काभ्रेपलाञ्चोकमा दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि

बनेपा (काभ्रे), १२ असोज । काभ्रेपलाञ्चोकमा पछिल्लो दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार गत साउन १ गतेदेखि यही असोज १२ गतेसम्मको अवधिमा जिल्लाभर ४१ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये २० पुरुष र २१ महिला रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा भने जिल्लाका कुनै पनि पालिकामा डेङ्गीका नयाँ बिरामी नथपिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी शिशिर पुडासैनीले बताए । कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका १३ स्थानीय तहमध्ये चार पालिकामा मात्रै डेङ्गी सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी पाँचखाल नगरपालिकामा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ११ पुरुष र १० महिला छन् ।
सूचना अधिकारी पुडासैनीका अनुसार बनेपा नगरपालिकामा १३ जना (छ पुरुष र सात महिला), मण्डनदेउपुर नगरपालिकामा छ जना (दुई पुरुष र चार महिला) तथा नमोबुद्ध नगरपालिकामा एक पुरुषमा डेङ्गी सङ्क्रमण देखिएको छ । धुलिखेल र पनौती नगरपालिकासहित जिल्लाका अन्य नौ स्थानीय तहमा भने हालसम्म डेङ्गीको कुनै पनि सङ्क्रमित दर्ता नभएको कार्यालयले जनाएको छ ।
सूचना अधिकारी पुडासैनीका अनुसार पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित नथपिए पनि मनसुनी जोखिम अझै कायम रहेकाले सतर्कता अपनाउन आवश्यक छ । उनले घरवरपर पानी जम्न नदिन, लामखुट्टेको बासस्थान नष्ट गर्न ‘खोजी र नष्ट गर’ अभियान सञ्चालन गर्न तथा व्यक्तिगत सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक १९, बुधबार १९:००नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी
समाचार२०८३ कार्तिक १९, बुधबार १८:४०शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक १९, बुधबार १२:४२गायक, गीतकार तथा संगीतकार डिबी गुरुङ » Celebrity Nepal
सूचना-प्रविधि२०८३ कार्तिक १८, मंगलवार २१:२७नि:शुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन









