थिम पोस्टरसँगै ‘द राइज अफ साम्राज्य’ घोषणा, सौरभ चौधरीले निर्देशन गर्ने

काठमाडौं । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा बन्ने नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ को घोषणा गरिएको छ।
निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको शीर्षक घोषणा गरेको हो।
सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको यस फिल्मको निर्देशन सौरभ चौधरीले गर्नेछन्। फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन् भने विश्वास बस्नेत (बेन) को–प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्।
निर्देशक चौधरीले फिल्मको विषयवस्तुबारे केही संकेत गर्दै थिम पोस्टर सार्वजनिक गरेका हुन्। पोस्टरमा आगोको लप्का, घोडामा सवार पात्रहरू तथा राजसी कालखण्ड झल्काउने दृश्य समेटिएका छन्, जसले द्वन्द्व र विद्रोहको संकेत गर्छ। पोस्टरमा विद्रोहीको शिविरमा आगजनी भएको झल्को देखिए पनि त्यसबारे यकिन गर्न सकिने अवस्था भने छैन।
पोस्टरको माथिल्लो तथा बायाँ भागमा देखिएको रातो कपडा वा झण्डाले क्रान्ति वा रगतको प्रतीकात्मक संकेत गरेको छ। त्यस्तै, पृष्ठभूमिमा केही व्यक्तिहरूले रामलीला प्रस्तुत गरिरहेको धमिलो दृश्य देखिन्छ, जसले फिल्म कुनै ऐतिहासिक कालखण्ड वा रोचक कथावस्तुमा आधारित हुन सक्ने अनुमान गर्न सकिन्छ।
फिल्म एक्सन–ड्रामा जनरामा निर्माण हुने बताइएको छ। पछिल्लो समय एक्सन र मेकिङका लागि प्रशंसा बटुलेका निर्देशक चौधरीले यसपटक अझ ठूलो क्यानभासमा काम गर्न लागेको निर्माण पक्षको दाबी छ।
कार्यकारी निर्माता शंकर पाण्डेका अनुसार ‘द राइज अफ साम्राज्य’ नेपाली फिल्म उद्योगकै ठूलो स्केलको एपिक एक्सन–ड्रामा हुनेछ।
“यो फिल्म लाइनअप र मेकिङका हिसाबले नेपाली फिल्म उद्योगकै अहिलेसम्मकै सबैभन्दा ठूलो स्केलको फिल्म हुनेछ,” उनले भने।
निर्माण पक्षले निर्देशक, लेखक, निर्माता र डीओपी सार्वजनिक गरिसकेको भए पनि कलाकारको नाम भने अझै सार्वजनिक गरेको छैन। केही दिनभित्र कलाकारहरूको लाइनअप सार्वजनिक गरिने जनाइएको छ।
फिल्मको छायांकन भदौको पहिलो सातादेखि सुरु हुनेछ। अधिकांश सुटिङ पूर्वी नेपालमा गरिनेछ भने छायांकन तालिका ७० दिनको रहने निर्माण टिमले जनाएको छ।
प्रदर्शन मितिबारे निर्देशक चौधरीले हतार नगर्ने बताएका छन्।
उनले भने, “अहिलेलाई हामीले थिम पोस्टर र शीर्षक सार्वजनिक गरेका छौँ। छायांकन सम्पन्न भएपछि पोस्ट–प्रोडक्सनको कामलाई मध्यनजर गर्दै प्रदर्शन मिति तय गर्ने योजना छ। पहिले एउटा राम्रो लाइनअप तयार होस्, त्यसपछि रिलिज डेटबारे सोचौँला।”
मानकृष्ण महर्जन डीओपी रहेको फिल्ममा श्री श्रेष्ठ एक्सन निर्देशक छन्। डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो तथा वितरक डिसीएन रहेको छ।
फिल्मले नेपाली इतिहासको कुनै विशेष कालखण्डलाई समेट्ने हो वा काल्पनिक ‘साम्राज्य’को कथा भन्ने हो भन्ने विषय भने समयसँगै खुल्दै जानेछ। हाललाई थिम पोस्टरले ‘द राइज अफ साम्राज्य’ लाई वर्षकै बहुप्रतीक्षित फिल्ममध्ये एकका रूपमा स्थापित गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल
समाचार२०८३ आश्विन २२, बिहीबार १८:४८पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट









