ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

धादिङ, २५ भदौ । धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले बजारमा देखिएको ग्यास अभाव र वितरण व्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै जनताले ग्यासका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्न माग गर्नुभएको छ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले ग्यास आपूर्तिको अवस्था स्पष्ट पार्न सरकारसँग माग गर्नुभयो। उहाँले ग्यास नपाएर सर्वसाधारण प्रभावित भइरहेका बेला सरकार मौन बस्न नहुने बताउनुभयो।
“पसलमा ग्यास हेर्दै भोकभोकै जनता बस्नुपर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाइको मत दिएर पठाएको हो त ?” उहाँले प्रश्न गर्नुभयो।
सांसद तामाङले मुलुकमा ग्यासको वास्तविक अभाव रहेको हो भने सरकारले त्यसबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने बताउनुभयो। “यदि साँच्चिकै ग्यास छैन भने आज नै, अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नुपर्यो,” उहाँले भन्नुभयो।
सरकारको व्यवस्थापन र मन्त्री परिवर्तनप्रति व्यङ्ग्य गर्दै तामाङले भन्नुभयो, “महिनापिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ, सभामुख महोदय।”
बैठकमा उहाँले ग्यास आपूर्ति र वितरणसँग जोडिएको समस्या उठाउँदै “के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त ?” भन्दै प्रश्नसमेत गर्नुभयो। यसको जवाफ सदनमार्फत सरकारबाट आउनुपर्ने उहाँको भनाइ थियो।
सांसद तामाङले ग्यासजस्तो दैनिक उपभोगसँग प्रत्यक्ष जोडिएको वस्तुको अभावले सर्वसाधारणको दैनिकी प्रभावित हुने भन्दै सरकारलाई आपूर्ति, वितरण र बजार व्यवस्थापनबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्नुभयो।
धादिङबाट प्रतिनिधित्व गर्ने सांसदले संसदमा उठाएको यो विषय जिल्लाका उपभोक्तासँग पनि प्रत्यक्ष जोडिएको छ। ग्यास आपूर्तिमा समस्या देखिँदा धादिङसहित विभिन्न जिल्लाका सर्वसाधारणको दैनिक भान्सा र घरायसी जीवन प्रभावित हुने भएकाले समस्या समाधानका लागि प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइ छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३१, बुधबार १९:०९दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३१, बुधबार १४:०७स्तन क्यान्सर सचेतनाका लागि असोज १७ मा ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:२५अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती








