कास्की आइडल–२ को गायनतर्फ अमृत र नृत्यतर्फ गौमाया विजेता

पोखरा । गायनतर्फ अमृत गुरुङ र नृत्यतर्फ गौमाया गुरुङले ‘कास्की आइडल सिजन–२’ को उपाधि जितेका छन्। साँझ क्रिएसनको आयोजनामा कात्तिक १४ गते शनिबार पोखरा सभागृहमा सम्पन्न ग्रान्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिँदै दुवै विधातर्फ उनीहरू विजेता बन्न सफल भएका हुन्।
प्रतियोगिताको गायनतर्फ रहमान खान फर्स्ट रनरअप, इडिभा खतिवडा सेकेन्ड रनरअप भएका छन् भने दिप्सन बगदास र मनसा गुरुङले सान्त्वना स्थान हासिल गरेका छन्। त्यसैगरी नृत्यतर्फ तृप्ति गुरुङ फर्स्ट रनरअप, सिम्रन थापा सेकेन्ड रनरअप भएका छन् भने नोरा गुरुङ र स्मृति सुवेदीले सान्त्वना स्थान प्राप्त गरेका छन्।
प्रतियोगितामा गायन र नृत्य दुवै विधाका प्रथम हुनेले जनही ६० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्। द्वितीय हुनेले ४० हजार, तृतीय हुनेले २० हजार तथा सान्त्वना स्थान प्राप्त गर्नेले जनही ५ हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल प्रतिभालाई राष्ट्रिय गीतमा अवसर प्रदान गर्ने आयोजकको योजना रहेको छ।
कास्की तथा आसपासका क्षेत्रमा लुकेर रहेका नयाँ प्रतिभाको खोजी, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। विभिन्न चरणको प्रतिस्पर्धा पार गर्दै गायन र नृत्य विधाका उत्कृष्ट प्रतियोगी ग्रान्ड फिनालेमा पुगेका थिए। अन्तिम प्रतिस्पर्धामा सहभागीहरूले आफ्नो गायन तथा नृत्य कला प्रस्तुत गरेका थिए।
प्रतियोगिताको गायनतर्फ राजबहादुर गुरुङ र खेम लामाले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने नृत्यतर्फ सरिता धनकुटी र सुकमित गुरुङ निर्णायक रहेका थिए।
स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई पहिचान गरी उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले सुरु गरिएको कास्की आइडलको दोस्रो संस्करणले नयाँ कलाकारलाई अघि बढ्न थप हौसला र अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा प्राध्यापक डा. दीपमाला श्रेष्ठ गुरुङले स्वागत मन्तव्य राखेकी थिइन्। विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। कार्यक्रमको सञ्चालन साँझ क्रिएसनका अध्यक्ष झलककुमार गुरुङ र संस्थाकी सदस्य सुस्मिता बास्तोलाले गरेका थिए।
कार्यक्रमका अवसरमा विश्वका शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकको सूचीमा पर्न सफल युवा वैज्ञानिक डा. निरञ्जन कोइरालालाई साँझ क्रिएसनले विशेष सम्मान गरेको थियो। विज्ञान तथा अनुसन्धानको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
गायन र नृत्यका विजेतालाई जनही ६० हजार पुरस्कार, युवा वैज्ञानिक डा. निरञ्जन कोइराला सम्मानित
रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष, गीतकार प्रतिष्ठानका कोषाध्यक्ष तथा कास्की आइडलका संयोजक आदर्श पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार एवं प्राज्ञ रामभक्त जोजीजू प्रमुख अतिथि रहेका थिए। विशेष अतिथिका रूपमा ब्रिज इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत भुवन गिरी तथा साथी खानेपानीका प्रोप्राइटर एवं निर्देशक विजय सुनार सहभागी थिए।
त्यसैगरी जिल्ला समन्वय समिति कास्कीका सदस्य क्याप्टेन हर्कबहादुर गुरुङ, सिद्धार्थ समाजका अध्यक्ष टिकबहादुर गुरुङ, तमुधिँ रुपा गाउँपालिकाका अध्यक्ष गेसबहादुर गुरुङ र लमजुङ समाजका अध्यक्ष आशबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, कलाकार, साहित्यकार, शिक्षाविद्, व्यवसायी, सञ्चारकर्मी तथा प्रतियोगीका अभिभावकहरूको समेत सहभागिता रहेको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22971, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक १७, सोमबार ११:२२कास्की आइडल–२ को गायनतर्फ अमृत र नृत्यतर्फ गौमाया विजेता
समाचार२०८३ कार्तिक १६, आईतवार ०८:२२युनाइटेड क्लबको देउसीभैलोबाट विपद् कोषमा सहयोग जुटाइँदै, कार्यक्रमअघि नै जुट्यो एक लाख रुपैयाँ
समाचार२०८३ कार्तिक १५, शनिबार २३:३८बरपिपल बहुउद्देश्यीय सहकारीको अध्यक्षमा लिलबहादुर घर्ती सर्वसम्मत
समाचार२०८३ आश्विन २७, मंगलवार १२:५७प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा परेनन् : मुख्यमन्त्री पाण्डे






