काग सम्मेलनको २३औँ संस्करण सम्पन्न, रमेश दुलालले भेला पारे सयौँ काग

काग सम्मेलनको २३औँ संस्करण सम्पन्न, रमेश दुलालले भेला पारे सयौँ काग


सेलिब्रेटी नेपाल । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौंमा २३औँ काग सम्मेलन सम्पन्न गरेका छन् । आफ्नो मुखबाट कागको हुबहु आवाज निकालेर काग भेला पार्ने अनौठो कलाका कारण चर्चामा रहने दुलालले शनिबार बिहान नारायणहिटी दरबारमार्ग परिसरमा सम्मेलन आयोजना गरेका हुन् ।

राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलनमा दुलालले मुखबाट कागको आवाज निकालेपछि आकाशमा सयौँ काग भेला भएका थिए । उनले आवाज निकाल्न थालेको केही समयमै टाढाटाढाबाट कागहरू उडेर कार्यक्रममा आइपुगेका थिए ।

करिब १०० प्रकारका आवाज हुबहु निकाल्न सक्ने क्षमता भएका दुलालले विगत २३ वर्षदेखि निरन्तर काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् । राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्षसमेत रहेका उनले सम्मेलनको २५औँ संस्करणलाई विशेष र भव्य बनाउने योजना सुनाए । त्यस अवसरमा ठूलो स्टेज निर्माण गरी कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक रूपमा आयोजना गर्ने उनको तयारी छ ।

काग सम्मेलनमार्फत उनले मनोरञ्जनसँगै समसामयिक राजनीतिक सन्देश पनि दिएका छन् । नयाँ पुस्ताका नेताहरूले देशलाई चाँडोभन्दा चाँडो विकासको गतिमा अघि बढाउनेमा आफू आशावादी रहेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालसहित विभिन्न कलाकार तथा संगीतकर्मीहरूको सहभागिता रहेको थियो । हरेक वर्ष काग तिहारलाई विशेष बनाउँदै आएका दुलालको यो अनौठो कला र काग सम्मेलनले तिहारको सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई समेत थप रोचक बनाउँदै आएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  चलचित्र ‘पाँच पाण्डव’ आजबाट प्रदर्शन » Celebrity Nepal
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   4   =