काठमाडौं। असोज १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चंगुल’को प्रिमियर बुधबार राजधानीको लोत्से मलस्थित आईएनआई सिनेमाजमा सम्पन्न भएको छ। प्रिमियरमा फिल्मका कलाकार तथा सिनेमा क्षेत्रका व्यक्तित्वसँगै घाइते जेन्जी नेपालका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।
प्रिमियरका क्रममा फिल्मको टिमले घाइते जेन्जी नेपालका अध्यक्ष बादल राईसहित घाइते जेन्जीहरूलाई सम्मान गरेको थियो। फिल्म हेरिसकेपछि उपस्थित दर्शक तथा अतिथिबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ।
समसामयिक राजनीतिक घटनाक्रम र त्यसले समाजमा पार्ने प्रभावलाई कथाको विषय बनाइएको ‘चंगुल’मा गत वर्ष भएको जेन्जी आन्दोलनको प्रसंगलाई समेत समेटिएको छ। प्रिमियरमा सहभागी घाइते जेन्जीहरूले फिल्मले आफूहरूलाई एक वर्षअघिको आन्दोलनको समय सम्झाएको प्रतिक्रिया दिएका थिए।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा बनेको फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल र रोहित ढुंगानालगायत कलाकारको अभिनय छ। बालकलाकार रिम्शा कार्कीको पनि फिल्ममा अभिनय रहेको छ।
फिल्मका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ। देव महर्जनले द्वन्द्व निर्देशन गरेका छन् भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ।
निर्माण पक्षका अनुसार ‘चंगुल’बाट प्राप्त नाफाको केही हिस्सा घाइते जेन्जी नेपाललाई सहयोग गर्ने योजना छ। त्यस्तै, बाढीपीडितको सहयोगका लागि पनि फिल्मको आम्दानीबाट केही रकम छुट्याउने निर्माण टिमले यसअघि नै बताउँदै आएको छ। फिल्म असोज १६ गतेदेखि प्रदर्शनमा आउनेछ।










