकामना प्रदान गरिएको र कान्स स्टलमा चलचित्रलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने विषयमा विस्तृत छलफल समेत भएको विज्ञप्तिमा उल्लेख छ।
बोर्डका अनुसार नेपाल स्टलको करिब ६० प्रतिशत स्थान ‘इलेफेन्ट इन द फग’ का प्रचार सामग्रीका लागि छुट्याउने तयारी गरिएको थियो। साथै, नेपाल पर्यटन बोर्डको तर्फबाट उक्त चलचित्रकै सम्मानमा नेटवर्किङ पार्टी आयोजना गर्ने योजना समेत अघि बढाइएको थियो। स्टलका लागि आवश्यक डिजाइन साइज, लोगो, प्रचार सामग्री लगायतका विषयमा निर्देशक पक्षसँग प्रत्यक्ष समन्वय गरिएको र ९६३ मिलिमिटर चौडाइ तथा २४६८ मिलिमिटर उचाइको आकारमा सामग्री उपलब्ध गराउन समेत अनुरोध गरिएको बोर्डले जनाएको छ।
तर अन्तिम समयसम्म पूर्ण प्रचार सामग्री उपलब्ध हुन नसकेको कारण स्टल खाली राख्न व्यावहारिक रूपमा सम्भव नभएकाले उपलब्ध सामग्रीकै आधारमा व्यवस्थापन गरिएको बोर्डको भनाइ छ। बोर्डले यसलाई कुनै पक्षप्रति आरोपका रूपमा नभई समय, सामग्री उपलब्धता र व्यवस्थापनका व्यावहारिक सीमाबीच गरिएको आवश्यक व्यवस्थापनका रूपमा बुझ्न आग्रह गरेको छ।
यस वर्ष सरकारको तीन महिने वैदेशिक भ्रमणसम्बन्धी नीतिगत व्यवस्थाका कारण अन्तिम समयमा प्रतिनिधि पठाउने वा नयाँ व्यवस्थापन गर्ने विषयमा पनि सीमा रहेको बोर्डले जनाएको छ। त्यसैका कारण बोर्ड र नेपाल पर्यटन बोर्डका प्रतिनिधिसहित सहभागिता जनाउन सम्भव नभएको अवस्थामा बेलायतस्थित नेपाली प्रोडक्सन कम्पनी शाही प्रोडक्सनलाई स्थानीय साझेदारका रूपमा १५ दिनसम्म स्टल व्यवस्थापनको जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ।
कान्स स्टलसम्बन्धी सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट आएका टिप्पणी, चासो र सुझावलाई बोर्डले सकारात्मक रूपमा ग्रहण गरेको जनाएको छ। बोर्डले यस्ता सुझावलाई आगामी वर्षहरूमा नेपालको प्रस्तुति अझ व्यवस्थित, समावेशी, परिणाममुखी र प्रभावकारी बनाउने अवसरका रूपमा हेरेको बताएको छ।
चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार, चलचित्रकर्मीको हकहित संरक्षण तथा नेपाली कथालाई विश्व मञ्चसम्म पुर्याउने अभियानमा आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ। बोर्डका अनुसार कान्समा नेपालको पहिलो आधिकारिक स्टल केवल उपस्थिति दर्ता गर्ने प्रयास होइन, नेपाली चलचित्रलाई विश्व बजार, सह–निर्माण, वितरण, छायांकन पर्यटन र सांस्कृतिक कूटनीतिसँग जोड्ने दीर्घकालीन यात्राको महत्वपूर्ण सुरुवात हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार ०८:५०कान्समा नेपालको पहिलो आधिकारिक स्टल : नेपाली चलचित्रको विश्व बजार यात्रामा बोर्डको ऐतिहासिक पहल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ५, मंगलवार ०८:२७नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग
खेलकुद२०८३ जेष्ठ ४, सोमबार २०:१६आईसीसी क्रिकेट विश्वकप लिग २ – अंकतालिकाको पाँचौं स्थानमा उक्लियो नेपाल
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ४, सोमबार १६:२६चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी









