१४ औं पोखरा महोत्सवको समिक्षा

पोखरा ।
१४औँ संस्करणको पोखरा महोत्सवको समीक्षा बैठक सम्पन्न भएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा गत पुस २९ गतेदेखि माघ ११ गतेसम्म पोखरास्थित अमरसिंह खेल मैदानमा आयोजना गरिएको महोत्सव भव्य तथा सभ्य रूपमा सम्पन्न भएको निष्कर्ष बैठकले निकालेको हो ।
सो अवसरमा बोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले १४औँ पोखरा महोत्सव सम्पूर्णको साथ र सहयोगकै कारण भव्य र सभ्य ढंगले सम्पन्न भएको बताए। युनाइटेड क्लबको सामाजिक कार्यलाई सबैले नजिकबाट नियालेका कारण महोत्सवले १४औँ संस्करण पार गर्दै १५औँ संस्करणतर्फ अग्रसर भएको उनको भनाइ थियो ।
त्यसैगरी, क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले पोखरा महोत्सव पोखराको मात्र नभई नेपालकै उत्कृष्ट महोत्सवका रूपमा स्थापित भएको उल्लेख गर्दै सबैको साथ र सहयोग प्राप्त भएको बताए । उनले क्लबका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य तथा सल्लाहकारहरूको दिनरातको खटाइका कारण महोत्सव सफल बनेको स्पष्ट पारे ।
क्लबका पूर्व अध्यक्ष लालकाजी गुरुङले हाल देखिएका कमी–कमजोरी सुधार गर्दै आगामी महोत्सवको तयारीमा जुट्नुपर्नेमा जोड दिए । अर्का पूर्व अध्यक्ष सुकबहादुर गुरुङले १४औँ संस्करणको महोत्सव अघिल्ला संस्करणहरूको तुलनामा पृथक र आकर्षक रहेको बताए ।
महोत्सवका सल्लाहकार बलराम ढुंगानाले सामूहिक प्रयासकै कारण महोत्सव सफलतापूर्वक सम्पन्न भएको धारणा राखे। त्यस्तै, अर्का सल्लाहकार सुवेदार जसबहादुर गुरुङले युनाइटेड क्लब युवा अवस्थामै रहेर पनि पोखरामै उत्कृष्ट महोत्सव आयोजना गर्न सफल भएको बताए ।
उनले हरेक महोत्सवमा १० हजार रुपैयाँ तथा दीपावलीका अवसरमा ५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक कार्यलाई निरन्तरता दिन सल्लाहकारहरूको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा प्रथम उपाध्यक्ष शान्तबहादुर थापा, महोत्सव सल्लाहकार कृष्णबहादुर थापा, स्वास्थ्य उपसमिति संयोजक नरहरि पनेरु तथा स्टेज संयोजक पूर्णकुमार श्रेष्ठलगायतले महोत्सव सफल बनाउन क्लबका सबै पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य तथा सल्लाहकारहरूको महत्वपूर्ण योगदान रहेको बताएका थिए ।
युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने क्लबका महासचिव दिनेश सुनारले कार्यक्रम सञ्चालन गरेका थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21241, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ८, शुक्रबार २२:३२समाचार लेखेकै भरमा पत्रकार सुमन ढुंगानालाई धम्की, प्रेस चौतारी कास्कीको कडा आपत्ति
समाचार२०८३ श्रावण ८, शुक्रबार ०६:२७गण्डकीका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री काकीको १०० दिने उपलब्धि सार्वजनिक
समाचार२०८३ श्रावण ६, बुधबार २१:२१पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन
समाचार२०८३ श्रावण ६, बुधबार १३:४५विवाह उमेर हद बाल हितविपरीत: अन्तर्राष्ट्रिय कानुनअनुकूल संशोधन गर्न जोड






