कान्समा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्किएको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामासहितको टोलीलाई नौमती बाजा बजाउँदै फूलमाला र शुभकामनासहित स्वागत गरिएको हो।
कान्स फिल्म फेस्टिभल २०२६ अन्तर्गत ‘अन सर्टेन रिगार्ड’ विधामा सहभागी ‘एलिफेन्ट्स इन द फग’ ले प्रतिष्ठित जुरी पुरस्कार जित्दै नेपाली चलचित्र इतिहासमा नयाँ अध्याय थपेको छ। कान्सको अफिसियल सेलेक्सनमा छनोट भएको पहिलो नेपाली फिचर फिल्मका रूपमा यो उपलब्धिलाई नेपाली चलचित्र क्षेत्रले ऐतिहासिक कोसेढुंगाका रूपमा लिएको छ।
फिल्मले यससँगै ध्वनि सिर्जनाका लागि प्रदान गरिने ‘प्रि डे ला मेयुर क्रियासियोँ सोनोरे २०२६’ (बेस्ट साउन्ड क्रिएसन अवार्ड) समेत प्राप्त गरेको छ। ला सेमेन दु सोन संस्थाद्वारा अन सर्टेन रिगार्ड चयनअन्तर्गत प्रदान गरिएको उक्त सम्मान फिल्मको ध्वनिको बलियो प्रस्तुति, लय, संगीतात्मकता र भावनात्मक प्रभावका आधारमा प्रदान गरिएको जनाइएको छ।
स्वागत कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियासहित चलचित्र क्षेत्रका १४ संघ–संस्थाका प्रतिनिधि, चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। चलचित्र निर्देशक समाज र कलाकार संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू पनि ब्यानरसहित स्वागत कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रममा मन्त्रीद्वयले फिल्म टोलीलाई बधाई दिँदै यस उपलब्धिले नेपाली चलचित्र र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवपूर्ण पहिचान दिलाएको बताउनुभयो। सञ्चारमन्त्री तिमिल्सिनाले फरक धारका सिनेमालाई राज्यले प्रोत्साहन गर्ने नीति अघि बढाइने उल्लेख गर्नुभयो भने संस्कृति तथा पर्यटनमन्त्री पौडेलले चलचित्रकर्मीहरूलाई मुलुकका अवैतनिक सांस्कृतिक दूतका रूपमा चित्रण गर्नुभयो।
सूचना तथा सञ्चार मन्त्रालयले चाँडै विशेष कार्यक्रममार्फत फिल्म टोलीलाई सम्मान गर्ने तयारी गरेको जनाएको छ। चलचित्र विकास बोर्डले पनि यसै साता सम्मान कार्यक्रम आयोजना गरी टोलीलाई दुई लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको छ।
यस वर्ष नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको सहकार्यमा पहिलोपटक कान्स फिल्म फेस्टिभलमा आधिकारिक नेपाली स्टल स्थापना गरिएको थियो। यद्यपि, विदेश भ्रमणसम्बन्धी सरकारी नीतिगत कडाइका कारण दुवै निकायबाट प्रत्यक्ष प्रतिनिधि पठाउन नसकिएपछि स्थानीय साझेदारमार्फत स्टल व्यवस्थापन गरिएको थियो।
‘एलिफेन्ट्स इन द फग’ को यो सफलताले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ आत्मविश्वास दिएको छ। कान्सजस्तो प्रतिष्ठित फेस्टिभलमा प्राप्त जुरी पुरस्कार र ध्वनि सिर्जनासम्बन्धी अन्तर्राष्ट्रिय सम्मानले नेपाली सिनेमाको कथ्य, शिल्प र प्राविधिक क्षमतालाई विश्वसामु थप मजबुत रूपमा प्रस्तुत गरेको चलचित्रकर्मीहरूको विश्वास छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार २०:१८जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १८:०२प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २९, शुक्रबार १६:०४दैलेख अस्पतालमा विशेषज्ञ सेवा « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १५:०९पल शाहको निर्माणमा ‘यानीमाया’को छायांकन सुरु » Celebrity Nepal









