टोकनचौरमा कृषि क्रान्ति: अनुसन्धान केन्द्रको प्रविधिले फेरिँदै मगर बस्तीको मुहार

स्याङ्जा । स्याङ्जाको गल्याङ्ग नगरपालिका वडा नं. २ स्थित टोकनचौर यतिबेला कृषि अनुसन्धान र उत्पादनको नयाँ केन्द्रका रूपमा उदाउँदै गएको छ। समुन्द्र सतहदेखि ५५० मिटरको उचाइमा अवस्थित यो क्षेत्रलाई बागवानी अनुसन्धान केन्द्र, मालेपाटन पोखराले ‘बाह्य अनुसन्धान स्थल’ (Outreach Site) का रूपमा विकास गरेपछि यहाँको कृषि प्रणालीमा आधुनिक मोड आएको हो।
बागवानी अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत सरोज अधिकारीका अनुसार, केन्द्रले विकास गरेका नवीन प्रविधिहरूलाई किसानको खेतबारीमै पुगेर प्रमाणीकरण गर्ने उद्देश्यले यहाँ प्रदर्शन (Demonstration) राखिएको छ। अधिकारीले भन्नुभयो, “हामीले किसानहरूकै सहभागितामा नयाँ जातका बालीहरूको परीक्षण गरिरहेका छौँ। प्राविधिकहरूको प्रत्यक्ष उपस्थितिमा हुने यस्ता सहजीकरणले कृषकहरूलाई व्यावसायिक बन्न थप हौसला मिलेको छ।”

तराई र मधेशसँग मिल्दो हावापानी भएको टोकनचौरमा हाल केन्द्रले सिफारिस गरेका आलु, गहुँ, रायोको साग, हिउँदे सिमी, राज्मा, भन्टा र म्याकाडेमिया नट जस्ता बालीहरूको सफल खेती भइरहेको छ। यहाँ बसोबास गर्ने २७ घरधुरी मगर समुदायका कृषकहरूले उन्नत जातका बीउ र वैज्ञानिक तरिका अपनाएपछि उत्पादनमा उल्लेख्य वृद्धि भएको अनुभव सुनाएका छन्। पहिले खेती गर्ने तरिकामा अन्योलमा रहेका किसानहरू अहिले केन्द्रको सहयोग र सल्लाह पाएपछि उत्साही देखिएका छन्।

सफलताका बाबजुद टोकनचौरका किसानहरूले केही गम्भीर समस्याहरू पनि झेलिरहेका छन्। स्थानीय किसान टुक बहादुर सारुका अनुसार पछिल्लो समय दुम्सी, मृग र मुसाले बालीनालीमा ठूलो क्षति पुर्याइरहेका छन्। “मेहनत गरेर उब्जाएको बाली वन्यजन्तुले सखाप पारिदिँदा समस्या भएको छ,” सारुले गुनासो गर्नुभयो।

यसका साथै, उर्वर भूमि भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा खेती विस्तारमा बाधा पुगेको छ। उत्पादित वस्तुलाई बजारसम्म पुर्याउन सडकको अवस्था जीर्ण हुनु अर्को मुख्य चुनौतीको रूपमा देखिएको छ। सडक स्तरोन्नति नहुँदा किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउन कठिनाइ भइरहेको बताएका छन्।
बागवानी अनुसन्धान केन्द्र मालेपाटन पोखराबाट प्राविधिक सहयोग र उन्नत बीउ प्राप्त भएपछि उत्साहित बनेका टोकनचौरका कृषकहरू अब स्थानीय सरकारले सिँचाइ र सडक पूर्वाधारमा ध्यान दिने आशामा छन्। कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको यो क्षेत्रलाई व्यवस्थित गर्न सके गल्याङ्ग नगरपालिका कै आर्थिक समृद्धिमा यसले ठूलो टेवा पुर्याउने देखिन्छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









