गरमाथाको कथा बोकेको ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर

गरमाथाको कथा बोकेको ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर

काठमाडौं । सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर सम्पन्न भएको छ। शनिबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा वृत्तचित्रको नेपाल प्रिमियर गरिएको हो।

नेपालका विभिन्न क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी, शिक्षाविद्, पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधि, कलाकार र दर्शकको उपस्थितिमा वृत्तचित्रका तीन विशेष शो आयोजना गरिएको थियो। त्यसमध्ये एक शो काठमाडौंका विभिन्न विद्यालय तथा कलेजका सञ्चालक, प्रिन्सिपल तथा शैक्षिक क्षेत्रका प्रतिनिधिका लागि आयोजना गरिएको थियो।

निर्देशक निर्मल श्रेष्ठले सगरमाथालाई चिनाउनभन्दा पनि बुझाउन वृत्तचित्र निर्माण गरिएको बताए।

‘सगरमाथा केवल एउटा हिमाल होइन, यो नेपाली साहस, सपना, संघर्ष, पहिचान र भविष्यसँग जोडिएको हाम्रो गौरव हो,’ उनले भने, ‘सगरमाथासम्बन्धी हाम्रो कथा सधैँ अरूमार्फत सुनिँदै आएको थियो। अब हाम्रो हिमालको कथा हामी आफैँले भन्नुपर्छ भन्ने मान्यता पनि यो फिल्मले बोकेको छ।’

श्रेष्ठका अनुसार वृत्तचित्र भावी पुस्ताका लागि एउटा दस्तावेजसमेत बन्नेछ। दशकौँपछि हिमालको स्वरूप परिवर्तन भए पनि त्यसबेलाको हिमाल, त्यसको सौन्दर्य, संघर्ष र त्यससँग जोडिएको कथालाई वृत्तचित्रले सुरक्षित राख्ने उनले बताए।

कार्यक्रममा वि विल राइज फाउन्डेसनका अध्यक्ष तुलसी गुरुङले सगरमाथाको वास्तविक अर्थ र महत्वलाई नेपाली दृष्टिकोणबाट प्रस्तुत गर्ने उद्देश्यले ‘रोड टु एभरेस्ट’ निर्माण गरिएको बताए।

५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको यात्रालाई केन्द्रमा राखेको छ। यसमा पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा परिवर्तन हुँदै गएको हिमाली वातावरणलाई प्रस्तुत गरिएको छ।

वृत्तचित्रको केन्द्रमा ५० वर्ष नाघेका राज गुरुङको सगरमाथा आरोहण यात्रा छ। उमेर र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहण गर्ने उनको यात्रालाई वृत्तचित्रले सपना, संघर्ष, आत्मविश्वास र मानवीय दृढ संकल्पको कथाका रूपमा प्रस्तुत गरेको छ।

यो पनि पढ्नुहोस् :  ‘युग’को छायांकन भदौ दोस्रो साताबाट, वर्कसप सम्पन्न

वृत्तचित्रमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासहित विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठको सहभागिता छ। यसको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ।

निर्माण पक्षका अनुसार ‘रोड टु एभरेस्ट’मा कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग गरिएको छैन। वि विल राइज फाउन्डेसनले निर्माण गरेको वृत्तचित्रको उद्देश्य नेपाली हिमाली सम्पदा तथा पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावबारे जनचेतना फैलाउनु रहेको जनाइएको छ।

नेपाल प्रिमियर सम्पन्न भएसँगै वृत्तचित्रलाई नेपालका विभिन्न स्थानमा प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा सिनेमा हलमा लैजाने तयारी भइरहेको छ। निर्माण पक्षका अनुसार यसको अन्तर्राष्ट्रिय प्रिमियर आगामी भदौ २८ गते हङकङमा हुनेछ।

प्रदर्शनपछि दर्शकले वृत्तचित्रको विषयवस्तु, प्रस्तुति र सन्देशको प्रशंसा गरेका थिए। उनीहरूले ‘रोड टु एभरेस्ट’ले सगरमाथालाई नयाँ दृष्टिकोणबाट बुझ्ने अवसर दिएको र नेपालीले आफ्नै हिमालको कथा आफ्नै दृष्टिकोणबाट प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  युट्युबमा ‘झिंगे दाउ’को हंगामा, ‘झिंगे दाउ २’को गीतमा केकी–आँचलको झगडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   4   =