किसानको बाली जोगाउन प्रहरी खेतमा « रिपोर्टर्स नेपाल

किसानको बाली जोगाउन प्रहरी खेतमा « रिपोर्टर्स नेपाल

भद्रपुर (झापा), ३० कात्तिक । झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न जुटेका छन् ।

मेचीनगर नगरपालिका–४ बाहुनडाँगी क्षेत्रमा आइतबार हात्ती प्रभावित स्थान तथा सीमानाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसानको संयुक्त सहभागितामा धान काटिएको हो ।

यसअघि हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने प्रतिबद्धता जनाउँदै किसानलाई ढिला नगरी बाली भित्र्याउन आग्रह गरेका थिए ।

प्रशासनको उक्त निर्देशन र स्थानीय किसानको आग्रहअनुसार हात्ती प्रभावित क्षेत्रमा धान काट्ने कार्यक्रम सञ्चालन गरिएको हो । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हात्तीको निरन्तर आवागमनले किसानको पाकेको धानबालीमा क्षति पुग्ने जोखिम बढेपछि सबै पक्षको सहभागितामा बाली भित्र्याउने कामलाई तीव्रता दिइएको हो ।

‘हात्तीको जोखिमका कारण किसान आफ्नो पाकेको बाली भित्र्याउन समस्यामा छन् । त्यसैले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधि सबै मिलेर धान काट्ने अभियान सञ्चालन गरेका हौँ, वडाध्यक्ष कार्कीले भने, किसानको बाली सुरक्षित रूपमा भित्र्याउन र हात्तीबाट हुनसक्ने क्षति कम गर्न सबै पक्षबीच सहकार्य आवश्यक छ ।’

हात्तीबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नुका साथै कृषि उपज जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । धान काट्ने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाले संयुक्त रूपमा काम गरेका थिए ।

यसअघि शुक्रबार बिहान बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली बाहुनडाँगी पुगेको थियो । अनुगमनका क्रममा किसानले कम्तीमा पाँच दिन हात्तीको प्रवेश नियन्त्रण गर्नसके पाकेको धान सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए ।

किसानको माग सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले थप सुरक्षा जनशक्ति परिचालन गरी स्थानीय समुदायसँगको समन्वयमा हात्तीको प्रवेश नियन्त्रण गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए ।

प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउने वातावरण बनाउने जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   3   =