सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

काठमाडौँ । सरकारले सातवटै प्रदेशमा जलन उपचार सेवालाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति उत्पादन गर्न थालेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात प्रदेशका सात ठूला अस्पतालमा जलनको ‘स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकलअनुसार लेभल–३’ जलन उपचार सेवा विस्तार गरेर सेवालाई थप प्रभावकारी बनाउन लागेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
त्यसका लागि ती अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई एडभान्स बर्न केयर तालिमसमेत सञ्चालन गरिएको उनले बताए ।
कोशीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेसको नारायणी अस्पताल वीरगञ्ज, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल नेपालगन्ज, कर्णालीको सुर्खेत अस्पताल र सुदूरपश्चिमको सेती अस्पतालमा ‘स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकलअनुसार लेभल–३’ जलन उपचार सेवा विस्तार गर्न थालिएको हो ।
“अहिले ती अस्पतालमा सामान्य रूपमा जलन उपचार सेवा प्रदान गरिन्छ”, उनले भने, “अब चिकित्सकलाई तालिमपश्चात् उक्त लेभल–३ सम्मको उपचार तिनै अस्पतालमा प्रदान गर्ने हाम्रो तयारी हो ।”
मन्त्रालयले पहिलो चरणमा नारायणी अस्पताल वीरगञ्ज र सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ३० दिनको जलन उपचारसम्बन्धी तालिम सञ्चालन गरेको छ ।
मन्त्रालयले यसअघि उक्त अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई छदिने प्राथमिक जलन उपचार तालिम दिएको थियो ।
तालिममा नारायणी अस्पताल, वीरगञ्जबाट डा. प्रदीपकुमार ठाकुर, नगेन्द्र महतो, तबसुम बेगम र यस्मिन खातुन तथा सुर्खेत प्रदेश अस्पतालबाट डा. सोजन सापकोटा, रोशनी श्रेष्ठ, दलबहादुर विक र सुमन कँडेल गरी जम्मा आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए ।
तालिमले जलनको ‘स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकलअनुसार लेभल–३’ जलन उपचार सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्ने अपेक्षा गरिएको छ ।
तालिमपश्चात् सो जनशक्तिले सम्बन्धित अस्पतालमा जलन वार्ड स्थापना गर्न र गुणस्तरीय जलन उपचार सेवा सुनिश्चित गर्न सहयोग गर्नेछन् । मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा तालिम सञ्चालन गरेको हो ।
महानिर्देशक डा. पौडेलले क्रमशः अन्य प्रदेशका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि तिहारपछि जलन उपचारसम्बन्धी तालिम दिने बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ कार्तिक २०, बिहीबार १४:१०सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
खेलकुद२०८३ कार्तिक २०, बिहीबार ०८:२५एनपीएलमा आज दुई खेल: लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने
समाचार२०८३ कार्तिक २०, बिहीबार ०६:३६बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
समाचार२०८३ कार्तिक १९, बुधबार १९:००नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी









