विपी राजमार्गः जाइकाले सुरु गर्यो पुनःनिर्माण

विपी राजमार्गः जाइकाले सुरु गर्यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक, २१ कात्तिकः प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुनःनिर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माणको लागि जाइकासँग रु दुई अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो । डिभिजन प्रमुख सुमन योगेशले जाइकाले हालै काम सुरु गरेको जानकारी दिनुभयो । यस्तै, पिप्लेदेखि काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीसम्मको खण्डमा पुनिःनिर्माणको काममा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । उहाँका अनुसार डालाबेँशीदेखि चारसयबेँशीसम्म (आठ दशमलव पाँच किमी) पुनःनिर्माणको जिम्मा पाएको खानी–एवान–कमलजीत जेभीले २०८४ को जेठ अन्त्यसम्म निर्माणको काम सम्पन्न गर्ने जनाएको छ ।

यस्तै चारसयबेँशीदेखि भकुण्डेबेशीसम्म (११ दशमलव आठ किमी) सडक लामा–नवकान्तिपुर जेभीले आगामी ०८४ असार १७ गतेभित्र काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको योगशेको भनाइ छ । यसैगरि पिप्लेदेखि डालोबेँशी (दुई दशमलव तीन किमी) सडकखण्डको जिम्मा पाएको उमा एण्ड कम्पनी–भण्डारी जेभीको २०८४ कात्तिक २६ गतेसम्म निर्माण सक्नेछ । उहाँले भन्नुभयो, “विपी राजमार्ग पुनःनिर्माणको काम लक्ष्य अनुरुप नै भइरहेको छ ।”

विसं २०८१ असोज दोस्रोसाता रोशी खोलाको बाढीका कारण विपी राजमार्गको काभ्रेपलाञ्चोक नमोबुद्धस्थित दाप्चाखोला १ नं पुलदेखि सिन्धुलीको नेपालथोकसम्म २९ किमी सडक पूर्णरूपमा क्षति भएको थियो ।

क्षतिग्रस्त राजमार्गमध्ये काभ्रेपलाञ्चोकतर्फको २५ दशमलव ११ किमी सडक तीन खण्डमा पुनःनिर्माणको काम भइरहेको छ । आगामी वर्षायाम अघि नै निर्माणाधीन तीन खण्डमा एक लेयरको कालोपत्रे गर्ने गरी तयारी भइरहेको योगेशले बताउनुभयो । उहाँका अनुसार बाढीबाट क्षतिग्रस्त विपी राजमार्ग ‘डेडिकेटेड डबल लेन’मा पुनःनिर्माण भइरहेको हो ।

सो राजमार्गअन्र्तगत काभ्रेपलाञ्चोकभित्र पर्ने पिप्लेदेखि डालाबेँशीसम्मको दुई दशमलव ३ किमी सडक पुनःनिर्माण गर्न उमा एण्ड कम्पनी–भण्डारी अमरज्योती जेभीसँग रु ६८ करोड ८० लाख, डालाबेँशीदेखि चार सयबेँशीसम्मको सडकका लागि लामा–नव कान्तिपुर जेभीसँग रु एक अर्ब ४२ करोड र चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मको सडक पुनःनिर्माणका लागि खानी–एवान–कमलजीत जेभीसँग रु एक अर्ब ३३ करोडमा सम्झौता भएको छ ।

यो पनि पढ्नुहोस् :  काठमाडौँ गोर्खाजसँग विराटनगर किङ्ग्स ९ विकेटले पराजित

यसैबीच विपी राजमार्गमा हाल पुनःनिर्मित सडकबाटै सवारी आवागमन गराएको जनाइएको छ । “एक दुई स्थानमा साघुँरो भएकाले डाइभर्सन बनाएर दुईतर्फी आवागमन गराइएको छ, अन्यत्र अप्ठेरो छैन,” योगेशले भन्नुभयो ।

उहाँका अनुसार चौकीडाँडा र पिन्थलीमा भिरालो भएकाले हाल मर्मत भइराखेको र डाइभर्सन गरिएको छ । डालाबेँसी–पिप्ले खण्डमा पनि त्यस्तै व्यवस्था गरिएको छ ।

हाल पुनःनिर्मित सडकबाटै आवागमन गराइए पनि जाम नहुने योगेशको भनाइ छ । उहाँका अनुसार वर्षा भई सडक माथिबाट लेदो तथा पहिरो गई अबरुद्ध भए आधादेखि केही घण्टामै सडक खुलाउने गरी सामग्री ब्यवस्थापन गरिएको छ ।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो मार्गका रूपमा उक्त राजमार्गलाई लिइन्छ ।

क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले कुल रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको थियो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको छ ।

योगेशका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ । तीनवटै खण्डमा छ दशमलब तीन किलोमिटर आरसीसी पर्खाल निर्माण हुनेछ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ देखि विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न भएको राजमार्ग विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  पोखरामा अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम सुरु
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   3   =