शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित

शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित

धादिङ, १८ कात्तिक । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारस्थित शंखादेवी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा डोरबहादुर सिंह ठकुरी निर्वाचित हुनुभएको छ । सात सदस्यले मतदान गरेको अध्यक्ष निर्वाचनमा ठकुरीले पाँच मत प्राप्त गर्नुभएको हो ।

अध्यक्ष पदका अर्का उम्मेदवार सरिता थापाले दुई मत प्राप्त गर्नुभएको विद्यालयका प्रधानाध्यापक तिलक चेपाङले जानकारी दिनुभयो । निर्वाचित ठकुरी सोही विद्यालयका पूर्वविद्यार्थी हुनुहुन्छ । दुवै उम्मेदवार स्थानीय बासिन्दा हुनुहुन्छ ।

प्रधानाध्यापक चेपाङका अनुसार विद्यालयको इतिहासमा व्यवस्थापन समितिको अध्यक्ष मतदान प्रक्रियाबाट चयन गरिएको यो पहिलोपटक हो । यसअघि आपसी सहमतिका आधारमा नेतृत्व चयन हुँदै आएको विद्यालयको भनाइ छ ।

गाउँपालिकाको शिक्षा शाखाका स्रोतव्यक्ति रामेश्वर पोखरेलको संयोजकत्वमा गठित निर्वाचन मण्डलले मतदान प्रक्रिया सञ्चालन गरी अध्यक्ष चयन गरेको हो । नवनिर्वाचित व्यवस्थापन समितिको कार्यकाल तीन वर्षको रहने जनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिमा कान्छीमाया दर्जी, सन्तोष पौडेल, सरिता थापा, अनिल चेपाङ, चन्द्रकुमारी शाही ठकुरी (रेखा) र चन्द्रकुमारी लायो मगर सदस्य रहनुभएको छ ।

यसअघि गत शुक्रबार सम्पन्न अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका लागि अभिभावक प्रतिनिधि चयन गरेको थियो । सोही भेलाले भूमि डल्लाकोटीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक–अभिभावक संघसमेत पुनर्गठन गरेको थियो ।

सरकारले यस वर्ष शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनमार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यको योग्यतासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । संशोधित व्यवस्थामा विद्यालयमा सञ्चालित कक्षामध्ये सबैभन्दा माथिल्लो कक्षा वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान छ । शंखादेवी माध्यमिक विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुने भएकाले समितिको अध्यक्ष तथा सदस्यका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था लागू भएको हो ।

त्यसैगरी, विद्यालय व्यवस्थापन समिति गठन हुनुअघिको पाँच वर्षभित्र राजनीतिक दलको सदस्यता लिएका तथा शिक्षक वा कर्मचारीबाट अवकाश भएको दुई वर्ष पूरा नभएका व्यक्ति समितिको अध्यक्ष वा सदस्य बन्न अयोग्य हुने व्यवस्था संशोधित नियमावलीमा छ ।

यो पनि पढ्नुहोस् :  शंखादेवी माविको छात्रावासलाई रु एक लाख ७५ हजारको स्टिल लकर सहयोग

विसं २०२२ माघ १० गते स्थापना भएको विद्यालयमा नयाँ व्यवस्थापन समिति गठनसँगै आगामी तीन वर्षका लागि नेतृत्व चयन भएको हो । विद्यालय परिवारले नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूलाई बधाई दिएको प्रधानाध्यापक चेपाङले जानकारी दिनुभयो ।

शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   8   =