साउनभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय धादिङको आग्रह

धादिङ, साउन १ :
वर्षायाम सुरु भएसँगै धादिङका विभिन्न स्थानमा डेंगु सङ्क्रमणका शंकास्पद बिरामी देखिन थालेपछि जनस्वास्थ्य कार्यालय धादिङले साउन महिनाभर डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न सबै स्थानीय तह, संघसंस्था र नागरिकलाई आग्रह गरेको छ । जनस्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरीक्षक तोयणनाथ छत्कुलीका अनुसार सङ्घीय सरकारको निर्देशनअनुसार साउन महिनालाई ‘डेंगु महिना’ का रूपमा मनाउँदै समुदायस्तरमा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन भइरहेको हो । कार्यालय परिसरमा प्रत्येक शुक्रबार बिहान ९ बजे सरसफाइ अभियान सञ्चालन गर्ने तथा स्थानीय तहहरूलाई पनि नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्न जानकारी गराइसकिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७९/८० मा धादिङमा डेंगुको व्यापक प्रकोप देखिएको थियो । त्यसयता सङ्क्रमण घट्दै गए पनि गत वर्ष जिल्लामा ४२४ जना डेंगु सङ्क्रमित पुष्टि भएका थिए । डेंगु लागेका व्यक्तिमध्ये करिब १० देखि १५ प्रतिशतमा मात्रै स्पष्ट लक्षण देखिने भएकाले पुष्टि भएका बिरामीभन्दा वास्तविक सङ्क्रमितको संख्या धेरै हुन सक्ने उहाँको भनाइ छ । लक्षण नदेखिएका व्यक्तिबाट समेत लामखुट्टेले रोग सार्न सक्ने भएकाले समुदायमा संक्रमण छिटो फैलिन सक्ने जोखिम रहने उहाँले बताउनुभयो ।
छत्कुलीका अनुसार डेंगु Aedes aegypti प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । एउटा पोथी लामखुट्टेले आफ्नो जीवनचक्रमा सयौँ अण्डा पार्ने र पानी जमेका स्थानमा तीव्र रूपमा प्रजनन गर्ने भएकाले यसको नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय बासस्थान नष्ट गर्नु नै भएको बताउनुभयो । फूलका गमला, खुला पानी ट्याङ्की, पुराना टायर, प्लास्टिकका भाँडा, बोतल, कवाडी सामग्री, ड्रम तथा लामो समयसम्म पानी जम्ने अन्य स्थानहरू लामखुट्टे प्रजननका प्रमुख आधार बन्ने भएकाले यस्ता स्थानमा पानी जम्न नदिन समेत उहाँले आग्रह गर्नुभएको छ ।
ठूला तथा प्रयोगविहीन पानी ट्याङ्कीमा आवश्यक सावधानी अपनाउँदै डिजेल वा मट्टितेलको पातलो तह प्रयोग गरी लार्भा नष्ट गर्न सकिने जानकारी दिँदै उहाँले घर, कार्यालय तथा सार्वजनिक स्थलको नियमित सरसफाइलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। साथै पूरा बाहुलाको कपडा लगाउने, झुलको प्रयोग गर्ने तथा लामखुट्टे भगाउने मलम वा रिपेलेन्ट प्रयोग गर्न पनि सुझाव दिनुभएको छ ।
डेंगु नियन्त्रण स्वास्थ्य क्षेत्रको मात्रै जिम्मेवारी नभई समुदाय, जनप्रतिनिधि, स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाको संयुक्त प्रयासबाट मात्रै सम्भव हुने जनस्वास्थ्य निरीक्षक छत्कुलीले बताउनुभयो । उहाँका अनुसार साउन महिनाभर सञ्चालन हुने ‘खोज र नष्ट गर’ अभियानमा सबै नागरिकको सक्रिय सहभागिता डेंगु नियन्त्रणका लागि अत्यन्त आवश्यक छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल
समाचार२०८३ आश्विन २२, बिहीबार १८:४८पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट








