पोखरामा सुरु भयो ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल, पुलिस र न्यू डायमण्डको विजयी सुरुआत

पोखरामा सुरु भयो ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल, पुलिस र न्यू डायमण्डको विजयी सुरुआत

पोखरा । पोखरामा आजदेखी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्डहलमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै विजयी सुरुआत गरेको छ ।

यसैगरी दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लब विजयी भयो । पहिलो खेलमा पुलिसले २५–२१, २७–२५ र २५–१७ ले खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
यसैगरी दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लबले एभरेष्ट क्लबलाई २५–११, २५–१८ र २५–१० को सोझो सेटमा हराउन सफल भयो ।
खेलकुद अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धिको प्रतीक : अध्यक्ष प्रचण्ड
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धिको समेत प्रतीक बनेको बताउनुभयो ।
अध्यक्ष दाहालले आफ्नो प्रधानमन्त्रीकालमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नीति तथा योजना कार्यक्रमहरु बनाउने पहल गरेको स्पष्ट पारे ।

अध्यक्ष दाहालले भने,“नेपाली खेल क्षेत्र विकसित हुँदै गएको छ । मैले नीतिगत मात्र होइन खेलकुद क्षेत्रको नेतृत्वमा सफल व्यक्तिहरु ल्याएका कारणले अहिले नेपाली खेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा निकै स्थापित भएको छ ।”
उहाँले नेपाली खेलाडीहरुले विस्तारै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदकको वर्षा गर्ने गरेको र अहिले नेपालमा ऐन कानुनले पनि खेलाडीको जीवनलाई सुनिश्चित गर्ने पहल भएको बताए ।

अध्यक्ष दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेलामा भलिबललाई मन्त्रिपरिषद्बाट राष्ट्रिय खेल घोषणा गरेको स्मरण गर्दै उनले त्यसपछि देशभित्र भलिबल खेलको महत्व अझ बढेको उल्लेख गरे ।

“नेपालको भुगोल, संस्कृति, हावापानी र नेपालीजनसँग मेल खाने खेल भएकाले मन्त्रिपरिषद्बाट निर्णय गरेको गरिएको हो । त्यसपछि भलिबलको मान्यता राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा बढेको र पदक जित्ने सुरुआत भएको हो । ” दाहालले भने ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीले खेल खेलेरै आफ्नो जीवन निर्वाह गर्ने वातावराण् बनेको बताए ।

यो पनि पढ्नुहोस् :  पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरामा निरन्तर भइरहेका विभिन्न खेलकुदका प्रतियोगिताका कारणले पोखरा भ्रमण वर्ष २०२५ सफल बनेको बताए ।

आयोजक नेपाल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले भलिबल खेललाई अझ लोकप्रिय बनाउने र राष्ट्रियस्तरको प्रतियोगिता मार्फत महिला खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए ।

अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले महासंघले वर्षभरीनै वृहत् खेलकुद महोत्सवका रुपमा विभिन्न खेलकुदका प्रतियोगिताहरु सञ्चालन गरिरहेको जानकारी दिए ।

यही जेठ ३१ गतेसम्म पोखरा रङ्गशालाभित्रको बहुउद्धेश्शीय कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा नेपालका प्रमुख क्लब तथा टिमहरू सहभागी छन् ।

प्रतियोगितामा विभागिय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश टिम, एभरेष्ट भलिबल क्लब, न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र स्टेप रामपुर गरी छ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिता लिग तथा नकआउट चरणमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख, र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18569, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापामगर सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   2   =