भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ ।
भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलपत्र प्रक्रियामा सहभागी भई बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टा अघि नै त्यस्तो प्रक्रिया पूरा गरी विद्युत् बिक्री गर्न पाउने भएको हो ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आज मात्रै रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । यसअन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि ‘बिडिङ’ गरी भारतीय बजारमा विद्युत्को कारोबार गर्न पाउनेछ ।
भारतको विद्युत् मन्त्रालयले गत १५ साउनमा विद्युत् आयात निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संसोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पहिलो चरणमा १९ दशमलव चार मेगावाटको तल्लो मोदी र २४ दशमलव २५ मेगावाटको काबेली बी१ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट बिद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ ।
यी दुवै आयोजनाको विद्युत् अहिले डे अहेड मार्केटमा बिक्री भइरहेको थियो । डे अहेड मार्केटमा दिइएको अनुमति आज सकिँदै थियो । डे अहेडको नवीकरणका लागि पठाइएकामा दुई आयोजनाको विद्युत् डे अहेड र रियल टाइम मार्केट दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरण, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिनुभयो । अब दुई आयोजनाको विद्युत् डे अहेड र आवश्यकताअनुसार रियल टाइम मार्केटमा बिक्री गर्न सकिने निर्देशक अधिकारीले उल्लेख गर्नुभयो ।
“यसअघि प्रतिस्पर्धी बजारबाट विद्युत् आयात निर्यातका लागि एक दिन पर्खनुपर्नेमा अब सवा घण्टाअघि बिड गरेर कारोबार गर्न पाउने भएका छौँ, यसले अचानक विद्युत् उत्पादन बन्द भएमा वा उत्पादन बढेमा विद्युत् खरिद बिक्री गर्नसक्ने अवस्था निर्माण भएको छ”, अधिकारीले भन्नुभयो ।
उहाँले डे अहेड मार्केटमा मात्र सहभागी भइरहेकोमा अब रियल टाइम मार्केटमा सहभागी हुन पाउनु हाम्रा लागि नयाँ अनुभव र उपलब्धि भएको बताउनुभयो । यसबाट विद्युत् व्यवस्थापनमा सहजता आउनुकासाथै दुई देशबीचको विद्युत् व्यापारमा नयाँ इँटा थपिएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब एक सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि-एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।
प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनमार्फत हरियाणा राज्यलाई एक सय १० मेगावाट गरी छ सय ३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।
यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर-मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको विद्युत् भारततर्फ निर्यात गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १२, मंगलवार २०:०५नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १२, मंगलवार १५:५०वीरगञ्जका ६८ चिकित्सकको सामूहिक राजीनामा
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १२, मंगलवार १४:३३साइग्रेस पोखरेल ‘फलानो ढिस्कानो’मा पत्रकारको भूमिकामा
समाचार२०८३ श्रावण १२, मंगलवार ०७:३१बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना







