‘बलिदान’ बाट समीर भट्ट प्रमुख भूमिकामा

काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन् । आसुसेन फिल्मस् ले भट्टको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा उनको प्रमुख भूमिका रहने जनाएको छ ।
समीर नेपाली चलचित्रमा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन् । समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समय लगाएर समीरलाई छनोट गरेको बताए ।
‘‘बलिदान’को कहानीमा एक पात्रका रूपमा युग पुरुषलाई छान्न भगीरथ प्रयास गरेका थियौँ। हाम्रो भूमिको यस्तो युग पुरुष जसले, परिवर्तनका नाममा जनतालाई बलि चढाउन लगाएर राज्यको अस्मिता लुटिरहेका कुटिलहरूको संहार गरोस्,’ पात्र छनोटको सङ्घर्ष सम्झँदै निर्देशक सेनले बताए, ‘अभिनेताका रूपमा युग पुरुष खोज्नु हामीलाई आइसल्यान्डमा सर्प खोज्नु जस्तो भएको थियो। बलिदानको युग पुरुषका लागि एक्सन, इमोसन, लुक्स र डाइलग चारै कलामा निपुर्ण कलाकार चाहिने थियो।’
‘एउटा भनाई छ, ‘दैवले तिमीले चिताउनु, म पुर्याउँछु भन्छ।’ काम प्रति लगाव भएपछि दैवले पनि खोजेको चिज जुराइदिने रहेछ। निकै दिनपछि हामीले भेट्टायौँ, हामीले खोजेका चारै गुण भएका युवा समीर भट्ट,’ सेन भन्छन्, ‘उनी दसौँ वर्षदेखि मुम्बईमा गुपचुप रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वका धेरै कक्षा र कार्यशालासँगै ठुलै तपस्या गरिरहेका रहेछन् । एकलव्यजस्तो गहन एकान्तमा रहेर कलाकारिताबारे उनले गरेको यो सङ्घर्ष, मेहनत र तपस्याले उनलाई बलिदानका लागि खरो उतारिदिएको छ।’
त्यसो त आसुसेन फिल्मस् ले हरेक चलचित्रमा नयाँ प्रतिभा खोजेर नेपाली चलचित्रमा देखिने अभाव पूर्ति गर्ने गरेको छ । आसुसेनका अध्यक्ष समेत रहेका निर्देशक सेन भन्छन्, ‘एकलव्यजस्ता समीर बलिदानका युग पुरुष त बन्ने नै भए, अब नेपाली चलचित्र जगतमा स्थापित हुनेछन् भन्ने कुरामा दुई मत छैन।’
देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन्। यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।
आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १०:०४प्रदर्शनको संघारमा ‘पार्वती’ : प्रिमियरमा भावुक बने दर्शक
समाचार२०८३ भाद्र ९, मंगलवार २०:३८प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १९:२९निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १८:५३छायांकन सुरु भएसँगै ६ देशमा बिक्री भयो ‘यानीमाया’को प्रदर्शन अधिकार









