अब आफ्ना सवाल आफैँ उठाउनेछन् दृष्टिविहीन युवा र महिला, पोखरामा पहिलो राष्ट्रिय भेला

अब आफ्ना सवाल आफैँ उठाउनेछन् दृष्टिविहीन युवा र महिला, पोखरामा पहिलो राष्ट्रिय भेला


सातै प्रदेशका १०० जना सहभागी हुँदै, पाँच–पाँच प्राथमिकता निर्धारण गरी युवा र महिला समिति गठन गरिने; एक वर्षसम्म आफ्नै नेतृत्वमा अभियान सञ्चालन गर्ने


पोखरा । दृष्टिविहीन युवा तथा महिलाको आवाजलाई बुलन्द बनाउँदै उनीहरूलाई आफ्ना अधिकार, आवश्यकता र सवालमा आफैँ निर्णय गर्ने तथा नेतृत्व गर्ने अवसर प्रदान गर्ने उद्देश्यले नेपाल नेत्रहीन संघले पहिलो पटक राष्ट्रिय युवा तथा महिला भेला आयोजना गरेकाे छ ।

‘हाम्रो आवाज, हाम्रो नेतृत्व’ भन्ने मूल नारासहित आयोजना हुन लागेको ‘नेपाल नेत्रहीन संघ राष्ट्रिय युवा तथा महिला भेला २०८३’ बिहीबार  पोखराको सिर्जना चोकस्थित साइमन पार्टी प्यालेसमा हुँदैछ।

भेलामा सातै प्रदेशबाट छनोट भएका १०० जना सहभागी हुनेछन्। सहभागीमध्ये १८ देखि २९ वर्ष उमेर समूहका ६२ जना युवा र ३० वर्षमाथिका ३८ जना महिला रहनेछन्।

कार्यक्रमबारे जानकारी दिन बुधबार आयाेजित पत्रकार सम्मेलनमा भेला स्थानीय आयोजक समिति संयोजक लक्ष्मण सुवेदीले भेला संघका लागि एउटा औपचारिक कार्यक्रम मात्र नभई दृष्टिविहीन युवा तथा महिलाका सवालप्रति संघ कति संवेदनशील र प्रतिबद्ध छ भन्ने प्रतिबिम्ब भएकाे बताए । युवा तथा महिलाका समस्या, आवश्यकता र प्राथमिकता उनीहरू आफैँले पहिचान गर्ने, त्यसमा छलफल गर्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्नु भेलाको मुख्य उद्देश्य रहेकाे उनकाे भनाई छ ।

सन् १९९३ मा नेपाल नेत्रहीन संघ स्थापना गर्ने अग्रजहरू पनि त्यतिबेला युवा नै रहेको र आफ्ना अधिकारका लागि आफैँ संगठित भएर आवाज उठाएको इतिहासलाई निरन्तरता दिँदै भेला आयोजना गरिएको हो। युवा तथा महिलाले आफ्ना सवाल आफैँ उजागर गर्ने र संघले त्यसका लागि आवश्यक मञ्च, स्रोत तथा सहयोग उपलब्ध गराउने मान्यताका साथ यो पहल गरिएको आयोजकले जनाएको छ।

भेलाको उद्घाटन गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव आभा श्रेष्ठ कर्णले बिहान ९ बजे उद्घाटन भिडियोमार्फत गर्नेछिन्। डेनिस एसोसिएसन अफ द ब्लाइन्डकी कार्यक्रम व्यवस्थापक सुजेन कोच एन्डरसन विशेष अतिथिका रूपमा सहभागी भई मन्तव्य राख्नेछन् ।

यो पनि पढ्नुहोस् :  नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी

उद्घाटन सत्रमा नेपाल नेत्रहीन संघकी केन्द्रीय सदस्य अस्मिता भट्टराईले ‘नेपालको नारीवादी आन्दोलनमा दृष्टिविहीन महिलाको स्थान’ विषयमा प्रस्तुति दिनेछिन् । त्यस्तै, नेपाल नेत्रहीन संघ गण्डकीका महासचिव छवि आलेले ‘जेनजी आन्दोलनपछि दृष्टिविहीन युवाको स्थान’ विषयमा विचार प्रस्तुत गर्नेछन् ।

उद्घाटनपछि युवा र महिलाका लागि छुट्टाछुट्टै समानान्तर सत्र सञ्चालन हुनेछन्। महिला सत्रमा हिंसामुक्त तथा सुरक्षित जीवन, आर्थिक स्वतन्त्रता र मर्यादित जीवन तथा नेतृत्व र निर्णय प्रक्रियामा दृष्टिविहीन महिलाको सहभागिताका विषयमा छलफल हुनेछ।

त्यसैगरी युवा सत्रमा आत्मनिर्भर र स्वाभिमानी युवा निर्माण, स्वस्थ युवा र कुशल नेतृत्व तथा डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्ताले सिर्जना गरेका अवसरका विषयमा छलफल गरिनेछ।

भेला स्थानीय आयोजक समिति सदस्य-सचिव खोमराज शर्माले भेलाको मुख्य उपलब्धिका रूपमा महिला र युवा समूहले आ–आफ्ना पाँच–पाँचवटा प्रमुख प्राथमिकता आफैँ निर्धारण गर्ने बताए । उनका अनुसार ती प्राथमिकतालाई व्यवहारमा कार्यान्वयन गर्न नौ सदस्यीय महिला समिति र नौ सदस्यीय युवा समिति गठन गरिनेछ। यसरी गठन हुने समितिले नेपाल नेत्रहीन संघको सहयोगमा आगामी एक वर्षसम्म भेलाले तय गरेका प्राथमिकताका क्षेत्रमा निरन्तर काम गर्नेछन्।

यस पहलले दृष्टिविहीन युवा तथा महिलालाई कार्यक्रममा सहभागी गराउनेमा मात्र सीमित नराखी आफ्ना सवालमा आफैँ निर्णय गर्ने, नेतृत्व लिने र अधिकारका लागि पैरवी गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। यसबाट उनीहरूको आवाज व्यक्तिगत तथा सामूहिक सवालबाट माथि उठेर समाज र राज्यका नीति निर्माण तथा निर्णय प्रक्रियासम्म पुग्ने आधार तयार हुने आयोजकको विश्वास छ।

नवगठित युवा तथा महिला समितिका सदस्यहरूका लागि कात्तिक २० देखि २२ गतेसम्म नेतृत्व विकास, पैरवी तथा प्रभावकारी सञ्चारसम्बन्धी तालिमसमेत सञ्चालन गरिनेछ। यसले समितिका सदस्यलाई आगामी एक वर्षसम्म आफ्ना प्राथमिकतामा केन्द्रित भएर प्रभावकारी रूपमा काम गर्न आवश्यक सीप र क्षमता विकासमा सहयोग पुर्‍याउनेछ।

यो पनि पढ्नुहोस् :  शंखादेवी माविको छात्रावासलाई रु एक लाख ७५ हजारको स्टिल लकर सहयोग

भेलालाई प्रविधिमैत्री र पहुँचयुक्त बनाउन विशेष व्यवस्था गरिएको छ। बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने मोबाइल तथा ल्यापटप क्लिनिक र सहायक प्रविधि प्रदर्शनमा सहभागीहरूलाई आफ्ना मोबाइल तथा ल्यापटपमा स्क्रिन रिडर र पहुँचयुक्तता सेटिङ मिलाउन सहयोग गरिनेछ।

त्यस्तै, साँझ ७ बजेदेखि सातै प्रदेशका सहभागीले आ–आफ्नो सांस्कृतिक प्रस्तुति दिने कार्यक्रमसहित रात्रिभोज आयोजना गरिनेछ। भेलाका सम्पूर्ण सामग्री ब्रेल, ठूलो अक्षर, अडियो तथा पहुँचयुक्त डिजिटल ढाँचामा उपलब्ध गराइने आयोजकले जनाएको छ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (UNCRPD) को धारा ४(३) अर्थात् निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको संलग्नता, धारा ६ अर्थात् अपाङ्गता भएका महिला, धारा २९ अर्थात् राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता र धारा ३० अर्थात् सांस्कृतिक जीवनमा सहभागिताको मर्मअनुरूप भेला आयोजना गरिएको हो।

नेपाल नेत्रहीन संघले डेनिस एसोसिएसन अफ द ब्लाइन्ड र करुणा फाउन्डेसन नेपालको सहयोगमा RISE कार्यक्रमअन्तर्गत भेला आयोजना गर्न लागेको हो।

दृष्टिविहीन युवा तथा महिलाको आवाज, नेतृत्व र सहभागितालाई सशक्त बनाउँदै उनीहरूलाई आफ्ना सवालमा आफैँ निर्णय गर्ने र परिवर्तनको नेतृत्व गर्ने अवसर प्रदान गर्ने यो भेला नेपाल नेत्रहीन संघको इतिहासमा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

भेलाबाट तय हुने प्राथमिकता र गठन हुने समितिले आगामी एक वर्षसम्म गर्ने कामले दृष्टिविहीन युवा तथा महिलाको अधिकार, आत्मनिर्भरता र नेतृत्व विकासमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई पनि चासोका साथ हेरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22977, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव मंसिर ५ गते, १२ सय जनाको सहभागिता रहने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   8   =