नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

धादिङ, १५ असार ।
जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूका लागि सामाजिक सञ्जालको समुचित प्रयोग सम्बन्धी एकदिने विद्यार्थी तथा युवावर्ग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।विद्यार्थीहरूमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै त्यसबाट उत्पन्न हुन सक्ने मानसिक, सामाजिक तथा शैक्षिक असरबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनस्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत आरती छत्कुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले सहजीकरण गर्दै सामाजिक सञ्जालका सकारात्मक तथा नकारात्मक पक्षबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले सामाजिक सञ्जाललाई सही ढंगले प्रयोग गर्न सके ज्ञान, सूचना, सीप विकास तथा सिर्जनात्मक कार्यमा महत्वपूर्ण माध्यम बन्न सक्ने बताउनुभयो।

तर यसको दुरुपयोगले विद्यार्थीहरूको अध्ययनमा नकारात्मक प्रभाव पार्नुका साथै पारिवारिक सम्बन्धमा दूरी बढ्ने, सामाजिक एक्लोपनको अनुभूति हुने, आत्मविश्वासमा कमी आउने तथा विभिन्न मानसिक स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
सहजीकरणका क्रममा थापाले अत्यधिक मोबाइल तथा सामाजिक सञ्जालको प्रयोगले समय व्यवस्थापनमा समस्या सिर्जना हुने, पढाइप्रति रुचि घट्ने र भविष्यका अवसरहरू समेत प्रभावित हुन सक्ने उल्लेख गर्नुभयो। उहाँले डिजिटल माध्यमको प्रयोग गर्दा व्यक्तिगत गोपनीयताको सुरक्षा, जिम्मेवार व्यवहार तथा तथ्यमा आधारित सामग्री मात्र साझा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा साइबर बुलिङका विभिन्न स्वरूप, त्यसबाट विद्यार्थीहरूमा पर्ने मनोवैज्ञानिक असर तथा त्यसबाट सुरक्षित रहने उपायहरूबारे पनि जानकारी दिइएको थियो। अपरिचित व्यक्तिसँग व्यक्तिगत जानकारी साझा नगर्ने, बलियो पासवर्ड प्रयोग गर्ने, शंकास्पद लिंक नखोल्ने, अनलाइन दुव्र्यवहार भएमा तत्काल अभिभावक, शिक्षक वा सम्बन्धित निकायलाई जानकारी गराउने लगायतका विषयमा सहभागीहरूलाई सचेत गराउनुभएको थियो ।

अन्तरक्रियात्मक रूपमा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूले सामाजिक सञ्जाल प्रयोगका क्रममा भोगेका अनुभव, जिज्ञासा तथा चुनौतीहरू राख्नुभएको थियो । सहजीकरणकर्ताले ती जिज्ञासाको समाधान गर्दै सुरक्षित, जिम्मेवार र सन्तुलित डिजिटल जीवनशैली अपनाउन आग्रह गर्नुभयो।कार्यक्रममा सहभागी विद्यार्थीहरूले सामाजिक सञ्जालको सही प्रयोग, मानसिक स्वास्थ्यको महत्व तथा साइबर सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिनुभएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १६, मंगलवार ०६:४४अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
कला, विचार/मनोरञ्जन२०८३ असार १५, सोमबार १९:२३मंसिर ४ गते प्रदर्शनमा आउने ‘जलाकी’ को दुई पोस्टर सार्वजनिक
समाचार२०८३ असार १५, सोमबार १९:०९नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण
समाचार२०८३ असार १५, सोमबार १२:०५धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न







