जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु

कर्णाली, ३ माघ । हिमाली जिल्ला जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु गरिएको छ । युएसएआईडीको आर्थिक तथा वाइन्ड पावर प्रालिको प्राविधिक सहयोगमा तिला गाउँपालिका–३ कुडारीमा महिलाद्वारा सञ्चालित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा यो प्रविधि सुरु गरिएको हो ।
वाइन्ड पावरले जुम्लामा गत पुसदेखि सुरु गरेको यो प्रविधिअन्तर्गत चिसोमा गाईवस्तुको आहारका लागि हाइड्रोपोनिक चारा उत्पादन लाभदायिक देखिएको छ । बेमौसमी समयमा गाईवस्तुलाई हरियो एवं पौष्टिक आहार दिएर दूध तथा मासुजन्य वस्तु उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले सुरु गरिएको यो प्रविधि जलवायु परिवर्तन अनुकूलनमा पनि सहयोगी रहेको वाइन्ड पावर प्रालि नेपालका निर्देशक कुशल गुरुङले जानकारी दिए ।
“वर्षमा पाँच महिनाभन्दा बढी हरियो आहारा नपाउने सुक्खा क्षेत्रका जिल्लामा पशुवस्तुको स्वास्थ्य र उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले परीक्षण प्रविधि सुरु गरिएको हो,” उनले भने, “उच्च प्रविधिको प्लास्टिक टनेलभित्र माटोरहित जमरा उत्पादन गरिन्छ ।” यस विषयमा सहकारीमा आबद्ध किसानलाई प्रालिले सैद्धान्तिक तालिम दिएकोे निर्देशक गुरुङको भनाइ थियो ।
प्रालिका व्यवस्थापक सिसन महर्जनले एक दिनमा ५० किलोग्राम हाइड्रोपोनिक चारा उत्पादन गर्न सकिने बताए । “हाइड्रोपोनिक भनेको जमरा उत्पादन गर्ने प्रविधि हो । गाउँघरमा माटो हालेर जमरा उत्पादन गरिन्छ तर यो प्रविधिअनुसार बीउमा पानीमात्र हालिन्छ,” उनले भने, “यसरी उत्पादन हुने जमराको जरामा पोषक तत्व हुने भएकाले पशुवस्तुलाई जरैदेखि खुवाइन्छ ।”
हिमाली जिल्लामा हिउँदको समयमा पशुवस्तुका लागि पौष्टिक आहार उत्पादन गर्न परीक्षण प्रविधि सुरु गरिएको व्यवस्थापक महर्जनले बताए । यो परीक्षण प्रविधि सफल भएमा अन्य हिमाली जिल्लामा विस्तार गरिने जानकारी दिँदै उनले भने, “यो बाँसमा वा प्लास्टिक ट्रेमा अन्न भिजाई टनेलभित्र राखेर दुई हप्तामा उमार्न सकिन्छ । जौ र गहुँजस्ता अन्न उमारेर हाइड्रोपोनिक चारा उत्पादन गरिन्छ । यो प्रविधि किसान आफैँले गर्न सके अझ बढी लाभदायक हुने देखिन्छ ।”
हिमाली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक मुनिनाथ योगीले एक केजी बीउबाट पाँचदेखि छ केजीसम्म चरा उत्पादन गर्न सकिने बताए । “उत्पादित चारा हामीले प्रतिकेजी ५५ मा बेच्न खोज्यौँ तर यहाँ अहिलेसम्म किसानले किनेर पशुवस्तुलाई खुवाउने संस्कार नभएकाले खपत गर्न समस्या भयो,” उनले भने ।
व्यवस्थापक योगीका अनुसार प्रालिले चारा उत्पादनका लागि आवश्यक समान र प्लास्टिक सहयोग गरेको छ । जौ र गहुँको बीउ सहकारी सदस्यहरुले जोहो गरेका छन् । एक हजार पाँच सयको ३० केजी बीउ संस्थाले किनिदिएको हो । जमरा बहुउपयोगी भएकाले यसबाट जुस निकाल्ने उपकरण र प्रशोधित जुस नेपाली बजारमा निर्यात गर्नका लागि सहयोगी संस्थालाई समन्वय गरिदिन उनले अनुरोध गरे ।
युएसएआईडी कर्णाली जलपरियोजनाअन्तर्गत तिला जलाधार परियोजनाका जलाधार सल्लाहकार नरवीर ऐडीले हाइड्रोपोनिक चारा उत्पादन प्रविधि परीक्षण अवस्थामै रहेको बताए । माटो नराखी बीउलाई पानीमा भिजाएर उत्पादन गर्ने प्रविधि सरल र छरितो नै देखिन्छ,” उनले भने, “मूलतः यसबाट उत्पादन हुने जमरा बहुउपयोगी छ जसलाई चाराका लागिमात्र प्रयोग नगरी जुस बनाएर बजारमा बेच्न सकिन्छ ।”
जमराको जुस ठूलो परिमाणमा उत्पादन हुन सक्ने भएमा स्थानीय बजारदेखि बाहिर पनि बेच्न सकिनेबारे सोच्न सकिने सल्लाहकार ऐडीको भनाइ थियो । यता तिला गाउँपालिका–३ कुडारी गाउँमा दुईवटा भैँसी पाल्दै आएका सहकारी सदस्य कल्पना हमालले चारा खुवाउँदा सुरुमा केही असर गरे पनि अहिले दूधमा सुधार आएको बताए । पहिलो पटक भैँसीलाई यसरी हिउँदमा हरियो चारा खुवाइएकाले यसको वास्तविक परिणाम आउन एक÷दुई महिना पर्खनुपर्ने उनको भनाइ थियो ।
हाल रु ६८ लाख ८६ हजार दुई सय ७८ सम्पत्ति रहेको सहकारी संस्थामा एक जनजाति, दुई सय १५ दलित, चार सय १३ अन्य सदस्य गरी छ सय १९ महिला आबद्ध छन् । सहकारी सदस्य गोरीकला कामी, बिजुली योगी, कल्पना हमाल, मञ्जु बोहोरा र संस्था बाहिरको किसाना रामबहादुर रावलले १०÷१० केजी चारा उत्पादन गर्दै आएका छन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २२, मंगलवार ११:०८ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन, पेसागत स्वतन्त्रता बलियो बनाउँछः प्रधानमन्त्री शाह
खेलकुद२०८३ बैशाख २२, मंगलवार १०:०८स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पक्राउ
समाचार२०८३ बैशाख २१, सोमबार २०:५९धादिङमा नागरिकलाई सहज सूचना प्रवाहबारे छलफल
समाचार२०८३ बैशाख २१, सोमबार २०:२०व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश








