आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

धादिङबेशी, ९ साउन। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशीका अवसरमा आज घर–घरका तुलसी मोठमा तुलसीको बिरुवा सारिँदै छ। आजदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ।

ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसी मोठमा राखिएको दलको बिरुवा आज विधिपूर्वक मोठमा सार्ने गरिन्छ। सनातन वैदिक परम्परामा तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने धार्मिक मान्यताका कारण यस दिनलाई हरिशयनी एकादशी भनिएको हो। यो चार महिनाको अवधिलाई चतुर्माससमेत भनिन्छ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण तथा देशभरका नारायण र विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ। व्रतालुले चामलबाट बनेका परिकार नखाई फलफूललगायतका परिकार खाने परम्परा छ।

एक वर्षमा २४ वटा एकादशी पर्ने धार्मिक मान्यता छ। सबै एकादशीमा व्रत बस्न नसक्नेले चतुर्मासका आठ एकादशी वा हरिशयनी र हरिबोधिनी एकादशीमा व्रत बस्ने गर्छन्।

तुलसीलाई परम्परागत रूपमा विभिन्न घरेलु औषधिमा प्रयोग गरिँदै आएको छ। घरको आँगनमा तुलसीको मोठ राख्दा वातावरण स्वच्छ हुने धार्मिक तथा सांस्कृतिक विश्वाससमेत छ।

चार महिनासम्म पूजा गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विधिपूर्वक विवाह गराई चतुर्मास व्रत समापन गर्ने परम्परा छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   3   =