मुन्ना पात्र हिट भए पछि उस्तै भूमिका मात्र अफर आयो : रविन्द्र झा

काठमाडौं। चलचित्र ‘जात्रा’ मार्फत मुन्नाको रुपमा दर्शकसँग साक्षात्कार गरेका रवीन्द्र झा अहिलेका व्यस्त कलाकार हुन् । मुन्ना ठाकुर अहिले सिनेमा प्रेमी दर्शकको लागि परिचित नाम बनिसकेको छ ।
नेपाली चलचित्रका प्रायः निर्माता तथा निर्देशक उनलाई स-साना भूमिकामा अभिनय गराउन तत्पर छन् । तर, उनलाई चलचित्रमा स्थापित गर्ने ‘जात्रा’ शृङ्खलामा उनको भूमिका सशक्त छ । फडिन्द्र (विपिन कार्की) र जोयश (रवीन्द्रसिंह बानियाँ) सँग उनको समान्तर भूमिका छ ।
निर्देशक तथा लेखक प्रदीप भट्टराईले मरिहत्ते गरेर अभिनेता झालाई ‘जात्रा’मा ल्याए । मैथिली नाटक, रेडियोका लागि नाटक उत्पादन र सिनेमाको स-साना भूमिकामा रमाईरहेका अभिनेता झा अहिले पूर्ण रुपमा चलचित्रमै व्यस्त छन् । उनको मुन्ना अवतारलाई आउँदो चैत्र ९ गते ‘महाजात्रा’मा पुनः हेर्न पाउनेछन् ।

‘मुन्ना सोझो व्यक्ति हो । तर, उसको जिम्मेवारीले उसलाई प्रलोभनमा पर्न उत्प्रेरित गर्छ । मधेशबाट काठमाडौँ आएको मुन्नाको आवश्यकता बढ्दै गएपछि उसले साथीहरूसँग विविध काममा सहकार्य गरेको हो’, अभिनेता झाले भने । सुन र पैसा देखेर भाग्ने मुन्नालाई आवश्यकता र परिस्थितिले गडबड गर्न बाध्य बनाएपनि उसले कसैको हत्या वा नोक्सानी गर्ने नियत नभएको उनले बताए ।
यसपटक ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ रमाइलोसँगै संदेश मुलक बनेको उनले बताए । ‘सिनेमाले अघिल्ला शृङ्खला भन्दा बढी रमाइलो दिन्छ नै साथै यसले संदेश पनि दिन्छ । यो सिनेमामा सबै वर्गले आफ्नो कथा भेट्नुहुनेछ’, अभिनेता झाले भने, ‘मेरो भूमिकाले धेरै कुरालाई इङ्गित गरेको छ । मधेशबाट आएको पात्रले कसरी काठमाडौंमा सङ्घर्ष गरिरहेको छ भन्ने यसमा देख्न सकिन्छ ।’
‘नेपालमा कसैलाई कहिँ बस्न, व्यापार गर्न विभेद छैन । मुन्ना सपना बोकेर आएको थियो, उसलाई सुख दुखमा साथीहरूले साथ दिईरहेका छन् । यो पात्रले भन्न खोजेका त्यस्ता धेरै तथ्य छन्’, उनले भने । नाटकले पहिचान र अभिनय सिकाएको अभिनेता झालाई सिनेमाले दाम दिएको छ । उनी नाटकबाट कमाइ नहुने भाष्यमा सहमत छैनन् ।
एउटै किसिमको भूमिका वा ‘टाइप कास्ट’ भइरहेको महसुश गरेका अभिनेता झाले निर्देशक र निर्माताले ‘रिस्क’ लिन नचाहेको महसुश गरेका छन् । किनकि उनले नाटक, मैथली र भोजपुरी सिनेमामा नकारात्मकदेखि फरक भूमिका निर्वाह गरिसकेका छन् । तर, ‘जात्रा’ हिट भएपछि उनलाई उस्तै भूमिका मात्र अफर आयो ।
‘मैले भिलेनदेखि विभिन्न पात्रमा आफूलाई प्रस्तुत गरेको छु । तर, जात्राले दिएको पहिचानलाई अन्य मेकर्सले निरन्तरता दिन खोज्नु भो । मैले अभिनयलाई निरन्तरता दिनु थियो । दर्शकले पनि स्वीकार गरिरहनु भएकाले त्यसलाई फरक रुप दिन खोजेर देखिदा केहीमा टाइप कास्ट देखिएँ’, अभिनेता झाले भने ।
चलचित्र चैत ९ मा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुँदैछ । नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्ट खरिद गरेको छ । सिनेमामा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
सिनेमामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा संगीत, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का सिनेमाका मुख्य सहायक निर्देशक हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल









