शिक्षालाई रोजगारीसँग जोड्न नीतिगत सुधार आवश्यक : सभापति श्रेष्ठ
धादिङ, ६ मङ्सिर । संसदीय सुनुवाइ समितिका सभापति एवं धादिङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले शिक्षालाई रोजगारी र स्वरोजगारसँग जोड्न शैक्षिक नीति, पाठ्यक्रम तथा अध्यापन पद्धतिमा सुधार आवश्यक रहेको बताउनुभएको छ ।
नीलकण्ठ क्याम्पस धादिङको २७ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले विद्यार्थीको आवश्यकता र श्रमबजारको मागअनुसार शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक क्याम्पस सञ्चालनमा देखिएका कठिनाइ सम्बोधन गर्न अनुदान नीति पुनरावलोकन र नयाँ कार्यक्रमको सम्बन्धन प्रक्रियालाई छरितो बनाउनुपर्ने उहाँको भनाइ थियो ।
“नीतिले सहजीकरण गर्नुपर्छ, देशलाई अगाडि लानुपर्छ, जनतालाई खुसी बनाउन सक्नुपर्छ”, सभापति श्रेष्ठले भन्नुभयो । उहाँले सम्बन्धन दिन मिल्ने वा नमिल्ने विषयमा समयमै निर्णय हुनुपर्ने उल्लेख गर्दै लामो समयसम्म निर्णय नहुँदा क्याम्पसलाई कार्यक्रम विस्तारमा कठिनाइ हुने बताउनुभयो ।
एकातिर युवा रोजगारीको खोजीमा रहेको र अर्कातिर होटल, कृषि तथा प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति अभाव रहेको उल्लेख गर्दै उहाँले शिक्षालाई पेसागत सीपसँग जोड्नुपर्ने बताउनुभयो । अनुसन्धान र नवीन काममा लगानी बढाएर विद्यार्थीको सिकाइलाई कक्षाकोठाबाहिरका व्यावहारिक कामसँग जोड्न उहाँले आग्रह गर्नुभयो ।
विद्यार्थीले पढाइसँगै काम गर्न सक्ने वातावरण बनाउन आंशिक समय तथा घण्टाका आधारमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा सभापति श्रेष्ठले जोड दिनुभयो । विद्यार्थीको अनुकूलताअनुसार पठनपाठनको समय लचिलो बनाउन सके स्थानीय क्याम्पसप्रति आकर्षण बढाउन सहयोग पुग्ने उहाँको धारणा थियो ।
उहाँले विद्यार्थीलाई स्थानीय क्याम्पसमै अध्ययन गर्न प्रेरित गर्ने आधार शैक्षिक गुणस्तर र अध्ययनपछिको अवसर भएको बताउनुभयो । सामुदायिक क्याम्पसका समस्या समाधान तथा आवश्यक नीतिगत सुधारका लागि सांसदको हैसियतले भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
शिक्षामा भाषा, संस्कृति, संस्कार र प्रविधिलाई समेट्नुपर्ने उल्लेख गर्दै सभापति श्रेष्ठले देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई अध्ययन, पेसा र आयआर्जनसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई विश्वको ज्ञान र अनुभव हासिल गरी नेपालमा काम गर्ने लक्ष्य राख्न आग्रह गर्नुभयो ।
जिल्लाको विकासबारे चर्चा गर्दै उहाँले आगामी २० वर्षपछिको धादिङको परिकल्पना गरी अनुसन्धानमा आधारित योजना बनाउन विद्यार्थी, शैक्षिक संस्था, जनप्रतिनिधि र राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
पर्यटनबाट स्थानीय रोजगारी विस्तार गर्न नौ स्थानीय तहलाई जोड्ने पर्यटन गुरुयोजना बनाउने तयारी रहेको र त्यसका लागि सरकारले रु पाँच करोड विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । विनियोजित बजेटको उपलब्धि सुनिश्चित गर्न समयमै ठेक्का, गुणस्तरीय निर्माण र नागरिक निगरानी आवश्यक रहेको उहाँले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ मंसिर ७, आईतवार २१:०८शिक्षालाई रोजगारीसँग जोड्न नीतिगत सुधार आवश्यक : सभापति श्रेष्ठ
समाचार२०८३ मंसिर ७, आईतवार २०:३३प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेट
खेलकुद२०८३ मंसिर ७, आईतवार १७:३५पुष्पलाल रोकाया ‘ज्वाला’को पहलमा फुलकन्ट्याक्ट कराते खेलाडीलाई जनही ६० हजारसम्म नगद पुरस्कार घोषणा
समाचार२०८३ मंसिर ७, आईतवार ०७:१५प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै



