विश्व खाद्य स्वच्छता दिवस : साताव्यापी सचेतना र अनुगमन कार्यक्रम सञ्चालन हुने

पोखरा ।
’खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले विश्व खाद्य स्वच्छता दिवस साताव्यापी कार्यक्रमका साथ मनाउने भएको छ।
कार्यालयले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने नारालाई आत्मसात् गर्दै जेठ १८ देखि २४ गतेसम्म विभिन्न जनचेतनामूलक, अनुगमनात्मक तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो।
कार्यक्रममा कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले खाद्य स्वच्छता प्रवर्द्धन, उपभोक्ता सचेतना अभिवृद्धि तथा सुरक्षित खानपानको संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले साताव्यापी कार्यक्रम तय गरिएको बताए।
उनका अनुसार जेठ १८ गते ब्यानर प्रदर्शन, प्रेस विज्ञप्ति प्रकाशन तथा कार्यालय परिसर र प्रयोगशाला सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। त्यसैगरी जेठ १९ देखि २३ गतेसम्म बजार, होटल, रेष्टुरेन्ट तथा खाद्य उद्योगहरूको अनुगमन, विद्यालयस्तरीय सचेतना कार्यक्रम र सुरक्षित खानेपानीसम्बन्धी जनचेतनामूलक गतिविधि सञ्चालन गरिनेछन्।
जेठ २४ गते विशेष समारोहका साथ विश्व खाद्य स्वच्छता दिवस मनाइने कार्यालयले जनाएको छ।
श्रेष्ठले खाद्य स्वच्छता कायम राख्न स्थानीय तहको सक्रिय भूमिका, प्रभावकारी अनुगमन प्रणाली र उपभोक्ताको सचेत सहभागिता अपरिहार्य रहेको उल्लेख गरे । खाद्य स्वच्छता ऐन–२०८३ ले प्रदान गरेका अधिकार र जिम्मेवारीअनुसार स्थानीय तहसँगको समन्वयलाई थप सुदृढ बनाउँदै खाद्य स्वच्छताको अवस्था सुधार गर्न कार्यालय प्रतिबद्ध रहेको उनको भनाई थियो।
उनले खाद्य वस्तुमा हुने मिसावट, अखाद्य रङको प्रयोग तथा अस्वस्थकर प्रविधिको प्रयोगले जनस्वास्थ्यमा दीर्घकालीन असर पार्ने भन्दै चिन्ता व्यक्त गरे। यस्ता गतिविधि नियन्त्रणका लागि नियमित अनुगमन, नियमन तथा जनचेतना अभियानलाई थप प्रभावकारी बनाइने बताए ।
कार्यालयका सूचना अधिकारी शिवजी बरालले विश्व स्वास्थ्य सङ्गठनका अनुसार असुरक्षित खानाका कारण हरेक वर्ष विश्वभर लाखौं मानिस विभिन्न रोगबाट प्रभावित हुने गरेको जानकारी दिए। यस वर्षको नाराले असुरक्षित खानाबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि तथ्यमा आधारित, लक्षित र किफायती उपाय अपनाउनुपर्ने सन्देश दिएको उनले बताए ।
कार्यक्रममा वक्ताहरूले खाद्य सुरक्षा र स्वच्छता जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले सरकारी निकाय, स्थानीय तह, व्यवसायी, सञ्चारमाध्यम र उपभोक्ताबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। खाद्य स्वच्छता प्रवर्द्धनमा सबै पक्षको साझा प्रतिबद्धता र सक्रिय सहभागिताले मात्र स्वस्थ समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गरिएको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21757, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १८, सोमबार १८:५३विश्व खाद्य स्वच्छता दिवस : साताव्यापी सचेतना र अनुगमन कार्यक्रम सञ्चालन हुने
समाचार२०८३ जेष्ठ १७, आईतवार २३:५५एकल महिलाको नेतृत्व विकासमा जाेड
समाचार२०८३ जेष्ठ १७, आईतवार २३:२७सीमान्तकृत महिलाको राजनीतिक सहभागिता बढाउन मिडियाको भूमिका अपरिहार्य
समाचार२०८३ जेष्ठ १७, आईतवार १२:३४आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको संरक्षणमा जोड





