बेथिति र स्वार्थी व्यवस्थामाथि व्यङ्ग्य गर्दै ‘भाग भेडा भाग’

नयाँ पुस्ताका कलाकारको ऊर्जा र सामूहिक प्रयासमा तयार भएको ‘भाग भेडा भाग’
सेलिब्रेटी नेपाल । मानिस आफूलाई सृष्टिको सर्वश्रेष्ठ प्राणी ठान्छ। नियम बनाउने, व्यवस्था सञ्चालन गर्ने र अरूमाथि शासन गर्ने अधिकार पनि आफूमै निहित रहेको विश्वास गर्छ। तर, जब मानिसले निर्माण गरेको व्यवस्था नै स्वार्थपूर्तिको माध्यम बन्छ, तब त्यसको असर अरूमा मात्र होइन, स्वयं मानिसकै अस्तित्वमा समेत पर्न थाल्छ। मानवीय प्रवृत्ति, शक्ति, स्वार्थ र व्यवस्थाभित्र मौलाएका विसङ्गतिमाथि यस्तै तीखो व्यङ्ग्य प्रस्तुत गर्ने नाटक हो ‘भाग भेडा भाग’।
काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको मण्डला थिएटरमा मञ्चन भइरहेको यस नाटकले मानिस र जनावरको काल्पनिक संसारमार्फत समकालीन समाजको यथार्थलाई उजागर गर्ने प्रयास गरेको छ।
अतियथार्थवादी शैलीमा तयार पारिएको नाटकमा जनावरहरू खोरभित्र थुनिएका छन्। उनीहरूको जीवन मानिसले बनाएका नियम र नियन्त्रणमा सीमित छ। आफूलाई मालिक ठान्ने मानिस भने त्यही व्यवस्थाको आडमा आफ्नो स्वार्थ पूरा गरिरहेको हुन्छ। तर, सधैँ अरूको आदेश र नियन्त्रणमा बस्दै आएका जनावरले जब आफ्नो अस्तित्व र शक्ति पहिचान गर्न थाल्छन्, तब स्थापित व्यवस्था नै चुनौतीमा पर्न थाल्छ। जनावरहरूको यही चेतना र विद्रोह नाटकको मूल कथ्य बनेको छ।
शीर्षक सुन्दा ‘भाग भेडा भाग’ जनावरहरूको कथा जस्तो लाग्न सक्छ। तर, नाटकमा प्रस्तुत भेडा तथा अन्य जनावर केवल पात्रका रूपमा सीमित छैनन्। उनीहरू समाजका कमजोर, शोषित र सधैँ नियन्त्रणमा राखिएका वर्गका प्रतीक हुन्। जनावरमाथि शासन गर्ने मानिसको व्यवहारले मानिस र जनावरबीचको भिन्नतामाथि नै प्रश्न उठाउँछ। कतिपय दृश्यमा जनावरहरू मानिसभन्दा बढी विवेकशील देखिन्छन् भने मानिसकै व्यवहार जनावरभन्दा निकृष्ट लाग्छ।
नाटकले विशेषगरी विकास र समृद्धिका नाममा अघि सारिने योजना तथा तिनको कार्यान्वयनका क्रममा हुने बेथिति, अनियमितता र स्वार्थको खेलमाथि व्यङ्ग्य गरेको छ। जनताको हितका लागि निर्माण गरिएका नियम, नीति र प्रणालीलाई तिनकै आडमा लाभ लिनेहरूले कसरी आफ्नो स्वार्थअनुकूल प्रयोग गर्छन् भन्ने विषयलाई नाटकले प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।

बाहिरबाट बलियो र व्यवस्थित देखिने प्रणालीभित्रै स्वार्थ, झूट र बेइमानी लुकेको हुन सक्ने यथार्थलाई नाटकले उजागर गर्छ। व्यवस्था आफैँमा खराब हुन्छ कि त्यसलाई सञ्चालन गर्ने मानिसको नियतले विकृत बनाउँछ भन्ने प्रश्न पनि यसले उठाएको छ।
काल्पनिक संसारलाई यथार्थ समाजसँग जोडेर प्रस्तुत गर्नु नाटकको एउटा महत्त्वपूर्ण पक्ष हो। जनावरको संसारमार्फत मानवीय प्रवृत्ति र सामाजिक विसङ्गतिको चित्रण गरिएकाले दर्शकले मञ्चमा देखिएका पात्र र घटनालाई आफ्नै समाज, राजनीतिक परिवेश र दैनिक जीवनसँग जोडेर बुझ्न सक्छन्। यसरी नाटकको व्यङ्ग्य मञ्चमा मात्र सीमित नरही दर्शकलाई आफ्नै सोच र व्यवहारमाथि समेत पुनर्विचार गर्न प्रेरित गर्छ।
मण्डला थिएटरको बीसौँ ब्याचका प्रशिक्षार्थी कलाकारहरूको सामूहिक प्रस्तुति रहेको यस नाटकको लेखन तथा निर्देशन संयोग गुरागाईंले गरेका हुन्। उनी स्वयं मण्डलाको दोस्रो ब्याचका विद्यार्थी हुन्। नयाँ पुस्ताका कलाकारसँग सहकार्य गर्दै परम्परागत कथन शैलीभन्दा फरक स्वाद दिने उद्देश्यले नाटक तयार पारिएको निर्देशक गुरागाईं बताउँछन्।
नाटकमा क्रिस बम, अनिता थापा, राजेश सेन्चुरी, सन्ध्या नेपाल, यश श्रेष्ठ, महेश गिरी, राजाराम गौतम,अंकित सिंह हमाल, निखिला चापागाईं, अस्मिता तामाङ, र आकाश केसीलगायत कलाकारले अभिनय गरेका छन्। मञ्च परिकल्पना संयोग गुरागाईंको रहेको नाटकमा संगीत संयोजन महेन्द्र राज बाठाले गरेका छन्। त्यस्तै, प्रकाश परिकल्पना उमेश तामाङ तथा मल्टिमिडियातर्फ प्रतीक राज खड्का, सुजन धिमिरे र अमिर ताम्राकारले काम गरेका छन्।
नयाँ पुस्ताका कलाकारको ऊर्जा र सामूहिक प्रयासमा तयार भएको ‘भाग भेडा भाग’ मनोरञ्जनसँगै सामाजिक तथा व्यवस्थापकीय विसङ्गतिमाथि प्रश्न उठाउने नाटक हो। यसले मानिसलाई मालिक र अरूलाई अधीनस्थ ठान्ने सोचमाथि व्यङ्ग्य गर्दै व्यवस्था निर्माण गर्ने र सञ्चालन गर्नेहरूको जिम्मेवारी तथा नियतमाथि समेत प्रश्न गर्छ।
अन्ततः नाटकले दर्शकसामु एउटा गम्भीर प्रश्न छाड्छ– खोरभित्र थुनिएका जनावरहरू स्वतन्त्र हुन खोज्दा दोषी को हुन्छ? खोर निर्माण गर्ने मालिक, खोरभित्रका नियम वा ती नियमलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्ने व्यवस्था? यही प्रश्नको जवाफ खोज्न दर्शकलाई सोच्न बाध्य बनाउनु नै ‘भाग भेडा भाग’को मुख्य विशेषता हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ कार्तिक १७, सोमबार २१:०५चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
समाचार२०८३ कार्तिक १७, सोमबार २०:३८चितवनलाई ५ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी
समाचार२०८३ कार्तिक १७, सोमबार १९:१४एड्भान्स एकेडेमीमा आजदेखि खेलकुद सप्ताह सुरु
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक १७, सोमबार ११:२३व्यवसायसँगै कला क्षेत्रमा पहिचान बनाउँदै बिक्रम खड्का









