भुजुङमा ACAP को पहलमा जैविक विविधता संरक्षणदेखि होमस्टे, चिया उद्योग र पर्यटन प्रवर्द्धनसम्म

भुजुङमा ACAP को पहलमा जैविक विविधता संरक्षणदेखि होमस्टे, चिया उद्योग र पर्यटन प्रवर्द्धनसम्म

लमजुङ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) को इलाका संरक्षण कार्यालय भुजुङले संरक्षण, पर्यटन प्रवर्द्धन तथा स्थानीय समुदायको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्व्होलासोथार गाउँपालिका–४ मा अवस्थित भुजुङ गाउँ प्राकृतिक, सांस्कृतिक तथा जैविक विविधताको दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित छ।

भुजुङ गाउँमा संरक्षणमुखी गतिविधिको थालनी स्थानीय समाजसेवी देवमान गुरुङको पहलमा वृक्षारोपण कार्यक्रमबाट भएको थियो। इलाका संरक्षण कार्यालय भुजुङका प्राकृतिक स्रोत संरक्षण (रेन्जर) विज्ञान जी.सी.का अनुसार ACAP को समन्वय र स्थानीय समुदायको सक्रिय सहभागितामा यस क्षेत्रमा वृक्षारोपण तथा प्राकृतिक स्रोत संरक्षणका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

उनका अनुसार समुदायलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यले उक्त क्षेत्रमा खन्यु, नेमारो, लप्सी, दालचिनी लगायत पशुपालन र आयआर्जनमा उपयोगी विभिन्न प्रजातिका बिरुवाहरू वृक्षारोपण गरिको थियो । त्यस क्षेत्र संरक्षणका लागि ACAP ले फेन्सिङ तारबार निर्माणमा समेत आर्थिक सहयोग गर्दै आएको छ। वृक्षारोपणको अवधारणा ल्याएर समुदायमा योगदान पुर्‍याएका दिवंगत देवमान गुरुङको योगदानलाई कार्यालयले सधैँ स्मरण गर्ने गरेको जी.सी.ले बताए।

भुजुङ क्षेत्र पशुपालन, विशेषगरी भेडा तथा बाख्रा पालनका लागि पनि परिचित छ। बासुदेव न्यौपानेका अनुसार पशु स्वास्थ्य संरक्षणका लागि भेडा तथा बाख्रालाई औषधीय घोलमा डुबाएर उपचार गर्ने ‘डिपिङ’ प्रविधि प्रयोग हुँदै आएको छ। यस विधिबाट जनावरको शरीरमा लाग्ने उपियाँ, जुम्रा, लुतो तथा अन्य परजीवी कीराहरू नष्ट हुने भएकाले पशुहरू स्वस्थ रहने विश्वास गरिन्छ। विगत लामो समय देखि ACAP ले सामुदायिक डिप ट्याङ्क निर्माण, मर्मतसम्भार तथा फेन्सिङ कार्यमा आर्थिक सहयोग प्रदान गर्दै आएको न्यौपानेले बताए।

भुजुङ क्षेत्रमा पाइने पिनालिया सुनाखरी यस क्षेत्रको अर्को विशेषता हो । न्यौपानेका अनुसार यो दुर्लभ तथा रैथाने जंगली सुनाखरीको प्रजाति हो, जुन प्रायः रुखका हाँगामा साथै ओसिला डुङ्गाहरुमा उम्रिने गर्छ। यसलाई जैविक विविधताको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।

यो पनि पढ्नुहोस् :  सुची दर्ता गर्ने सम्बन्धि सूचना !

भुजुङ नजिकै रहेको प्राकृतिक घिम्चे झरना पछिल्लो समय पर्यटकहरूको आकर्षण केन्द्र बनेको छ। घना वनजंगल र जैविक विविधताले भरिएको वातावरणबीच रहेको यो झरना करिब १,६२५ मिटर उचाइबाट झर्ने गरेको विज्ञान जी.सी.ले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा ACAP को करिब दुई लाख रुपैयाँ आर्थिक सहयोगमा झरनासम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ। यसको मुख्य उद्देश्य भुजुङ आउने पर्यटकहरूको बसाइ अवधि लम्ब्याउनु रहेको उनले बताए।

झरना क्षेत्रको अर्को आकर्षण भीर मौरीको मह संकलन परम्परा हो। विशेषगरी वैशाख–जेठ महिनामा सञ्चालन हुने यो साहसिक र जोखिमपूर्ण कार्य अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरू भुजुङ पुग्ने गरेका छन्। मौरीको संरक्षणका लागि झरना आसपास आगो बाल्न तथा अवैध गतिविधि गर्न निषेध गरिएको छ। साथै पर्यटकहरूको सुविधाका लागि प्रतिक्षालय समेत निर्माण गरिएको छ।

यसैबीच, ACAP अन्तर्गत २०५१ सालदेखि सञ्चालनमा रहेको डे केयर सेन्टर स्थानीय समुदाय, विशेषगरी महिलाहरूका लागि महत्वपूर्ण सहयोगी बनेको छ। इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोदराज रेग्मीका अनुसार स्थानीय महिलाहरू कृषि, घाँसदाउरा तथा अन्य घरेलु कार्यमा व्यस्त हुने भएकाले बालबालिकाको हेरचाह सहज बनाउन डे केयर सञ्चालन गरिएको हो। हाल उक्त केन्द्रमा १२ जना बालबालिकाले सेवा लिइरहेका छन्।

भुजुङको पर्यटन विकासमा होमस्टे कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ। प्रमुख रेग्मीका अनुसार २०६६ सालमा १२ वटा होमस्टेबाट सुरु भएको कार्यक्रम हाल विस्तार भएर करिब ३३ वटा होमस्टे सञ्चालनमा पुगेका छन्। होमस्टे सञ्चालकहरूलाई पाहुना सत्कार, सरसफाइ, खाद्य स्वच्छता तथा स्थानीय परिकारको प्रस्तुतीकरण सम्बन्धी तालिम प्रदान गरिँदै आएको छ। चालु आर्थिक वर्षमा ACAP को आयोजनामा CTEVT का प्राविधिकहरू मार्फत ५० भन्दा बढी परिकार बनाउन सक्ने गरि ३ दिनको तालिम सञ्चालन गरिएको उनले बताए।

भुजुङमा रहेको परम्परागत गुरुङ संग्रहालय पनि पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। ACAP, स्थानीय समुदाय, पर्यटन व्यवस्थापन उपसमिति, आमा समूह, युवा क्लब तथा विभिन्न सरकारी निकायहरूको सहकार्यमा स्थापना गरिएको संग्रहालयमा गुरुङ समुदायको इतिहास, संस्कृति, परम्परागत जीवनशैली तथा प्राचीन सामग्रीहरू संरक्षण गरिएको छ। संग्रहालयमा गुरुङ पोशाकको अवलोकन तथा प्रयोगको सुविधा समेत उपलब्ध रहेको छ। गुरुङ पोशाक पर्यटकका लागि रु २०० र प्रवेश शुल्क रु २५ रहेको छ।

यो पनि पढ्नुहोस् :  आत्महत्याका समाचार तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत गर्न आग्रह

ऊर्जा क्षेत्रमा पनि भुजुङले उदाहरणीय सफलता हासिल गरेको छ। राष्ट्रिय प्रसारण लाइन नपुगेको अवस्थामा २०५६ सालमा ACAP र विभिन्न दातृ निकायहरूको सहयोगमा मिदिम खोलाबाट ८० किलोवाट क्षमताको लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याइएको थियो। यसले गाउँलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

त्यस्तै, सामुदायिक चिया बगान तथा चिया प्रशोधन केन्द्र भुजुङको आर्थिक विकास र पर्यटन प्रवर्द्धनको अर्को आधार बनेको छ। प्रमुख रेग्मीका अनुसार ACAP को पहल र प्राविधिक सहयोगमा २०५७ सालदेखि चिया खेती सुरु गरिएको थियो। स्थानीय समुदाय, आमा समूह तथा पर्यटन व्यवस्थापन उपसमितिको संयुक्त स्वामित्वमा सञ्चालन भइरहेको चिया बगानमा उत्पादन हुने चिया शतप्रतिशत अर्गानिक रहेको छ।

पर्यटकहरूले चिया बगानमा घुम्ने, फोटो तथा भिडियो खिच्ने र स्थानीय महिलाहरूले चियाका मुना टिपिरहेको दृश्य अवलोकन गर्न रुचाउने गरेका छन्। उत्पादन बढ्दै गएपछि २०७३ सालमा ACAP को सहयोगमा आधुनिक चिया प्रशोधन मेसिन जडान गरिएको थियो। चालु आर्थिक वर्षमा चिया उद्योगका लागि ड्रायर, प्याकेजिङ मेसिन लगायतका उपकरण खरिद गर्न ACAP ले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको प्रमुख रेग्मीले जानकारी दिए।

भुजुङमा फोहोर व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको छ। आमा समूह, अन्नपूर्ण संरक्षण व्यवस्थापन समिति तथा स्थानीय बासिन्दाहरूको सक्रियतामा फोहोर संकलन तथा वर्गीकरण गरिँदै आएको विज्ञान जी.सी.ले बताए। उनका अनुसार कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गरिन्छ भने बोतल तथा फलामजन्य वस्तुहरू पुनः प्रशोधनका लागि पोखरा पठाइने गरिएको छ।

प्रमुख रेग्मीका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भुजुङ तथा घलेगाउँ क्षेत्रमा खानेपानी, मन्दिर, गुम्बा, आमा समूह भवन लगायत विभिन्न पूर्वाधार विकास तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा पनि निरन्तर सहयोग गर्दै आएको छ। संरक्षण, पर्यटन र सामुदायिक विकासलाई सँगसँगै अघि बढाउने भुजुङ अहिले अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको एक उदाहरणीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

यो पनि पढ्नुहोस् :  पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   3   =