बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधना; आज एकै दिन दुई पर्व

बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधना; आज एकै दिन दुई पर्व

काठमाडौं । तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आज एकैदिन परेको छ। आज बिहान कुकुरको पूजा गरेर साँझ घरघरमा धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदैछ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीका अनुसार आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्नेछ।

तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई फूलमाला लगाइदिने, निधारमा टीका लगाउने र मिठामिठा परिकार खुवाएर पूजा गर्ने चलन छ। धार्मिक मान्यताअनुसार यमराजका द्वारपाल श्याम र सबल नामका कुकुरलाई प्रसन्न पार्न कुकुरको पूजा गरिन्छ। कुकुरलाई बफादार र सुरक्षाको भरपर्दो साथीका रूपमा सम्मान गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ।

साँझ घरघरमा लक्ष्मीपूजा

आज साँझ घरघरमा धन, वैभव र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ। लक्ष्मीको स्वागतका लागि घरआँगन सफा गर्ने, ढोकादेखि पूजाकोठासम्म रंगोली तथा विभिन्न रंगका आकृति बनाउने र दीप प्रज्वलन गर्ने चलन छ।

विशेषगरी घरको मूलढोकादेखि पूजाकोठासम्म चामलको पीठो वा रंगले लक्ष्मीका पाइला बनाउने गरिन्छ। यसरी पाइला बनाएर देवी लक्ष्मीलाई घरभित्र स्वागत गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

साँझ गाईको गोबरले लिपपोत गरिएको वा सफा गरिएको पूजास्थलमा कलश स्थापना गरी गणेश र लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मीलाई फूल, अक्षता, धूप, दीप, फलफूल, मिठाई तथा विभिन्न नैवेद्य अर्पण गरिन्छ। घरमा भएका धनसम्पत्ति, गरगहना तथा बहीखाताको समेत पूजा गर्ने परम्परा छ।

लक्ष्मीपूजाका अवसरमा घर, पसल तथा व्यापारिक प्रतिष्ठानमा दीपावली गरिन्छ। झिलिमिली बत्ती र दियोले घरआँगन उज्यालो पार्दै लक्ष्मीको स्वागत गर्ने यो पर्वलाई तिहारको महत्वपूर्ण दिनका रूपमा लिइन्छ।

आज नरक चतुर्दशी पनि

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन बिहानै नदी, तलाउ तथा तीर्थस्थलमा स्नान गरी दक्षिण दिशातर्फ बत्ती बालेर बगाउने चलन छ। यस्तो गर्दा मृत्युपछि नरक जानु नपर्ने धार्मिक विश्वास रहेको छ।

यो पनि पढ्नुहोस् :  गोरखाको चुमनुब्रीमा नुन प्रतिकिलो २०० रुपैयाँ

यसैबीच, कात्तिक २३ गते सोमबार गाईपूजा, २४ गते मंगलबार गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा तथा आत्म (म्ह) पूजा मनाइनेछ।

यमपञ्चकको मुख्य पर्व भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ। पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=23012, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   6   =