औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं, असार २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी करिब दुई करोड ९१ लाख ३४ हजार बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आज जारी गरेको विज्ञप्तिअनुसार फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले अस्पतालमा औषधि आपूर्ति नभए पनि बिलबिजक सफ्टवेयरमा प्रविष्ट गर्ने, मौज्दात नभएका औषधिलाई कम्प्युटरमा स्टक देखाउने तथा म्याद गुज्रिएका औषधिको व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ ।
अनुसन्धानका क्रममा अस्पतालको फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा तयार गर्नुपर्ने ट्रायल ब्यालेन्स तयार नगरेको तथा महालेखा परीक्षकको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनले समेत उक्त अनियमितता औँल्याएको आयोगले जनाएको छ ।
यसैगरी, आपूर्तिकर्तासँग भएको सम्झौताअनुसार म्याद गुज्रिएका वा बिक्री नभएका औषधि फिर्ता गरी प्रतिस्थापन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै सम्बन्धित कर्मचारीहरूले औषधि फिर्ता नगरी, सोधभर्ना नलिई तथा धितो रकम कट्टा हुनुपर्ने अवस्थामा समेत गलत जानकारी दिएर धितो फिर्ता गराएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ ।
अस्पतालको मेडिकल डिभिजन प्रमुखको नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा दुई करोड ९१ लाख ३४ हजार बराबरको सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुगेको पुष्टि भएको आयोगले जनाएको छ ।
यस प्रकरणमा फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुङ्गाना, फार्मेसी सहायक लवेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोरकिपर तथा वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल, स्टोरकिपर तथा वरिष्ठ फार्मेसी सहायक शमीला श्रेष्ठ, स्टोरकिपर तथा फार्मेसी सहायक केशवराज न्यौपाने तथा स्टोरकिपर तथा फार्मेसी सहायक सन्दीप तिवारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा









