कनेक्टिभिटीमा जोड दिंदै सकियो ‘जाउँ है पोखरा अभियान’

पोखरा । स्तरीय बस सेवा र हवाई सेवा मार्फत् पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् ।
होटल संघ पोखरा नेपालले गत जेठ २९ गतेबाट यही असार २ गतेसम्म पश्चिम नेपालका केही महत्वपूर्ण शहरहरुमा संचालन गरेको जाउँ है पोखरा अभियानको क्रममा उल्लेखित विषय उठेको थियो । व्यवसायीहरु आपसी सहकार्य गर्दै स्तरीय बस सेवा संचालन गर्न सकिने र हवाई सेवा कम्पनी र स्थानीय निकायसँग समन्वय गरी पश्चिम नेपालका मुख्य शहर र पोखरा जोड्ने गरी हवाई सेवा संचालन गरिनुपर्ने विषय कार्यक्रममा चर्चा गरिएको थियो ।
संघले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान अन्तर्गत यसपटक पाल्पा, वुटवल, नेपालगंज, सुर्खेत र दाङ (घोराही) मा अन्तरक्रिया र पत्रकार सम्मेलनहरु आयोजना गरिएका थिए । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पोखरासँग सिधा हवाई सेवा संचालन गर्ने विषय आफूले सम्वन्धित ठाउँमा राख्ने प्रतिवद्धता जनाए ।
आयोजक संघका अध्यक्ष एवं अभियानका संयोजक लक्ष्मण सुवेदीले पर्यटनका लागि पहुँच (कनेक्टिभिटी) पहिलो आबश्यकता भएको भन्दै स्तरीय वस सेवा र हवाई सेवा मार्फत् सातै प्रदेश जोड्ने संघको उद्देश्य रहेको बताए ।
देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएको र आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप अभियानलाई निरन्तरता दिइएको पनि उनले स्पष्ट पारे । पोखरा आउने पर्यटक मध्ये दुई देखि तीन प्रतिशत नेपाली हुने गरेकोमा अभियान संचालन पछि हाल त्यस्तो आँकडा ४० प्रतिशत पुगेको अध्यक्ष सुवेदीले बताए ।
दाङको घोराहीमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सिमा नाकामा भारतीय पर्यटकलाई चेकजाँच बढी भयो भन्ने गुनासो आउने गरेको स्मरण गराउँदै यसलाई सुधार गर्नेतर्फ ध्यान दिनुपर्ने भनाई राखे ।
उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबद्र्धनमा यो अभियान संचालन गरिएको हो । पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन अभियान सहयोगी हुने विश्वास गरिएको छ । पोखराको होटल क्षेत्रमा पाँच खर्ब भन्दा बढी हाराहारीको लगानी रहेको, एक हजार दुई सय होटलमा ४० हजार बेड रहेको र करिव २० हजार जनाले रोजगारी पाएको संघका अध्यक्ष सुवेदीले कार्यक्रममा जानकारी दिएका थिए ।
सुर्खेतमा आयोजि कार्यक्रममा उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमवहादुर शाही, बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका उपाध्यक्ष किरण पोखरेल, नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव गोविन्द खत्री र आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले भनाई राखेका थिए ।
यसैगरी घोराहीमा आयोजित कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डीसी, पर्यटन विज्ञ दीपेन्द्र पहारी, पत्रकारहरु सविन प्रियासन र विपुल पोखरेल, होटल व्यवसायी महासंघ दाङका अध्यक्ष इश्वरकुमार बुढामगर, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं हान दाङका अध्यक्ष नरेश श्रेष्ठले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन आयोजक संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18665, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








