पोखरामा बुधबारदेखि नवौं गोदावरी पुष्प प्रदर्शनी तथा फूल मेला हुने

पोखरा । पोखरामा बुधबारदेखि नवौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक एवं तेस्रो सयपत्री फूल मेला–२०८३ आयोजना हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) जिल्ला समिति कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनमा कात्तिक १८ देखि २३ गतेसम्म पोखरा रंगशालामा मेला सञ्चालन हुन लागेको हो।
‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्द्धनमा गोदावरीको शान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मेलामा व्यावसायिक २२, कृषि सामग्रीसम्बन्धी ३ र सूचनामूलक १ गरी कुल २६ वटा प्रदर्शनी कक्ष रहने आयोजकले जनाएको छ।
फ्यान कास्कीले पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिँदै नेपालीहरूको दोस्रो ठूलो चाड तिहार तथा छठ पर्वलाई लक्षित गरेर पुष्प व्यवसायको प्रवर्द्धन र उपभोक्तालाई सहज रूपमा फूल तथा बिरुवा उपलब्ध गराउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको हो।
फ्यान कास्कीका अध्यक्ष श्रीराम सुवेदीले गोदावरी फूलको व्यावसायिक उत्पादन, बजारीकरण तथा प्रवर्द्धनलाई प्राथमिकता दिँदै प्रदर्शनी आयोजना गर्न लागिएको बताए। उनले पोखराको पहिचानसँग पुष्प व्यवसायलाई जोड्दै स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्य रहेको उल्लेख गरे।
अध्यक्ष सुवेदीका अनुसार प्रदर्शनीमा नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएका विभिन्न जातका गोदावरी फूलका साथै यस वर्ष भित्रिएका नयाँ प्रजातिका फूल तथा बिरुवासमेत राखिनेछन्। यसका अतिरिक्त सयपत्री, फूलमाला, मखमली माला तथा अन्य मौसमी फूल र बिरुवाहरू पनि प्रदर्शनीमा समावेश गरिनेछन्।
३५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा, मेलामा २६ वटा प्रदर्शनी कक्ष रहने
फ्यान कास्कीका सचिव खिमलाल सुवेदीले प्रदर्शनी पुष्प व्यवसायीका साथै घरआँगन तथा बगैंचा सजाउन चाहने र फूलबिरुवाप्रति रुचि राख्ने सबैका लागि उपयोगी हुने बताए। उनले मेलामार्फत पुष्प व्यवसायसम्बन्धी जानकारी, उत्पादन प्रविधि तथा व्यवसाय सञ्चालनका सम्भावनाबारे जानकारी प्रदान गरिने पनि बताए।
त्यस्तै, फ्यान कास्कीका पूर्वअध्यक्ष दयाकुमार द्वाले पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि यस्ता प्रदर्शनी तथा मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले फूल तथा बिरुवाको उत्पादन र बिक्री वितरण विस्तार गर्दै उपभोक्तासम्म सहज पहुँच पुर्याउन मेलाले सहयोग गर्ने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार मेलामा ३५ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ। तिहार तथा छठ पर्वका अवसरमा घरआँगन, बगैंचा सजाउन र स्वागत सत्कारमा प्रयोग हुने फूल तथा बिरुवा एउटै स्थानबाट सहज रूपमा खरिद गर्न सकिने व्यवस्था मिलाइनेछ।
मेलाको उद्घाटन कात्तिक १८ गते बुधबार बिहान ११ बजे पोखरा महानगरपालिका–१० स्थित पोखरा रंगशालामा हुनेछ। पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
फ्यान कास्कीले वि.सं. २०६२ सालमा स्थापना भएदेखि नै जिल्लामा पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि निरन्तर रूपमा पुष्प मेला तथा प्रदर्शनी आयोजना गर्दै आएको छ।
यस वर्षको प्रदर्शनीले पुष्प व्यवसायी, कृषक, उपभोक्ता तथा फूलप्रेमीबीच सम्बन्ध विस्तार गर्नुका साथै स्थानीय पुष्प उत्पादनको बजारीकरण र व्यावसायिक प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22968, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक १७, सोमबार ११:२२कास्की आइडल–२ को गायनतर्फ अमृत र नृत्यतर्फ गौमाया विजेता
समाचार२०८३ कार्तिक १७, सोमबार ११:११पोखरामा बुधबारदेखि नवौं गोदावरी पुष्प प्रदर्शनी तथा फूल मेला हुने
समाचार२०८३ कार्तिक १६, आईतवार ०८:२२युनाइटेड क्लबको देउसीभैलोबाट विपद् कोषमा सहयोग जुटाइँदै, कार्यक्रमअघि नै जुट्यो एक लाख रुपैयाँ
समाचार२०८३ कार्तिक १५, शनिबार २३:३८बरपिपल बहुउद्देश्यीय सहकारीको अध्यक्षमा लिलबहादुर घर्ती सर्वसम्मत







