दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ । रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर जानुभएका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किनुभएको हो । तिलिजालाई परिवारले जीवित हुनुहुन्छ भन्ने आशासमेत गुमाइसकेको थियो । उहाँको फोटोसमेत परिवारसँग थिएन । खोजी गर्ने माध्यम नभएपछि परिवार र उहाँबीचको सम्पर्क पूर्ण रूपमा टुटेको थियो ।
मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उहाँको घर फर्कने बाटो खुलेको हो । गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मणि तामाङले जङ्गलमा दुई वृद्ध दयनीय अवस्थामा बसिरहेको जानकारी गराउनुभयो ।
देवानले तिलिजा र भोजपुरका वीरबहादुर राईको अवस्थाबारे श्रव्यदृश्य सामग्री बनाएर प्रशारण गर्नुभएको थियो । उक्त श्रव्यदृश्य सामग्रीपछि परिवारजनले उनीहरूको पहिचान गरी सम्पर्क गरेका थिए । “मणिपुर घुम्न जाने क्रममा जङ्गलमा दुई वृद्ध बसिरहेको जानकारी पाएँ । श्रव्यदृश्य सामग्री बनाएर सार्वजनिक गरेपछि परिवारजन सम्पर्कमा आउनुभयो”, देवानले भन्नुभयो, “राईलाई परिवारको जिम्मा लगाएपछि तिलिजालाई उपचार गराएर घरसम्म ल्याइदिएको हुँ ।”
निमोनियाबाट बिरामी तिलिजालाई देवानले धरानस्थित विजयपुर अस्पतालमा चार दिन भर्ना गरी उपचार गराउनुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि परिवारको आग्रहमा उहाँलाई दग्नाम ल्याइएको हो । दग्नाम पुगेपछि तिलिजाका तीन भाइ, बुहारी र परिवारका सदस्यले उहाँलाई फूलमाला लगाएर स्वागत गर्नुभयो । पाँच दशकभन्दा लामो समयपछि दाजुलाई देखेका भाइहरूले आफूहरुले खोजी गर्न नसकेको विगत सम्झिए ।
“एक दिन दाईसँग भेट अवश्य हुनेछ भन्ने लागेको थियो । अहिले भेट्न पाउँदा निकै खुसी लागेको छ”, तिलिजाका भाइ उदयचन्द्रले भन्नुभयो, “दाइको फोटो पनि हामीसँग थिएन । खोजी गर्न नसकेर अलमलमा बसेका थियौँ । उहाँलाई भेटाइदिएर घरसम्म ल्याइदिने देवानलाई धन्यवाद छ ।”
तिलिजा चार भाइमध्ये जेठा हुनुहुन्छ । उहाँका माइला भाइको निधन भइसकेको छ । साइँला उदयचन्द्र, काइँला जगतबहादुर र कान्छा हेमबहादुर दग्नाममै बस्दै आउनुभएको छ ।
तिलिजा भने घरबाट निस्किएपछि लामो समय मणिपुरमै बस्नुभयो । उहाँ भारतीय सेनामा भर्ती हुने उद्देश्यले आसाम राइफल्समा कार्यरत आफन्तको साथमा मणिपुर पुग्नुभएको थियो । सेनामा भर्ती हुन नसकेपछि काठ काट्ने काम गर्न थाल्नुभयो । “परिवार र भाइहरूसँग सम्पर्क टुट्यो । पढाइलेखाइ नभएकाले चिठ्ठीपत्र पठाउन सकिनँ । पैसा नभएपछि घर फर्कन सकिनँ”, तिलिजाले भन्नुभयो ।
मणिपुरमै विवाह गरेका तिलिजाकी छोरीको सात महिनामै मृत्यु भएको थियो । त्यसको एक वर्षपछि श्रीमतीको पनि निधन भयो । लामो समयपछि घर फर्किँदा भने उहाँले जन्मथलोमा आफ्ना भाइ र आफन्तलाई भेट्न पाउनुभएको छ ।
उमेर बढ्दै गएपछि काठ काट्ने काम गर्न नसकेपछि उहाँले साहुको बाख्रा चराएर जीवन गुजारा गर्दै आउनुभएको थियो । “परिवारसँग भेट्न पाएँ । जन्मथलोमा फर्किन पाउँदा खुसी लागेको छ”, तिलिजाले भन्नुभयो, “बाँकी जीवन भाइ, परिवार र आफन्तजनसँग बिताउँछु ।”
रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले ५८ वर्षपछि तिलिजा परिवारमा खुसी फर्किएको बताउनुभयो । उहाँका अनुसार तिलिजाका परिवारले लामो समयदेखि उहाँको खोजी गर्न सकेका थिएनन् । पाँच दशकभन्दा लामो समयपछि तिलिजा घर फर्किएसँगै दग्नामको एउटा परिवारले हराएको सदस्य पुनः पाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह
समाचार२०८३ आश्विन १०, शनिबार १६:३२देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ११:०६अर्घाखाँचीमा अत्याधुनिक चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ०९:३५‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितिन्








