‘बा : एक योद्धा’को शीर्ष गीतमा बुवाको त्याग र माटोप्रतिको प्रेम

‘बा : एक योद्धा’को शीर्ष गीतमा बुवाको त्याग र माटोप्रतिको प्रेम

काठमाडौं । फिल्म ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार फिल्मको शीर्ष गीत सार्वजनिक गरेको हो।

‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतमा सञ्जीव थापाको शब्द तथा हरि लम्सालको संगीत र स्वर रहेको छ। गीतले आफ्नो जन्मभूमि, बुवाआमा र आफ्ना जरा कहिल्यै नबिर्सनुपर्ने सन्देश दिन्छ।

रुख र जरा तथा माटो र पानीको सम्बन्धलाई प्रतीकका रूपमा प्रयोग गर्दै गीतले आफ्नो अस्तित्वको आधार बिर्सिन नहुने भाव व्यक्त गरेको छ। जति ठूलो सफलता प्राप्त गरे पनि आफ्नो विगत, परिवार र जन्मभूमिलाई बिर्सिन नहुने सन्देश गीतमा समेटिएको छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दिव्यदेव, सुहाना थापा, झरना थापालगायत अन्य कलाकारलाई देख्न सकिन्छ। बाल्यकालदेखि सन्तान हुर्काउने अभिभावकको संघर्ष, सन्तान परदेशिनु र त्यसपछि एक्लो बनेको बुवाको भावनात्मक पीडालाई भिडियोमा प्रस्तुत गरिएको छ। भिडियोमा फिल्मका विभिन्न दृश्य पनि समावेश छन्।

फिल्म ‘बा : एक योद्धा’ भदौ १९ गते प्रदर्शनमा आउनेछ। नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई फिल्मको मुख्य विषय बनाइएको निर्माण पक्षले जनाएको छ।

फिल्ममा दिव्यदेव, झरना थापा र सुहाना थापासँगै माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय रहेको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको यो फिल्म कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो। नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीत दिएका लम्सालका लागि यो पहिलो फिचर फिल्म निर्देशन हो। फिल्मको कथा र पटकथा पनि उनले नै लेखेका हुन्।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, कृष्ण काफ्ले सह-निर्माता तथा अर्जुन पौडेल लाइन प्रोड्युसर छन्।

शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

यो पनि पढ्नुहोस् :  तीजमा ‘अक्षरा’को ‘नाचौन बरिलै’ सार्वजनिक, भदौ २६ बाट प्रदर्शनमा आउने

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   4   =