एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन

काठमाडौँ । एशियाली खेलकुदका लागि पौडी खेलाडी छनोट प्रक्रियामा विवाद भएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । पौडी खेलाडीहरू इर्भिन श्रेष्ठ, मेधावी केसी र निर्णय थापाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले खेलाडीहरूको उच्चतम हितलाई ध्यानमा राख्दै समयमै उपयुक्त निर्णय लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ । राखेपले नेपाल पौडी संघ र नेपाल ओलम्पिक कमिटीसँग आवश्यक समन्वय गरी विवाद निरूपण गर्नुपर्ने आदेशमा उल्लेख छ । अदालतले नेपाल पौडी संघको कानुनी अस्तित्व र वैधानिकतामाथि नै विवाद देखिएको भन्दै यसबारे अन्तिम फैसला हुँदा विचार गरिने जनाएको छ ।
जापानमा आयोजना हुन गइरहेको २० औँ एशियाली खेलकुदका लागि खेलाडी छनोट गर्दा नेपाल पौडी संघले धाँधली गरेको भन्दै खेलाडीहरूले गत जेठ २८ गते रिट दायर गरेका थिए । सुरुमा ‘प्रि-क्वालिफिकेसन’ भनिएको प्रतियोगितालाई खेल भइरहेकै बेला अचानक नियम बदलेर ‘अन्तिम छनोट’ बनाइएको खेलाडीहरूको आरोप छ । साथै, अन्तर्राष्ट्रिय नियमविपरित टच प्याडको सट्टा हाते घडी (स्टप वाच) प्रयोग गरेर समय निर्धारण गरिएको र संघको लेटरप्याडमा छाप र हस्ताक्षरविना नै सूचना जारी गरिएको रिटमा उल्लेख थियो ।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका कानुन व्यवसायीले खेलको बीचमै नियम बदल्नु बदनियतपूर्ण भएको तर्क गरेका थिए । विपक्षी बनाइएको नेपाल ओलम्पिक कमिटीका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता लोकभक्त राणाले समेत जगतमान श्रेष्ठ नेतृत्वको पौडी संघलाई ओलम्पिक कमिटीले नचिन्ने भन्दै छनोटमा चलखेल भएको अदालतमा बताएका थिए । सर्वोच्चको यो आदेशसँगै अब एशियाली खेलकुदका लागि पौडी खेलाडी कसरी र को पठाउने भन्नेबारे राखेपले चाँडै निर्णय लिनुपर्ने भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार ०९:०३रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक









