डेङ्गु नियन्त्रणका लागि पूर्वतयारी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेङ्गु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ । गर्मी मौसम सुरु भएसँगै डेङ्गुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो ।
गत वर्ष गर्मी मौसममा तनहुँ डेङ्गुबाट आक्रान्त बनेको भन्दै सङ्क्रमितको सङ्ख्या करिब सात हजार पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार डेङ्गुबाट जिल्लाभर चार जनाको मृत्यु भएको थियो ।
आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले पछिल्लो समय पालिकामा डेङ्गुको जोखिम बढिरहेकाले समयमै नियन्त्रण गर्न पूर्वतयारी थालिएको बताए । उनका अनुसार गत गर्मीमा यहाँका एक सयभन्दा बढी सङ्क्रमित भएका थिए ।
“गत वर्षको गर्मीमा डेङ्गुबाट जनधनको क्षति भएको थियो । अब वर्षात् सुरु हुने समय भएकाले स्थानीयमा सजगता अपनाउनुपर्ने अवस्था छ”, स्वास्थ्य शाखा प्रमुख उपाध्यायले भने, “लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी काम सञ्चालनमार्फत नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी यसको रोकथाम, नियन्त्रण र न्यूनीकरण गर्नुपर्छ ।”
डेङ्गु नियन्त्रणका लागि गाउँपालिकाले छवटै वडा कार्यालय, आठ स्वास्थ्य संस्था तथा सरोकारवाला निकायलाई ‘खोज र नष्ट गर अभियान’ सञ्चालन गर्न परिपत्र गरिसकेको छ ।
उपाध्यायले भने, “सबै वडा कार्यालय, सङ्घसंस्था, स्वास्थ्य संस्था, सरोकारवाला निकाय र आम जनसमुदायलाई उक्त अभियान सञ्चालन गर्न अनुरोध गरेका छौँ ।” उनका अनुसार यसक्रममा लामखुट्टेको बासस्थान खोजी गरी फूल पार्ने ठाउँ र लार्भा नष्ट गरिनेछ ।
अभियानका क्रममा आआफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नदिने, खाडल पुर्ने, टिनका डब्बा, थोत्रा टायर, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिनेलगायत लामखुट्टे नष्ट गर्ने विधिका बारेमा स्थानीयमा जनचेतना जगाउने काम थालिएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायको भनाइ छ ।
बिहान र साँझपख डेङ्गुको लामखुट्टे बढी सक्रिय हुने भएकाले सकेसम्म घरबाहिर नजाने, जानैपरे शरीर पूरै छोपिने किसिमका लुगा लगाउने, खेतबारी तथा पशुपालनसम्बन्धी काम गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको स्वास्थ्य शाखा कार्यालयले जनाएको छ ।
एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, घाँटी दह्रो हुने, वाकवाकी लाग्ने, पखाला लाग्नेलगायत स्वास्थ्यमा समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा परीक्षणका लागि जान आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए ।
गत गर्मी महिनामा डेङ्गु समस्याका रुपमा देखा परेकाले यसको अहिल्यैदेखि नै नियन्त्रण आवश्यक रहेकाले अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले गत गर्मी महिनाको सङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तहले पूर्वतयारी थाल्नुपर्ने बताए । उनका अनुसार गत गर्मीमा जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा डेङ्गु सङ्क्रमित भएका थिए । कूल सङ्क्रमितको ८० प्रतिशत व्यास नगरपालिकामा रहेका उनको भनाइ छ ।
डेङ्गुका लक्षण
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार १९, बिहीबार २२:३३पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो
कला, विचार/मनोरञ्जन२०८२ असार १९, बिहीबार २१:२१‘लडाइँ पहिचानको’ मंसिर ५ देखि देशभर, पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक
समाचार२०८२ असार १९, बिहीबार १८:४२नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान
समाचार२०८२ असार १९, बिहीबार १६:५१प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह