एनपीएलमा आज दुई खेल: कर्णाली–सुदूरपश्चिम र चितवन–पोखरा भिड्दै

एनपीएलमा आज दुई खेल: कर्णाली–सुदूरपश्चिम र चितवन–पोखरा भिड्दै

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शुक्रबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। अंक तालिकामा तेस्रो स्थानमा रहेको कर्णाली लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।

तीन खेल खेलेको कर्णालीले दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ। पहिलो खेलमा काठमाडौंसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा विराटनगर र तेस्रो खेलमा जनकपुरलाई हराएको थियो।

यता सुदूरपश्चिम चार खेलमा दुई जित र दुई हारसहित अंक तालिकाको छैटौँ स्थानमा छ। पहिलो खेलमा चितवनलाई हराएको सुदूरपश्चिम दोस्रो खेलमा विराटनगरसँग पराजित भएको थियो। तेस्रो खेलमा पोखरालाई हराउँदै पुनरागमन गरेको सुदूरपश्चिम चौथो खेलमा भने लुम्बिनीसँग पराजित भएको थियो।

दुवै टोलीका लागि आजको खेल अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने अवसर हुनेछ।

यसैगरी आजको दोस्रो खेलमा दिउँसो साढे ४ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्। लगातार खराब नतिजा भोगिरहेको पोखरा पहिलो जितको खोजीमा मैदान उत्रनेछ भने चितवन दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।

तीन खेल खेलेको चितवन एक जित, एक हार र एक खेल वर्षाका कारण रद्द भएपछि अंक तालिकाको सातौँ स्थानमा छ। पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको चितवनको लुम्बिनीसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा भने चितवनले विराटनगरलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो।

अर्कोतर्फ पोखरा एभेन्जर्सका लागि प्रतियोगिताको सुरुवात निराशाजनक बनेको छ। तीन खेल खेलेको पोखरा तीनै खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा छ। पोखरा पहिलो खेलमा लुम्बिनी, दोस्रो खेलमा जनकपुर र तेस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो।

यो पनि पढ्नुहोस् :  एनपीएलमा आज दुई खेल: लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने

त्यसैले आजको खेल पोखराका लागि प्रतियोगितामा पुनरागमन गर्ने महत्वपूर्ण अवसर हुनेछ। चितवन भने जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने योजनामा हुनेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   9   =