सडक विस्तारसँगै घरबासै उठ्ने चिन्तामा सिरहा खैरटोकाका मुसहर परिवार

सिरहा- सिरहाको नेपाल-भारत सीमा क्षेत्र माडरदेखि सिरहा बजार, मिर्चैया हुँदै चोहर्वामा पूर्वपश्चिम राजमार्ग जोड्ने सडक विस्तार गर्न लागेपछि सिरहा नगरपालिका-१७ खैरटोककी पलासदेवीले राम्रोसँग निदाउन पाएकी छैनन् ।
उनलाई आफू र छोराहरुको परिवार बसेको घर कतिबेला भत्काइदिने हो भन्ने चिन्ताले सताएको छ । सडक विस्तार गरेर ७२ फिट बनाउने भएपछि पलासदेवीका श्रीमान गोपीले किनेको १२ धुर नम्बरी जग्गा अब केही धुर मात्र बाँकी रहनेछ ।
पलास देवीका ६ जना छोरा छन् । जेठो विष्णु र माइलो बद्रीबाहेक किसुन सदा, राजदेव सदा, शिव सदा र करिया सदाको स-सानो झुपडी त्यही जग्गामा छ ।
विष्णु ससुराली धनुषाको भलुवाहामा बस्छन् भने बद्री ससुराली भारत विहारको मधुवनी जिल्ला कुमर खत महुलियामा बसिरहेका छन ।
यसअघि पनि सडक बनाउँदा दुई पटक घर भत्किएको पलास देवी सम्झिन्छन् । सडक विस्तार गर्दा तेस्रो पटक पनि उनीहरुको घर भत्किने स्थिति आएको छ ।
जग्गा अभावकै कारण जेठो छोरा विष्णु र माहिलो वद्री विहेपछि ससुरालीमै बस्न थाले । पति गोपी र उनकी जेठी पत्नी आनन्दीको मृत्यु भइसकेको छ ।
विपन्नताले उनीहरुले फुसको राम्रो घर समेत बनाउन सकेका छैनन् । वर्षायाममा पानी चुहिने उनीहरुको घरमा हिलो ओच्छ्यानसम्मै पुग्छ । हिलो पन्छाएर जसोतसो त्यही घरमा बस्नुपर्ने बाध्यता छ ।
पलासदेवीका छोराबुहारी नाति, पनातिको दिनचर्या यही झुपडीमा बितिरहेको छ ।
सुख-दु:ख गरी बसेको यो झुपडीमा अब त्यसरी पनि बस्न नपाउने चिन्ताले उनीहरुलाई दिनरात पिरोलेको छ।
गत वैशाख महिनामा सडक डिभिजन कार्यालय लहानले सिरहा सदरमुकाममा दुई किलोमिटर सडक विस्तारको काम थाल्ने भन्दै जग्गा नापी गरी खालि गराइदिन नगरपालिकालाई पत्राचार गरेको थियो ।
नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने माडरसम्मको सडक नापजाँच गरी विस्तारको लागि संरचना तथा घरटहरा हटाउन सूचना जारी गर्यो ।
त्यसै क्रममा ७२ फिटमा पलास देवीका छोराका घरहरु परे । नगरपालिकाको डोजर नै आयो । सडक निर्माण हुनुभन्दा पहिला आफ्नो घर नभत्काउन र बस्ने व्यवस्थापन गर्न उनीहरुले आग्रह गरे । केही बेरको भनाभनपछि आफैँले भत्काउने शर्तमा उनिहरुको घरमा डोजर चलेन ।
त्यसैको आधारमा उनीहरु अहिले आफ्नो घरमा बसिरहेका छन तर कुन दिन घरमा डोजर चल्छ, ठेगान छैन ।
पलास देवीको कान्छो छोरा करिया सदाको मात्रै ६ छोराछोरी छन् ।
६ महिनादेखि ११ वर्षको ६ बालबच्चालाई ज्याला-मजदुरी गरी पालिरहेका छन् । तर अब घर भत्क्यो भने कता जाने भन्ने चिन्ताले उनकी श्रीमती निर्मला देवीलाई चिन्तित बनाएको छ।

‘सरकारले हामीलाई कतै बस्ने व्यवस्था मिलाइदिओस् । यी स-साना छोराछोरीलाई लिएर हामी कहाँ जाने ?’ सामुहिक रुपमा नगरपालिकाका मेयर र वडा अध्यक्षसँग उनीहरुले गुहार गरिरहेका छन ।
पलास देवीको छोरा, नाति र पनाति गरी करिब ६० जना परिवारिक सदस्य छन् । यो चिन्ता पलास देवीको मात्र होइन । छेउमै रहेका उनको देवर ७० वर्षीय सीताराम सदाको त परिवार नै बिथोलिएको छ ।
पाँच महिना अघिसम्म सीतारामको परिवार सुखदुख चलेको थियो । चार छोराको परिवारको अलग भान्सा भए पनि एउटै घरमा बस्थे । दलित एवं विपन्न भएपनि स्थानीय मजदुरी गरी वर्षौदेखि छोराबुहारी नातिसँगै बस्दा सीतारामलाई जीवनको उत्तरार्धमा खासै चिन्ता थिएन ।
उनले पैसा तिरेर दशकौं अघि १० धुर ऐलानी जमिन किनेका थिए । त्यसमै घर बनाएका थिए । चार छोरा, बुहारी नाति नातिनासहितको २० जनाको परिवार दुःख-सुख गरी बसिरहेको थियो । जेठमा घर भत्काउन भनेपछि उनका तीन छोरा परिवारसहित विस्थापित हुने बाध्यता आइलागेको छ ।
आधाभन्दा बढी घर भत्काएपछि तीन छोरा बाहिर बस्न बाध्य भएका छन ।
कहिलेकाहीँ घर आउँदा बस्ने ठाउँ नभएर पुनः ससुराली नै फर्किने गरेको दुखेसो सीताराम सुनाउँछन् । ‘बीचबीचमा उनीहरु आउँछन् । तर बस्ने घर नै पुग्दैन । अनि फेरि फर्किन्छन्’, सीताराम भन्छन् ।
सरकारले आफूहरुलाई कतै व्यवस्थापन गरेर घर भत्काउनुपर्नेमा आफूहरुलाई हेपेको उनले बताए ।
यता सिरहा नगरपालिकाका मेयर डा. नविन यादवले ती समुदायलाई व्यवस्थापन गर्ने आश्वासन त दिए तर अझै व्यवस्थापन नगरेको उनीहरु दुखेसो छ ।
तर मेयर यादव भने सुकुम्बासी मुसहर परिवारहरुलाई उचित व्यवस्थापन गरी मात्र सडक खाली गराउने दावी गर्छन ।
‘उनीहरुको व्यवस्थापन हामी नगरपालिकाबाट गर्छौं । सुकुम्बासी आयोगसँग कुरा हुँदैछ । विभिन्न चरणमा छलफल भएको छ ‘ मेयर यादवको भनाइ थियो ।
उता वडा अध्यक्ष उमेशप्रसाद यादवले भने मेयरले अश्वासन मात्र दिएको आरोप लगाउँछन ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ५, बिहीबार १९:३६लैङ्गिक उत्तरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न
समाचार२०८२ भाद्र ५, बिहीबार १९:०९पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छः जेलेन्स्की
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ५, बिहीबार १७:२९‘चिठ्ठी’ निर्देशक भन्छन् अनेक फण्डाबाजी गर्न हामीसँग पर्याप्त विषय छन् तर त्यो सस्तो शैली हाम्रो रोजाइमा छैन
स्वास्थ्य/जानकारी टिप्स२०८२ भाद्र ५, बिहीबार १३:१४बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै « रिपोर्टर्स नेपाल