काठमाडौं । निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म ‘दुर्गा’ निर्माणको घोषणा गरेका छन्। उनले निर्देशन गर्ने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन्।
सार्वजनिक पोस्टरमा दुर्गा मन्दिरअगाडि रातो पोशाकमा एक युवती एक्लै उभिएकी देखिन्छिन्। मन्दिरको प्रवेशद्वारअघि त्रिशूल पनि देखाइएको छ। पोस्टरले फिल्मको कथावस्तुबारे जिज्ञासा पैदा गरे पनि निर्माण पक्षले यसको विस्तृत विवरण सार्वजनिक गरेको छैन।
फिल्मको शीर्षकले मुख्य पात्र ‘दुर्गा’ हुन सक्ने संकेत गर्छ। पोस्टरमा रातो रङको प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ। यद्यपि, पोस्टरका आधारमा मात्र फिल्मको कथावस्तु वा विषयवस्तुबारे ठोस निष्कर्ष निकाल्न सकिने अवस्था छैन।
फिल्ममा को–को कलाकार रहनेछन् भन्ने विषयमा निर्माण टिमले हालसम्म जानकारी दिएको छैन। “चाँडै नै हामी मुख्य कलाकारबारे जानकारी दिनेछौँ। केही कलाकार अडिसनमार्फत छनोट गर्ने तयारी गरेका छौँ,” निर्देशक बस्नेतले भने, “फिल्म मिथोलोजिकल हुनेछ।”
कुस्मण्डा र ग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा निश्चल ढुंगानाले लेखेका छन्।
फिल्मको छायांकन ९० दिनको तालिकाअनुसार काठमाडौं, पोखरा र चितवनमा हुनेछ। निर्माण टिमका अनुसार छायांकन असोजको पहिलो साताबाट सुरु हुनेछ।
बस्नेत निर्देशित पछिल्लो फिल्म ‘लाखे’ केही समयअघि युट्युबमार्फत सार्वजनिक गरिएको थियो।










