‎हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन

‎हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन

‎हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिनसृष्टि खड्का – पोखरा कलेज अफ म्यानेजमेन्ट

चीन जाने अवसर पाउने खबरले म निकै उत्साहित थिएँ। मेरो जीवनको यो पहिलो अन्तर्राष्ट्रिय यात्रा थियो। नयाँ देश, नयाँ मानिस, नयाँ संस्कृति र त्यसमाथि नयाँ प्रविधिसँग प्रत्यक्ष परिचित हुने अवसरले यात्रा सुरु हुनुअघि नै मनमा अनेकौँ उत्सुकता जगाएको थियो।

सेप्टेम्बर ६ मा काठमाडौं विमानस्थलबाट चीनको छेङ्दुका लागि उड्दा मनमा धेरै प्रश्न थिए—चीन कस्तो होला? त्यहाँको विश्वविद्यालयको वातावरण कस्तो होला? आफूले पढिरहेको कृत्रिम बौद्धिकता (Artificial Intelligence—AI) र नयाँ प्रविधिको प्रयोग त्यहाँ कसरी भइरहेको होला? यी प्रश्नका उत्तर यात्राका सात दिनमा बिस्तारै पाउँदै गएँ।

चीन पुगेपछि सबैभन्दा पहिले मलाई त्यहाँको यातायात व्यवस्था, प्रविधिको प्रयोग, विश्वविद्यालयको वातावरण र मानिसहरूको आतिथ्यले प्रभावित बनायो। शहर व्यवस्थापनदेखि सार्वजनिक यातायातसम्म, प्रविधिको प्रयोगदेखि दैनिक जीवनशैलीसम्म हरेक ठाउँमा केही नयाँ कुरा देख्न र सिक्न पाइन्थ्यो।

हाम्रो मुख्य कार्यक्रम University of Electronic ‎Science and Technology of China (UESTC) मा थियो। ‘Dialogue Across the Himalayas’ नामक यो सातदिने अध्ययन शिविर नेपालका विभिन्न विश्वविद्यालयका विद्यार्थीका लागि केवल शैक्षिक कार्यक्रम मात्र थिएन। यो नयाँ ठाउँ बुझ्ने, नयाँ मानिससँग परिचित हुने र फरक दृष्टिकोणबाट सिक्ने अवसर पनि थियो।

कार्यक्रमको सुरुवातमै AI-enabled media industry, digital economy र digital media infrastructure जस्ता विषयमा अध्ययन गर्ने अवसर पाइयो। त्यसपछि human-machine collaborative news production, information governance र AI-enabled rural revitalization लगायतका विषयमा पनि छलफल भयो।

AI मेरो लागि बिल्कुलै नयाँ विषय थिएन। तर कक्षाकोठामा पढेको AI लाई वास्तविक सञ्चारमाध्यम, सामग्री उत्पादन र सञ्चार प्रक्रियासँग जोडेर हेर्न पाउनु फरक अनुभव थियो। AI भविष्यमा आउने प्रविधि मात्र होइन, अहिले नै यसले मानिसले काम गर्ने तरिका, समाचार उत्पादनको प्रक्रिया र डिजिटल सामग्री निर्माणको शैलीमा परिवर्तन ल्याइरहेको रहेछ भन्ने कुरा अझ स्पष्ट भयो।

यो पनि पढ्नुहोस् :  फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

यो यात्राको अर्को विशेष पक्ष थियो-हामीले केवल कक्षा र व्याख्यानमा सीमित हुनुपरेन। विभिन्न प्रविधि केन्द्र, नवप्रवर्तनस्थल र डिजिटल पूर्वाधारहरू प्रत्यक्ष अवलोकन गर्ने अवसर पाइयो। Tianfu New Area, Chengdu Sci-Tech Innovation Island र National Supercomputing Center को भ्रमण गर्दा चीनले प्रविधि र पूर्वाधारको क्षेत्रमा गरेको विकासलाई नजिकबाट बुझ्ने मौका पाएँ।

त्यसैगरी Xinchuan Heart Future Robot Park तथा डिजिटल सांस्कृतिक र सिर्जनात्मक क्षेत्रहरूको भ्रमणले प्रविधि केवल कम्प्युटर वा प्रयोगशालाभित्र सीमित हुँदैन भन्ने महसुस गरायो। प्रविधिले मनोरञ्जन, सञ्चार, उद्योग हुँदै मानिसको दैनिक जीवनसम्म आफ्नो स्थान बनाइसकेको रहेछ।

मेरो लागि सबैभन्दा रमाइलो र नयाँ अनुभवमध्ये एक थियो—Sichuan University of Media and Communications (SUMC) को भ्रमण। त्यहाँ AI-enabled short videos, AIGC micro-drama creation र immersive technology सम्बन्धी गतिविधिमा सहभागी हुने अवसर पाइयो। AIGC master workshop मा व्यावहारिक अभ्यासमार्फत generative AI लाई सिर्जनात्मक सामग्री उत्पादनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा प्रत्यक्ष रूपमा सिक्न पाएँ।

किताबमा पढेको विषय र आफ्नै आँखाले देखेको प्रविधिबीच ठूलो अन्तर हुँदोरहेछ। प्रविधि कसरी प्रयोग भइरहेको छ भन्ने प्रत्यक्ष देखेपछि आफ्नो पढाइ र भविष्यका सम्भावनाबारे सोच्ने मेरो दृष्टिकोणमा पनि केही परिवर्तन आयो।

तर यो यात्रा प्रविधि र अध्ययनमा मात्र सीमित थिएन। Panda Park को भ्रमण, Tianfu New Area को विकास, Sanxingdui Museum को ऐतिहासिक अनुभव र छेङ्दुका विभिन्न स्थानको अवलोकनले चीनको अर्को पक्ष बुझ्ने अवसर पनि दियो। नयाँ ठाउँमा पुग्दा त्यहाँको संस्कृति, इतिहास र मानिसलाई नजिकबाट बुझ्नु पनि यात्राको महत्वपूर्ण हिस्सा रहेछ भन्ने महसुस भयो।

मलाई सबैभन्दा राम्रो लागेको अर्को कुरा त्यहाँका मानिसहरूको व्यवहार र आतिथ्य थियो। कार्यक्रमका क्रममा UESTC का प्राध्यापक, विद्यार्थी तथा आयोजकहरूले हामीलाई निकै सहज महसुस गराउनुभयो। नयाँ देशमा पुग्दा सुरुमा केही अपरिचितजस्तो लागे पनि केही समयपछि त्यही ठाउँ आफ्नैजस्तो लाग्न थाल्यो।

यो पनि पढ्नुहोस् :  बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

विशेषगरी चिनियाँ विद्यार्थीहरूसँगको अन्तरक्रिया यो यात्राको सबैभन्दा सम्झनलायक पक्ष बन्यो। सुरुमा हामी एकअर्काका लागि अपरिचित थियौँ। तर केही दिन सँगै बिताउँदा कुराकानी, हाँसो, खानपिन र विभिन्न गतिविधिले नयाँ मित्रता गाँस्न सहज भयो। भाषा र देश फरक भए पनि युवा पुस्ताका धेरै भावना, रुचि र सपना उस्तै हुँदा रहेछन् भन्ने महसुस भयो।

सात दिन कहिले बित्यो, पत्तै भएन। सुरुवातमा नयाँ ठाउँ र नयाँ मानिससँग घुलमिल हुन केही समय लाग्ला जस्तो लागेको थियो। तर अन्तिम दिन आइपुग्दा भने छुट्टिनै गाह्रो भयो। केही दिनअघि मात्र भेटेका मानिसहरूबाट बिदाइ लिँदा यात्रा कति छोटो रहेछ भन्ने महसुस भयो।

कार्यशालाकाे अन्त्यमा पुग्दा यात्रा सकिन लागेको अनुभूति भयो। चीनबाट फर्किँदा मसँग केही फोटो र भिडियो मात्र थिएनन्। नयाँ ज्ञान थियो, प्रविधिलाई हेर्ने नयाँ दृष्टिकोण थियो, फरक संस्कृति बुझ्ने अवसर थियो र सबैभन्दा महत्वपूर्ण—नयाँ मित्रहरू थिए।

मेरो लागि ‘Dialogue Across the Himalayas’ एउटा अध्ययन शिविरभन्दा धेरै ठूलो अनुभव बन्यो। यसले मलाई AI र नयाँ प्रविधिबारे सिकायो। त्यससँगै मानिससँग जोडिन, फरक संस्कृति बुझ्न र आफ्नो देशबाहिरको संसारलाई नजिकबाट नियाल्न पनि सिकायो।

नेपाल र चीन हिमालयले जोडिएका दुई छिमेकी देश हुन्। यस्ता युवा आदानप्रदान कार्यक्रमले दुई देशका मानिसबीचको सम्बन्धलाई अझ नजिक बनाउन सक्छन् भन्ने मलाई लाग्छ। विशेषगरी विद्यार्थी र युवाबीच हुने प्रत्यक्ष संवादले एकअर्काको देशलाई किताब वा समाचारबाट मात्र होइन, आफ्नै अनुभवबाट बुझ्ने अवसर दिन्छ।
चीनबाट फर्किँदा एउटा कुरा भने मनमा थियो—यात्रा सकिए पनि सिकाइ सकिएको छैन।

त्यहाँ देखेका प्रविधि, सिकेका कुरा, बनाएका सम्बन्ध र बिताएका ती सात दिनले मेरो मनमा धेरै नयाँ प्रश्न र सम्भावना छोडेर आएका छन्। भविष्यमा मैले जहाँ काम गरे पनि वा जे अध्ययन गरे पनि, यो यात्राले दिएको अनुभव मेरो जीवनयात्राको एउटा महत्वपूर्ण हिस्सा रहनेछ।
चीन गएको मेरो यो पहिलो यात्रा थियो। तर फर्किँदा यो केवल एउटा विदेशी यात्रा जस्तो लागेन। यो सिकाइ, मित्रता, संस्कृति र नयाँ सम्भावनासँग जोडिएको एउटा सुन्दर अनुभव बनेर रह्यो।

यो पनि पढ्नुहोस् :  अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित

सायद यही नै ‘Dialogue Across the Himalayas’ को सबैभन्दा सुन्दर पक्ष थियो-हिमालले छुट्याए पनि संवादले नजिक ल्याउन सक्छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22598, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   10   =