समाचार सम्प्रेषणमा संयमित र जिम्मेवार बन्न काउन्सिलको आग्रह « प्रेस काउन्सिल नेपाल


काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले सुनसरी लगायतका पूर्वी जिल्लामा हालै घटेको संवेदनशील तथा दुःखद घटनाका सम्बन्धमा सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित, जिम्मेवार र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ। काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बाेहराले आज विज्ञप्ति जारी गर्दै आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्नुभएकाे छ ।
संवेदनशील घटनासम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले उच्च व्यावसायिकता, संयमता र जिम्मेवारी प्रदर्शन गर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ। समाचार सम्प्रेषण गर्दाअपुष्ट सूचना, अफवाह, उत्तेजना फैलाउने सामग्री, घृणात्मक अभिव्यक्ति तथा सामाजिक, धार्मिक वा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पार्ने कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न समेत काउन्सिलले आग्रह गरेको छ।
घटनासम्बन्धी प्रकाशित तथा प्रसारित सामग्रीको निरन्तर अनुगमन भइरहेको जानकारी गराउँदै पीडित तथा प्रभावित व्यक्तिको गोपनीयता र मानवीय मर्यादाको सम्मान गर्न, अनुसन्धान प्रक्रियामा असर पुग्ने अनुमान वा अपुष्ट विवरण सार्वजनिक नगर्न तथा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि काउन्सिलले आग्रह गरेको छ।पत्रकार आचारसंहिता विपरीतका समाचार वा सामग्री प्रकाशन तथा प्रसारण भएको पाइएमा काउन्सिलको अनुगमन शाखामा जानकारी गराई सहयोग गर्न समेत सञ्चार संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ।
‘संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिक, धार्मिक वा सामाजिक ध्रुवीकरणको माध्यम नबनाई शान्ति, सामाजिक सद्भाव र जिम्मेवार सञ्चार संस्कृतिको संरक्षणमा सबै पक्षबाट सहयोग हुने विश्वास प्रेस काउन्सिल नेपालले लिएको छ।’ विज्ञप्तिमा भनिएको छ । काउन्सिलले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त तथा घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन
समाचार२०८३ आश्विन ६, मंगलवार १५:५१निःशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयनमा जोड








