‘एक्टिङ स्टार’मा उजागर भयो एक साहसी महिलाको प्रेम र समर्पणको जीवनगाथा

काठमाडौं। लोकप्रिय रियालिटी शो ‘एक्टिङ स्टार’मा सृजना सुवेदी र विवेक पंगेनीको वास्तविक जीवन घटनामा आधारित एक मार्मिक र प्रेरणादायी प्रस्तुति देखाइएको छ। सृजनाका श्रीमान् विवेकलाई ब्रेन क्यान्सर भएपछि उनले देखाएको माया, समर्पण र त्यागलाई प्रतियोगी नविना रानाभाटले सशक्त अभिनयमार्फत जीवन्त बनाइन्। नविनालाई अभिनयमा दीपेश खत्री र अनुप भण्डारीले साथ दिएका थिए।
विवेकको उपचारदेखि अन्तिम बिदाइसम्म सृजनाले देखाएको समर्पणले हजारौं दर्शकलाई भावुक बनाएको थियो। सोही भावनालाई नविनाले यति सजीव ढंगले प्रस्तुत गरिन् कि स्टुडियो नै स्तब्ध बन्यो। विशेषगरी अन्तिम दृश्यमा उनले विवेकलाई अन्तिम बिदाइ दिँदै गरेको क्षणलाई जसरी प्रस्तुत गरिन्, त्यसले सेटमा उपस्थित सबैलाई रोइरहन बाध्य बनायो। केही समय छायांकन समेत रोक्नु परेको जानकारी प्राप्त भएको छ।
यस प्रस्तुति अघि नविनालाई सृजना सुवेदीसँग प्रत्यक्ष भेट गराइयो। सो भेटका क्रममा सृजनाले सम्पूर्ण घटनाक्रम सुनाउँदै आफ्नो पीडादायक तर प्रेरणादायी कथालाई सार्वजनिकरूपमा प्रस्तुत गर्न अनुमति दिएकी थिइन्। शोको टिमले सोही आधारमा प्रस्तुति तयार गरेको थियो।
‘एक्टिङ स्टार’ले यस्ता यथार्थपरक जीवनकथाहरूलाई मञ्चमा ल्याउँदै गर्दा नेपाली टेलिभिजनमा वास्तविकता र संवेदनशीलताको नयाँ युगको सुरुआत गरेको देखिन्छ।
आयोजक महक मिडिया नेटवर्कका अनुसार शोमा नेपालका हिमाल, पहाड, तराई क्षेत्रका साथै भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल र मुम्बईबाट हजार भन्दा धेरै प्रतियोगीले अडिसन दिएका थिए। छनोट प्रक्रियापछि अहिले १३ जना उत्कृष्ट प्रतिस्पर्धी फाइनल चरणमा प्रवेश गरिसकेका छन्।
शो प्रत्येक हप्ता बुधबार र बिहीबार राति ९ बजे एपिवान एचडी टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रशारण भइरहेको छ।
नेपालभित्रबाट भोट गर्न ‘ओएसआर कनेक्ट’ एप डाउनलोड गरी ‘एक्टिङ स्टार’मा क्लिक गरेर मनपर्ने कलाकारलाई भोट गर्न सकिन्छ। विदेशबाट भोट गर्न ‘सिनेमाघर’ एप प्रयोग गर्न सकिनेछ।
विजेताले नगद २० लाख रुपैयाँसहित चलचित्रमा अवसर प्राप्त गर्नेछन्। फर्स्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
‘पहिलो एक्टिङ स्टार को हुने?’ अब यसको निर्णय दर्शककै हातमा छ, महक मिडिया नेटवर्कले जानकारी दिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल
समाचार२०८३ आश्विन २२, बिहीबार १८:४८पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
खेलकुद२०८३ आश्विन २२, बिहीबार १०:४९आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली









