सरकारको प्रवक्ताद्वारा ८६ जना विशिष्ट चलचित्रकर्मीलाई परिचय पत्र प्रदान

सरकारको प्रवक्ताद्वारा ८६ जना विशिष्ट चलचित्रकर्मीलाई परिचय पत्र प्रदान

काठमाडौँ । नेपाली चलचित्र उद्योगमा ३० वर्षभन्दा बढी योगदान पुर्याएका ८६ जना विशिष्ट चलचित्रकर्मीलाई संचार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट चलचित्रकर्मी परिचय पत्र प्रदान गरेका छन् ।

चलचित्र विकास बोर्डद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न विधामा न्यूनतम ३० वर्ष योगदान पुर्याएका कलाकार, निर्देशक, लेखक, प्राविधिकसहितका चलचित्रकर्मीलाई परिचय पत्र वितरण गरिएको हो । बोर्डले यसअघि नै योग्य चलचित्रकर्मीलाई परिचय पत्रका लागि आवेदन मागेको थियो र मागदावी पूरा भएका ८६ जनालाई परिचय पत्र प्रदान गरिएको हो ।

परिचय पत्र प्राप्त गर्ने चलचित्रकर्मीलाई रु १ लाख ५० हजार बराबरको स्वास्थ्य बीमा सुविधा बोर्डले नै उपलब्ध गराएको छ । यस अन्तर्गत उनीहरूलाई सो रकम बराबरको औषधोपचार खर्च सरकारले सुनिश्चित गर्नेछ ।

परिचय पत्र पाउने कलाकारमध्ये पुराना कलाकार विश्व बस्नेत, सुनिल थापा, उपेन्द्र तिमल्सिना, रामकृष्ण बजगाईदेखि लिएर रमेश उप्रेती, दीपकराज गिरी, दीपा श्री निरौला र जितु नेपालसम्म रहेका छन् । कार्यक्रममा संचारमन्त्री गुरुङका साथै मन्त्रालयकी सचिव राधिका अर्याल, चलचित्रसँग सम्बन्धित संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि र तीन सयभन्दा बढी चलचित्रकर्मीको उपस्थिति रहेको थियो ।

सम्बोधनका क्रममा मन्त्री गुरुङले सरकार अब चलचित्र क्षेत्रमा विशेष ध्यान दिन थालेको बताउँदै यसको विकासका लागि विभिन्न योजना अघि सारिएको जानकारी दिए । उनले भने, “फिल्म क्षेत्रको दिगो विकासका लागि सबै फिल्मकर्मी एकजुट हुनुपर्छ । साना–साना कामको थालनी भइसकेको छ, आगामी दिनमा आईटी र एआई जस्ता प्रविधिसँग अभ्यस्त हुनुपर्ने आवश्यकता छ ।”

उनले पछिल्लो समय सामाजिक सञ्जाल नियमनको विषयमा अदालतको निर्णय अनुसार दर्ता प्रक्रियालाई अनिवार्य गरिएको उल्लेख गर्दै, एक साताभित्र सामाजिक सञ्जाल दर्ता गर्ने अल्टिमेटम दिइएको जानकारीसमेत दिए । साथै नेपाल सरकारले असोज १६ गतेलाई चलचित्र दिवस घोषणा गरिसकेको र यसलाई धुमधामका साथ मनाउन निर्देशनसमेत गरे ।

यो पनि पढ्नुहोस् :  ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान

त्यस्तै, कार्यक्रमको समापन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफू पदमा आएपछि १० महिनामा बोर्डको ९३ प्रतिशत बेरुजु फछ्र्यौट भएको र ३३ वटा काम अनलाइन माध्यमबाट दैनिक सञ्चालन भइरहेका बताए । उनले थपे, “६० वर्षदेखि बन्न नसकेको इनडोर फिल्म स्टुडियो निर्माण सुरु भएको छ, ५६ वर्षदेखि नआएको चलचित्र ऐन संसदको माथिल्लो सदनसम्म पुगेको छ, र १६ वर्षदेखि अलपत्र परेको बक्स अफिस प्रणाली सञ्चालनमा आएको छ ।”
परिचय पत्रलाई चलचित्रकर्मीको पहिचान र सम्मानको प्रतीकका रूपमा सरकारले आधिकारिक रुपमा प्रदान गरेको उनले बताए ।

विशिष्ट चलचित्रकर्मीको परिचय पत्र पाउने फिल्मकर्मीको विवरण
हालसम्म विशिष्ट चलचित्रकर्मीको परिचय पत्र पाउने फिल्मकर्मीको विवरण

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   5   =