रहन्छ श्वान द्वारमा बनेर भक्तको सदा सर्वदा

दिनेछ कागले हालखबर भनी पुजिन्छ ऊ सदा।
पुजिन्छ भाइ साथमा दिदी हुँदा यो तिहारमा सदा
रहन्छ दूर त्यो भने खुसी कहाँ मुहारमा सदा सर्वदा।।

बयान के गरूँ अझै सकिन्न यो तिहारको महत्व सर्वदा
दिदी र भाइमा सदा हुने अनन्त प्यार हो सदा सर्वदा।
उचो हुनेछ साथमा यो प्रफुल्ल पनि हुन्छ गर्वले
चिनिन्छ देश विश्वमा समस्त यही चाडपर्वले ।।

दसैँ मूलतः पारिवारिक सम्बन्ध र संस्कारको चाड भनिन्छ। दसैँमा नयाँ-नयाँ लुगा लगाउने, खानपान तथा अन्य तयारी बढी हुने र वर्षभरि नभेटिएका मानिसहरुसँग भेट्ने काम हुन्छ तर तिहारमा रमाइलोले बढी प्राथमिकता पाउँछ । सबै जना रमाइलो गर्नमा तत्पर भेटिन्छन् । यसै समयमा प्रकृतिले पनि नुवाईधुवाई गरेर स्निग्ध र सुन्दरी बनेकी हुन्छन् ।

नेपालमा तिहारलाई ‘दीपावली’ पनि भन्ने गरिन्छ । अझ यसलाई विस्तृतमा भन्दा त यमपञ्चक भनिन्छ । यो चाड शरद् ऋतुमा आउँछ र पाँचदिनसम्म क्रमिक रूपमा निरन्तर मनाउँछौँ (काग,कुकुर,गाई,गोरु,भाई)। तिहार आउने समयमा प्रकृति पनि सफासुग्घर भइसकेको हुन्छ । हाम्रो नेपाल जस्तो कृषिप्रधान देशमा यही बेला कृषकले फुर्सद पाउँछन् । कृषकलाई खेतीपातीको मारले छोप्दैन । धान काट्ने र बाली भित्र्याउने काम पनि सकिसकेको छ वा थन्कोमन्को भइसकेको हुन्छ । यसैले तिहारमा मानिस फुर्सदिलो मन लिएर रस–रमाइलोमा भुल्न पुग्छन् ।

तिहारमा मासुका परिकारभन्दा फलफूल साथै विविध प्रकारका रोटी, मिठाई खाने गरिन्छ । यस्तै, दसैँमा घरआँगन लिपपोत मात्र गरिन्छ भने तिहारमा घरभित्र र मनभित्र पनि लिपपोत गरिन्छ । यही बेला मान्छेको मनको आकाशमा पनि शरद् ऋतु लाग्छ ।

महत्वको पर्व

तिहार खानपान, रमाइलो, नाचगान र पूजाआराधनामात्र नभएर जीवनको विस्तारसँग पनि सम्बन्धित छ । यही बेला मानिस जमेर जुवातास खेल्छन् । जुवातास किन खेलिन्छ भन्दा हारजित थाहा होस् वा हारलाई पनि स्वीकार गर्न सकियोस् भनेर जुवा, तास, कौडा र पासा खेलिन्छ । यस दिन यमराजले हारेका र उनकी बहिनीले जितेकी थिइन् ।

झिलिमीली उत्सव तिहार

तिहारलाई उज्यालोको उत्सवको रुपमा समेत परिचित रहेको हो । हरेक घरलाई उज्यालो बनाउने, झिलीमिली पार्ने यही नै उत्तम समय हो । अहिले बिजुली बत्तीको उज्यालोमा हामी रमाउँछौं तर परम्मपरा पूर्वकालको समयमा दियो बालेर सारा घरलाई उज्यालो बनाउने गर्थे। मैनबत्ती बालेर रमाउने गर्थे। यसर्थ धनधान्यकी देवी लक्ष्मीको आराधना गर्ने तिहार वैभवसँग पनि सम्बन्धित छ ।

तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । लक्ष्मीको मात्र होइन, लक्ष्मीको विपरीत जस्तो प्रतित हुने यमराजसँग यो चाड सम्बन्धित छ । यसैले त तिहारमा यमराजका दूतहरूको पनि पूजा गरिन्छ । पहिलो दिन कागको, दोस्रो दिन कुकुरको, तेस्रो दिन गाईको, चौथो दिन गोरुको, त्यही दिन म्हपूजा र अन्तिम दिन भाइटीका गरिन्छ । भाइटीका यो चाडको सबैभन्दा विशेष दिन हो । यो यमराज र यमुनासँग जोडिएको छ ।

तिहारमा विशेषतः सयपत्री र मखमलीको प्रयोग गरिन्छ । मखमलीलाई सुपारी फूल पनि भनिन्छ । नओइलिने फूलको माला लगाउने यही बेला हो । मण्डप बनाउने काम पनि तिहारमै हुन्छ । भाइटीका होस् वा म्हपूजा, मण्डप बनाइएको हुन्छ । अन्नको धूलोले मात्र होइन, तेलले पनि मण्डप घेर्ने चलन छ । तेलले मण्डप घेर्ने भनेको आफ्नो मान्छे दीर्घजीवी होस् भनेर हो । यसरी मखमली, सयपत्री, गोदावरी र कतैकतै दुबोको मालासमेत लगाएर तिहारलाई उल्लास मय रुपमा मनाइन्छ ।

हाम्रो संस्कृतिमा चारवटा रात्रि रहेका छन् । शिवरात्रि, मोहरात्रि (कृष्णजन्माष्टमी), दसैँको कालरात्रि र तिहारको सुखरात्रि । सुखरात्रि भनेको लक्ष्मीपूजाको रात हो । यसैले यो रातको विशेष महत्त्व छ । अन्य तीनवटा रात्रीमा झैँ यो रात्रीमा पनि विशेष शक्तिको आराधना गरिन्छ ।

तिहार र समृद्धिबीचको सम्बन्ध

तिहार पर्व समृद्धि र विकाससँग पनि जोडिएको छ । धन–दौलत, वैभव, सुख–ऐश्वर्यको आराधना गरिने हुँदा यो समृद्धिसँग नजिक रहने गर्छ । यसबाहेक नारी सदस्य र पुरुष सदस्यको सम्बन्धलाई हार्दिक बनाउने माध्यम हो तिहार । मान्छेको भलो गर्ने काम मान्छेले मात्र होइन, पशुहरूले पनि गरेका छन् भनेर नै पशुको पूजा गर्ने परम्परा बसाइएको हो । त्यसैले काग, कुकुर, गाई, गोरुको पूजा गरिन्छ । काग, कुकुरलाई सेलरोटी, फर्सीदेखि लिएर अन्य मीठा खानेकुरा खुवाइन्छ ।

कागलाई शुभबोल–शुभबोल भन्दै शुभसमाचार ल्याउने प्रचलन हाम्रो समाजमा रहेको छ । काग चिरञ्जीवी हुन्छ भन्ने विश्वास पनि छ । कागले अमृत खाएको छ भन्ने मिथ छ । थुतुनोमा अमृत लागेको मुखले दुबोमा पुछेको हुनाले दुबो मर्दैन भन्ने विश्वास छ । कुकुरलाई उसको काम र वफादारिताका आधारमा सम्मान गर्छौं । गाईलाई लक्ष्मी, आमा वा जीवनदायी मानेर ढोग्छौँ भव्य रुपमा पूजा गर्छौं ।

देउसी भैलो, संगीत र तिहारबीचको सम्बन्धन

तिहारमा नाच्ने, गाउने र संगीत बजाउने तीनवटै काम एकसाथ हुन्छ । यसैले यो सुर र संगीतको चाड पनि हो । तिहारको भैली लय हालेर सुरैसँग गाउने गरिन्छ । महिलाहरूले ‘हरियो गोबरले लिपेको, हे औँसीको बारो’ भन्दै सरसफाइको कुराबाट भैली गीत सुरु गर्छन् । भैली राति गाइन्छ । यसको सामाजिक कारण के छ भने हाम्रा महिलालाई निर्धक्क रूपमा नाचगानमा भाग लिन कडाइ गरिन्छ । तर, तिहारको मौका पारेर उनीहरूलाई एक/दुई दिन भए पनि नाचगान गर्न छुट हुन्छ ।

भैली गीत दिदीबहिनीले आफ्ना दाजुभाइको भलो होस् भनेर गाइएको भन्ने एकथरी मत छ भने गाईको मात्र होइन, गोरुको पूजा गरेपछि देउसी गाउने चलन पनि तिहारमा छ । देउसी रे, देवश्री, देवताको आशिषसँग जोडिएको छ । पुरुष सदस्यले ‘देउसी रे’ भन्दै गीत गाएर देउसी खेल्छन् ।

देउसीसँगै भैली लोग्ने मान्छेले पनि गाउँछन् । तर, पुरुषले गाउने भैली लय हालेर वा लेघ्रो तानेर गाइँदैन । भट्याउँदै गाइन्छ । पुरुष–महिला दुवैले ‘हामी यसै आएनौँ, बलि राजाले पठाए, हे औँसी बारो गाई तिहार भैलो’ भनेर देउसी–भैलो खेल्छन् ।
१५औँ शताब्दीमा जुम्लामा बलि राजा भन्ने एकजना व्यक्ति थिए भन्ने भनाइ पनि छ । उनले नै देउसी र भैलोको सुरुवात गराएको हो भन्ने जनश्रुति समाजमा पाइन्छ ।

मृत्युबोध गराउने पर्व

मानिस एक वा अर्को किसिमले अकस्मात् मर्ने गर्छ । बिरामी भएर पनि मर्ने गर्छ । कोही समय पुगेर मर्छन् त कोही असामयिक तवरले मर्छन् । तर, मृत्युलाई कसरी ग्रहण गर्ने भन्नेमुख्य कुरा हो ।

एउटा पौराणिक कथा छ, यमुना र यमराजको । यमुना कहिलेकाहीँ मात्र दाइकहाँ आउने हुनाले दाइ यमराजले मीठो खुवाउने, राम्रो लगाउने गरेर बहिनीलाई प्रसन्न बनाउन खोज्थ्यो । यसो त हामी पनि परिवारमा धेरैपछि आफ्ना मान्छे भेट्दा वा दिदीबहिनीलाई घरमा बोलाउँदा मीठोमसिनो खुवाउने गर्छौं ।

यसपछि यमराज खुसी भएर वरदान माग भन्दा यमुनाले संसारका सबै दिदीबहिनीले दाजुभाइलाई टीका लगाऊन् भनेर मागिन् । यसैले तिहारमा आफ्ना दाजुभाइ दीर्घजीवी होऊन् भनेर दुवोको पानी र तेलले घेरेर ओखर फोर्दै सप्तरंगी टीका लगाइदिने चलन छ । यही पौराणिक कथनले भाइटीकाको थालनी भएको देखिन्छ । यसबाहेक विभिन्न स्थान विशेषमा भाइटीका कसरी सुरु भयो भन्ने आआफ्नै कथा छ ।

सम्पूर्णमा के देखियो भने यमपञ्चक भन्नेबित्तिकै मृत्युको हरहिसाब राख्ने कुरा जोडिन्छ । मृत्युका विविध रूप छन्, जस्तो असामयिक, सामयिक, दुर्घटना, विपत्ति आदि । तर, यमराजले पनि तिहारको औँसीको दिनमा जसले सफासुग्घर गर्छ र बत्ती बाल्छ, त्यस्ता मान्छेलाई मकहाँ लिएर नआउनू भनेका थिए भन्ने मिथ पनि हाम्रो समाजमा प्रचलित छ । यसरी तिहारमा हामी यमराजका दूतको पनि श्रद्धापूर्वक पूजा गर्छौं । जसले हामीलाई मृत्युबोध गर्न सिकाउँछ ।

भाई टिकामा लगाइने सप्तरंगी टिकाको महत्व


भाइतिहार (भाइ टीका) तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने टिका लगाइदिने र लगाउने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान, दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास तथा पौराणिक कथा रहेको पाइन्छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पनि रहेको पाइन्छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीतथा सयवत्रिको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता अनुसार तयार । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्गकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावना मिसिंदा शान्ति वर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् । हिन्दू धर्ममा टीकाको धेरै महत्व छ, पूजा-पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ। टीका विशेषत: रातो वा पहेलो रङ्गका लगाइन्छ। टीका निधारमा लगाइन्छ। तिहारमा लगाइने टीका सात रङ्गका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो। सात रङ्गका यी टीकालाई सप्तरङ्गी भनिन्छ। सतरङ्गी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ। यसबाट तीनवटा रङ्ग घरमा पनि तयार गर्न सकिन्छ। हरियो रङ्गको लागि हरियो घाँस पिनेर तयार गरिन्छ, सेतो रङ्ग चामल पिनेर र कालो रङ्ग कोइलाबाट वा बत्तीको कालिखबाट लिइन्छ ।

यसरी

मनोवैज्ञानिक दृष्टिले लक्ष्मी तथा सरस्वती आदि जस्ता देवीदेउताहरू मानव मनमस्तिष्कमा गहिरो ज्ञान राख्ने ऋषिमुनीहरू(प्राचीन वैज्ञानिकहरू)को एक महान् मनोवैज्ञानिक आविस्कार हो । यस्ता मनोवैज्ञानिक टेक्नोलोजीलाई नै चलाखीपूर्ण ढंगले धर्मसंस्कृतिमार्फत् जनमानसको जीवनशैलीमा ल्याइएको हो ।
लक्ष्मीपूजाको वैज्ञानिक तथा मनोवैज्ञानिक आधार भनेको नै न्यूरो–कण्डिसनिड्ड सिद्धान्त हो ।

यो सिद्धान्तलाई प्रसिद्ध मनोवैज्ञानिक पैवलवले कुकुरमा प्रयोग गरेर देखाएपछि यो सिद्धान्त ‘पैवलवको क्लासिकल कण्डिसनिड्ड सिद्धान्त’का नाउ“मा चर्चित भएको हो । त्यसैले शान्त मनले एकाग्र भएर धनकी देवी लक्ष्मीको पूजा प्रार्थना गर्नुको एक मात्र उद्देश्य धनमनस्थितिको मस्तिष्क पुनर्संरचना (बे्रन रिवाइरिंग) गर्नु हो । यो एकदम सम्भव र वैज्ञानिक कुरा हो ।

मानव मस्तिष्कमा एक असाधारण र अद्भूत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायुविज्ञानको भाषामा न्युरोप्ल्यास्टिसिटि भनिन्छ । मस्तिष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्तिष्क पुनर्संरचना सम्भव हुन्छ । मस्तिष्कको पुनर्संरचनामा मनको सबैभन्दा ठूलो हात हुन्छ । एक खुँखार डा“का रत्नाकर कसरी महर्षि ‘वाल्मिकी’ भए ? अगुंलीमाल जस्तो हत्यारा कसरी बुद्धको चेला बन्न पुग्यो ? के मस्तिष्क पुनर्संरचना बीना यो सम्भव थियो ? कदापि थिएन ।

सिद्धार्थ गौतम पनि जन्मिदै बुद्ध भएका होइनन्, ध्यानद्वारा मस्तिष्क पुनर्संरचना गरेर ‘महात्माबुद्ध’ भएका हुन् । अतः ध्यान मन प्रशिक्षणको एक सर्वोत्तम मनोवैज्ञानिक विधि हो । ध्यानको यही महत्वलाई बुझेर नै प्राचीन ऋषिमुनीहरूले धर्म र चाडपर्वका माध्यमबाट यसलाई मानिसको दैनिक जीवनमा ल्याएका हुन् । पूजापाठ गर्नु, प्रार्थना गर्नु, भजनकिर्तन गर्नु तथा निधारमा टीका लगाउनुको कारण पनि ध्यान नै हो । मनको प्रशिक्षण हो । निधारमा टीका लगाएपछि ध्यान कहा“ जान्छ, निधारमा । होइन र ?

🎊🎉💐यससँगै दोस्रो महान चाड तिहारको शुभकामना सबै सबैमा ।।🎉💐🌺

Leave a Reply

Your email address will not be published. Required fields are marked *