जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

धादिङ, २० असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य जगदीश खरेलले जनताको अपेक्षा, समस्या र सरकार तथा जनप्रतिनिधिप्रतिको धारणा प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले पार्टीले ‘हामी आउँदैछौँ’ अभियान सञ्चालन गरेको बताउनुभएको छ ।

रास्वपा धादिङले आज यहाँ आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उहाँले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजनीतिक संस्कार अन्त्य गरी नियमित रूपमा जनतासँग प्रत्यक्ष संवाद गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो ।

“सिंहदरबार र जनताको घरबीचको दूरी धेरै भयो भने जनताको सुखदुःख थाहा हुँदैन”, उहाँले भन्नुभयो, “त्यसैले जनताको घरदैलोमा पुगेर उहाँहरूले के सोचिरहनुभएको छ, सरकार र जनप्रतिनिधिबाट के अपेक्षा गर्नुभएको छ भन्ने बुझ्न हामी आएका हौँ ।”

प्रवक्ता खरेलले अभियानका क्रममा पार्टीका वडा तहसम्मका नेता तथा कार्यकर्तासँग पनि छलफल गरिने जानकारी दिनुभयो । स्थानीय तहबाट प्राप्त सुझावलाई पार्टीको आन्तरिक नीति निर्माण र सङ्गठनात्मक संरचना सुधारमा उपयोग गरिने उहाँको भनाइ थियो ।

ललितपुरबाट निर्वाचित सांसद आफू धादिङ आउनुको उद्देश्यबारे स्पष्ट पार्दै उहाँले प्रतिनिधिसभा सदस्य कुनै एउटा निर्वाचन क्षेत्रको विषयमा मात्र सीमित हुन नहुने धारणा राख्नुभयो । देशभरिका नागरिकका जनजीविकाका सवाल संसद्मा उठाउनु सांसदको जिम्मेवारी भएको उहाँले बताउनुभयो ।

“सम्बन्धित क्षेत्रभन्दा बाहिरको सांसदले पनि स्थानीय समस्या प्रत्यक्ष रूपमा बुझ्नुपर्छ भन्ने सन्देश दिन खोजेका छौँ”, उहाँले भन्नुभयो, “फरक जिल्लामा आएर यहाँका वास्तविक समस्या र जनताको चाहना बुझ्न पनि यो अभियान उपयोगी हुन्छ ।”

धादिङ आउने क्रममा बाढीले क्षति पुर्‍याएको सडक र पुलको अवस्था प्रत्यक्ष देखेको उल्लेख गर्दै प्रवक्ता खरेलले भौतिक पूर्वाधार पुनःनिर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । बाढीका कारण वैकल्पिक कच्ची सडक प्रयोग गरेर धादिङ आउनुपरेको जानकारी दिँदै उहाँले सडक र पुल शीघ्र पुनःनिर्माण होस् भन्ने स्थानीयको प्रमुख अपेक्षा रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस् :  घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

भोटेकोशी बाढीबाट धादिङसहित विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्नुभयो । विपद्पछिको पुनःस्थापना र पुनःनिर्माणलाई प्रभावकारी बनाउन राज्यका निकायले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

प्रवक्ता खरेलले रास्वपाले सुशासन, आर्थिक समुन्नति, रोजगारी सिर्जना, पूर्वाधार तथा ‘कनेक्टिभिटी’ र प्रवासमा रहेका नेपालीका सवाललाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँका अनुसार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु पार्टीको पहिलो प्राथमिकता हो । आर्थिक गतिविधि विस्तार गरी मध्यम आय भएका नागरिकको सङ्ख्या बढाउने, रोजगारीका अवसर सिर्जना गर्ने तथा सडक, हवाई सेवा, इन्टरनेट र विद्युत् पूर्वाधारलाई सुदृढ बनाउने विषयलाई पनि पार्टीले प्राथमिकतामा राखेको छ ।

विदेशमा रहेका नेपालीलाई मुलुकको विकास प्रक्रियासँग जोड्नुपर्ने उल्लेख गर्दै उहाँले गैरआवासीय तथा प्रवासमा रहेका नेपालीका नागरिकता, लगानी र मतदान अधिकारका विषयमा पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रवक्ता खरेलले सरकारले पछिल्लो छ महिनामा सुशासन र विकासका लागि आधार तयार गरेको दाबी गर्दै अब विकास निर्माण र सार्वजनिक सेवा प्रवाहलाई थप तीव्र बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा रास्वपाका प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ,डा राम लामा, केन्द्रीय सदस्य सुशीला कार्कीलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   8   =