पर्वतीय संग्रहालयमा हर्जाेगको आइस एक्स र सालिक

पोखरा ।
पर्यटन राजधानी पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा नयाँ आकर्षण थपिएको छ । ७५ वर्षअघि अन्नपूर्ण हिमाल प्रथम पटक आरोहण गर्ने मौरिस हर्जाेगको आइस एक्स (हिउँ काट्ने औजार) बिहीबार उनका छोरा माथियसले सङ्ग्रहालयलाई हस्तान्तरण गरे ।
स्विटजरल्यान्डको ओलम्पिक म्युजियमबाट ल्याइएको आइस एक्स अबको एक वर्ष यहाँ राखिनेछ । झ्यालबाट अन्नपूर्ण हिमाल देखिने सङ्ग्रहालय नै आइस एक्सका लागि सबैभन्दा उपयुक्त स्थान भएको माथियस बताउँछन् । अन्नपूर्ण आरोहणको हिरक महोत्सवमा सहभागी हुन सपरिवार नेपाल आएका माथियससहित संघीय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेसँगै हर्जाेगको पुस्तक ‘अन्नपूर्ण’को नेपाली अनुवादको आवरण अनावरणसमेत गरे ।
अन्नपूर्ण आरोहणको हिरक वर्षकै अवसरमा सङ्ग्रहालय परिसरमा मौरिस हर्जाेग, आङथार्के शेर्पा र वालुङ सोनाम शेर्पाको शालिक अनावरणसमेत गरिएको छ । आङथार्के अन्नपूर्ण आरोहण गर्ने पहिलो नेपाली हुन् भने वालुङ सोनाम मौरिसको आरोहण दलमा शेर्पा टोलीको नेतृत्वकर्ता थिए ।
सोही अवसरमा सङ्ग्रहालमा मौरिसको अन्नपूर्ण आरोहण समेटिएको अडियो, भिडियोसमेत प्रदर्शन गरिएको छ । अन्नपूर्ण प्रथम आरोहणको फोटो प्रदर्शनी पनि बिहीबारै सुरु भएको छ । फोटो र भिडियो अब सङ्ग्रहालयमै राखेर सबै आगन्तुकका लागि खुला गरिने सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताइन् ।
अन्नपूर्णमा हर्जाेगले आरोहणका दुःखसुख समेटेका छन् । सअघि २० भाषामा अनुदित भइसकेको यो पुस्तक हालसम्म एक करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ । कार्यक्रममा संघीय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल बुद्ध, वेद र हिमालका कारण विश्वमा परिचित रहेको बताए ।
प्रथम अन्नपूर्ण आरोहण पर्वतारोहण क्षेत्रको कोसेढुङ्गा रहेको जनाउँदै उहाँले जलवायु सङ्कटका कारण विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे । ‘माछापुच्छ्रे कालापत्थर जस्तो देखिन थाल्यो । हिमालले भोगेको यो असर पूरै पृथ्वीले भोग्नुपर्छ,’ उनले भने । पर्वतीय संग्रहालयमा बोटानिकल गार्डेन बनाउन प्रदेशसँग मिलेर काम गर्ने उनले वाचा गरे । पर्यटन राजधानीको नमुना गन्तव्यका रुपमा पर्वतीय सङ्ग्रहालयलाई विकास गरिने उनको भनाइ छ ।
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले गण्डकीका हिमालहरु आरोहणका लागि प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइने वाचा गरे । उनले आगामी आर्थिक वर्षबाट बोटानिकल गार्डेन बनाउन सुरु गरिने जानकारी दिए । ‘विश्वकै पर्यटकीय आकर्षण बनाउने गरी यहाँ बोटानिकल गार्डेन बनाउँछौँ । यसैपालि यसको निर्माण सुरु हुन्छ,’ उनले भने ।
नेपालका लागि फ्रान्सकी राजदूत भिर्गिनी कोर्टेभलले अन्नपूर्ण आरोहण इतिहासकै महत्वपूर्ण क्षण बनेको सुनाइन् । कार्यक्रममा नेपाल पर्वतारोहण संघ गण्डकी अध्यक्ष विकास गुरुङ, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पाहारी, पर्वतारोही पूर्णिमा श्रेष्ठ, विश्वकै १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोही गरिसकेका मिग्मा जि शेर्पा लगायतले बोलेका थिए ।
वर्षमा करिब सय देशका दुई लाखभन्दा बढी पर्यटक अवलोकन गर्न आउने यो संग्रहालयका सामग्रीलाई डिजिटाइजेसन गर्ने तयारी भएको छ । नेपाल पर्वतारोहण संघले सञ्चालन गरेको यो संग्रहालयलाई जाइकाको सहयोगमा डिजिटाइजेसन गर्न लागिएको हो । संघ अध्यक्ष निमानुरु शेर्पा मौरिस हर्जाेग वाल निर्माण गरी हरेक वर्ष जुन ३ मा पर्वतारोहण प्रतियोगिता गर्ने योजना सुनाउँछन् ।
‘हामी यसलाई महत्वपूर्ण र नमुना गन्तव्य बनाउने प्रयत्नमा छौँ । सबै तहका सरकार र सरोकारवालको सहयोगबिना यो सम्भव छैन,’ उनले भने । सो अवसरमा विश्व वातावरण दिवसको अवसरमा संग्रहालयल परिसरमा वृक्षारोपणसमेत गरिएको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18524, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ६, बुधबार २१:२१पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन
समाचार२०८३ श्रावण ६, बुधबार १३:४५विवाह उमेर हद बाल हितविपरीत: अन्तर्राष्ट्रिय कानुनअनुकूल संशोधन गर्न जोड
समाचार२०८३ श्रावण १, शुक्रबार २०:५४कास्कीमा जिल्ला प्रशासनको वार्षिक प्रगति सार्वजनिक: फेवातालकाे सुरक्षादेखि बजार अनुगमनसम्मका विषयमा प्रश्न
समाचार२०८३ श्रावण १, शुक्रबार २०:२३उच्च अदालत पोखरामा ७५ प्रतिशत मुद्दा फर्छयाैट, न्याय सम्पादनलाई थप प्रभावकारी बनाइने







